Comments Add Comment

ठाकुरराम क्याम्पसको बगैंचा ‘सेल्फी स्पट’

माली भन्छन् : फूल चुडेर मन चुडिदिछन्

२६ फागुन, वीरगञ्ज । रत्नसम्शेर थापाको ‘फुलै फूलको मौसम तिमीलाई…’ होस् या दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फुलै संसार…’ गीत, फूलको शौन्दर्य र कोमलतालाई प्रेम र आग्रहको प्रतीक बनाइएको छ ।

संसारका सबै भाषामा फूललाई लिएर बनाइएका यस्ता गीतहरु प्रसस्त पाईन्छन् । फूल फुलाउने र उपहार दिने चलन पनि संसारभर छ । किनभने, फूल वा फूलबारी देख्दा सबैको मन मोहित हुन्छ ।

क्याम्पसको फूलबारीमा ‘सेल्फी स्पट’

अहिले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पनि फूलको मौसम आएको छ । क्याम्पस परिसर ‘सेल्फी’ लिनेहरुले भरिभराउ हुन थालेको छ ।

२००९ सालमा स्थापित यो क्याम्पसका फूलबारीलाई यती आकर्षक बनाउने माली कृष्णबहादुर बल हुन् । २०४४ सालबाट यहाँ कार्यरत उनी बगैंचाको डिजाइन आफैंले तयार गरेको बताउँछन् ।

बललाई सघाउने हेड प्युन नवाव मियाँ सहित ७/८ जनाको टोली छ । टोलीको लगन र मेहनत मौसम अनुसार क्याम्पस परिसरमा ढकमक्क हुने गरेको छ ।

२०४४ सालमा पनि क्याम्पसमा फूलबारी थियो, तर सानो र असरल्ल । आफु आएपछि नक्सा बनाएरै यसलाई बढाएको बलले बताए । ‘मलाई सानैबाट फूल मन पर्थ्यो, यसबेलाका क्याम्पस प्रमुख मोहन लाखे पनि फूलको सोखिन हुनुहुँदो रह’, बल सम्झन्छन्, ‘आफैंले फूलबारीको नक्सा बनाएर देखाउँदा उहाँले ठिक छ भन्नुभयो अनि जाँगर चलाएर काम गर्न थालेँ ।’

दशैंको छुट्टीमा अरु सबै चाड मनाउन घरतिर जान्छन्, तर बलको टोली फुलबारीकै काममा रमाउँछन् । फुलबारीको कुल वार्षिक खर्च ४० हजार रुपैंया भन्दा कम हुनुले पनि टोलीको मेहनेत देखाउँछ ।

उनीहरुले धेरैजसो फूलको बीउ र बेर्ना आफैं राख्ने गरेकाले खर्च जोगिएको हो । बल भन्छन्, ‘नयाँ जातका फूल, मल, किटनाशक, औजार आदि क्याम्पसले दिने ३० हजारदेखि ४० हजार रुपैयाँले पुर्‍याउँछौं ।’

फुलबारी ढकमक्क भएको बेला सहरका मानिसहरु आएर फोटो खिच्ने, फेसबुकमा राख्ने र देश–विदेशमा प्रचार गर्ने कार्यले मालीहरुलाई खुशी र गौरव लाग्ने उनले बताए । ‘नमिठो लाग्ने कुरा एउटै छ’, बल भन्छन्, ‘हामीले आफ्नो सन्तानलाई जसरी सुम्सुमाउदै फुलाएको फूल चुँडिदिनेहरु पनि आउँछन् ।’

त्यसरी फूल चुँडिदिदा मालीलाई मन चुँडिदिएजस्तो अनुभव हुने उनले सुनाए । ‘देखेसम्म त रोक्छौं, सम्झाउँछौं र नमान्नेलाई कराउँछौं पनि’, बलले भने, ‘तर, यतिका मानिस आउँछन्, कसले कतिखेर कहाँ कति फूल चुँडे भरैमात्र थाह हुन्छ ।’

‘फूल नचुँड्नुस्’ भन्दा कतिपयले ‘यहीको विद्यार्थी हौ’ भन्दै धम्काउन खोजेको तितो पनि बलले पोखे ।

स्याबास् भन्ने खासै छैनन्

कहिले काही वीरगन्ज आउने त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमध्ये कोही फूलका पारखी परेछन् भने बल र उनको टोलीले प्रशंसा सुन्न पाउँछन् । उनीहरुले यति राम्रो बगैंचा त देशभरका कुनै क्याम्पसमा छैन भन्दै सराहना गर्छन् । त्यसबाहेक टोलीले कुनै सम्मान वा पुरस्कार पाएको छैन ।

आफुले एकजनालाई चाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन र वीरगन्ज नगरपालिकाले गरी दुई पटक सम्मानपत्र दिएको बलले बताए । जागीर मात्र खाने हो भने यस्तो फूलबारी नबन्ने उनी बताउँछन् । ‘यतिका वर्षसम्म राम्रो काम गरेको टोलीलाई कसैले पुरस्कृत गरे फूलबारी योभन्दा राम्रो बन्छ’, बलले भने, ‘तर, राम्रो गर्दा स्याबास् भन्ने चलन खासै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment