Comments Add Comment

कुकुरको शिकार बने संरक्षित वन्यजन्तु

Photo Credit : मिग्मार लामा

२५ फागुन, गोरखा । उत्तरी गोरखाको सामागाउँ र साम्दोका वन्यजन्तुहरु भुस्याहा कुकुरको शिकार बन्न थालेका छन् । भुस्याहा कुकुरले हालसम्म दर्जनभन्दा बढी संरक्षित वन्यजन्तु मारिसकेको स्थानीय बताउँछन् ।

‘वनमा रहेका कस्तुरी, घोरल, नाउर र मृगलाई आक्रमण गरेर कुकुरले मार्न थालेको छ,’ सामागाउँका बिनेश तामाङले भने, ‘कहिलेकाही घरपालुवा जनावरलाई पनि आक्रमण गर्छ ।’

करिव ३० वटाको संख्यामा भुस्याहा कुकुर रहेको स्थानीयको अनुमान छ । बेवारिसे छाडिएका घरपालुवा कुकुर र जंगली कुकुरको समूह मिलेर वन्यजन्तुलाई आक्रमण गर्न थालेपछि गाउँमा आतंक बढेको हो । ‘समूहमा मिलेर गाउँ वरपर पनि घुमिरहन्छन्, जनावर देेखेपछि समूहमै आक्रमण गर्छन्,’ स्थानीय तामाङले भने ।

बाक्लो हिमपातका कारण पनि वन्यजन्तुहरु कुकुरको शिकार बन्ने गरेको स्थानीयको अनुमान छ । ‘धेरै हिमपात भएकाले बाक्लो हिउँ जमेको छ, हिउँमा गडेर जनावरहरु राम्रोसँग भाग्न पनि सक्दैनन् त्यही मौका छोपेर कुकुरलाई आक्रमण गर्न सजिलो भएको छ,’ तामाङले भने ।

भाग्ने क्रममा वन्यजन्तुहरु घरघरै आउने गरेको उनी बताउँछन् । आक्रमणमा परी घाइते जनावरलाई स्थानीयले उद्धार गर्दै आएका छन् । सामागाउँमा भन्दा साम्दोमा वन्यजन्तुहरु बढी आक्रमणमा पर्ने गरेको उनले बताए ।

भुस्याहा कुकुर आतंक बढेपछि समस्या समाधानका लागि स्थानीयले मनास्लु संरक्षण क्षेत्र -एमक्याप) लाई आग्रह गरेका छन् ।

बिगत दुई वर्षदेखि कुकुरले दुःख दिन थालेको एमक्यापका प्रमुख नरेन्द्र लामा बताउँछन् । ‘अघिल्लो वर्ष ५० वटा जति भुस्याहा कुकुर थियो, हामीले ३५ वटा छाउरालाई हेलिकोप्टरबाट तल आरुघाटमा ल्याएका थियौं, केहीको बन्ध्याकरण समेत गर्‍यौं,’ उनले भने ।

भुस्याहा कुकुर नियन्त्रणका लागि गत वर्ष एक लाख रकमको कोष पनि खडा गरिएको उनले बताए । ‘काठमाडौंको चिडियाखानाबाट डाटिङ -बेहोस बनाउने विधि) प्रयोग गर्न खोज्यौं तर दश मिटर मात्र धान्ने रहेछ, भौगोलिक अवस्था र हावा बढी चल्ने भएर त्यो प्रयास सफल हुन सकेन, नत्र बेहोस बनाउँदै तल ल्याउने योजना थियो,’ लामाले भने ।

कुकुर नियन्त्रणका लागि प्रयास जारी रहेपनि सफल हुन नसकेको उनी बताउँछन् । कुकुरले घरपालुवा चौरी र घोडाका बच्चालाई पनि मार्ने गरेको उनको भनाइ छ । कतिपय कुकुरहरु मनाङबाट आउने पर्यटकसँग पछि लागेर आउने गरेको उनले जानकारी दिए ।

हिमपातका कारण अहिले मौसम अनुकुल नभएकाले समस्या भएको उनी बताउँछन् । मौसम ठीक भएपछि समस्या समाधानका लागि पहल शुरु गर्ने उनको भनाइ छ । ‘जाडो छल्न अहिले धेरै मानिसहरु तल झरेको भएर पनि केही समस्या थपिएको हो, बिस्तारै अव मौसम सफा भएपछि उनीहरु पनि फर्किन्छन् अनि मिटिङ बसेर केही पहल थाल्छौं,’ उनले भने ।

फोटो सौजन्य : सामागाउँबाट मिग्मार लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment