Comments Add Comment

‘गरीबलाई सेवा दिन सरकारीमा काम थालें’

२६ फागुन, चितवन । न्यूरो सर्जरी भन्ने वित्तिकै आफैंमा जटिल र धेरै खर्च लाग्ने चिकित्सा बुझ्ने चलन छ । निजी अस्पताल वा मेडिकल कलेजमा न्यूरो सर्जरी गर्दा बिरामीका परिवारको ढाड सेकिने गरी रकम लिने गरिन्छ ।

काठमाडौं बाहिरका सरकारी अस्पतालमा न्यूरो सर्जरी सेवा पाउन मुस्किल छ । चितवनको भरतपुर अस्पतालमा डा. गुणराज पौडेलको नेतृत्वमा न्यूरो सर्जरी सुरु भएको डेढ वर्ष पुग्दैछ ।

भरतपुरका दुईवटा निजी मेडिकल कलेजमा पनि न्यूरो सर्जरी हुन्छ, तर सेवा शुल्क ज्यादै महंगो छ । निजी मेडिकल कलेजहरुको तुलनामा भरतपुर अस्पतालमा निकै सस्तोमा र कतिपय अवस्थामा त निःशुल्क न्यूरो सर्जरी सेवा गरिन्छ ।

डा. पौडेलको अगुवाइमा न्यूरो सर्जरी सेवा सुरु गर्नुअघि भरतपुर अस्पताल आएका नसाका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिन्थ्यो । तर अहिले सो क्रम रोकिएको छ ।

‘निजी क्षेत्रका ठूला अस्पतालहरुबाट ‘अफर’ आउँदा आत्माले मानेन’, डा. पौडेल भन्छन्, ‘आफू आएकै पृष्ठभूमिका बिरामीलाई सेवा दिन मन भएकाले दायाँबायाँ हेरिनँ ।’

दिनरात नभनी अस्पतालमा खटिरहेका उनी गरीबको उपचार गर्दा आनन्द आउने बताउँछन् । उनको कुनै ‘फिक्स्ड डिउटी’ छैन । जतिबेला जहाँ आवश्यक पर्छ, त्यहाँ जुट्छन् ।

भरतपुर अस्पतालमा अहिले महिनामा २-३ वटा जटिल अप्रेसन हुने गरेको छ । कुनै पनि अप्रेसनमा साढे १२ हजारभन्दा बढी शुल्क लाग्दैन । न्यूरो सर्जरीको पनि अधिकतम शुल्क त्यही हो । सरकारी अस्पतालमा गरीबको अप्रेसन गर्दा डाक्टरलाई शुल्क नलिने छुट भएकाले यत्तिमै चलेको डा. पौडेलले बताए ।

अस्पतालको बेड अकुपेन्सी ७५ प्रतिशतभन्दा बढी छ । आईसीयुमा ३-४ बेड न्यूरोका बिरामीका लागि हुन्छ । ओपीडीमा दैनिक ३०-३५ जना न्यूरोका बिरामी आउँछन् । न्यूरो सर्जन डा. पौडेल भन्छन्, ‘सरकारी अस्पतालले पनि बढी शुल्क लिए गरीब बिरामी कसरी बाँच्ने ?’

न्यूरो सर्जरी सम्वन्धी पूर्वाधार नभएको भरतपुर अस्पतालमा उनले शून्यबाट काम थालेका हुन् । अहिले पनि सामान्यभन्दा बढी पूर्वाधार नभएको उनले बताए । ‘सरकारको तर्फबाट कसैले सोधेको पनि छैन’, डा. पौडेल भन्छन्, ‘त्यसमै लागेर साध्य पनि छैन । अहिलेलाई गरीब बिरामीलाई सेवा दिन मिलेको छ, यत्ति हो ।’

निजी अस्पतालहरुले लिइरहेको अनियन्त्रित शुल्कमा पुनर्विचार गर्नुपर्ने उनको धारणा छ । सडक दुर्घटनाका घाइतेहरुलाई यातायात सिण्डिकेटले कुनै निश्चित मेडिकल कलेजमै पठाउने गरेको उनले देखिरहेका छन् । भन्छन्, ‘रुख वा भिरबाट लडेका वा अरु दुर्घटनामा परेका गरीबहरु चाहिँ ढिलो गरेर हाम्रो अस्पतालमा आइपुग्ने गरेका छन् ।’

भरतपुर अस्पतालमा अहिले सोमबार र बुधबार न्यूरो सर्जरी र बाँकी तीन दिन ओपीडी हुन्छ । अस्पतालमा १२ बेडको न्यूरो सर्जरी विभाग छ । डा. पौडेलसहित दुई मेडिकल असिफर, ६ जना नर्स र अन्य डाक्टरको टिम बनाएर सरकारी अस्पतालमा न्यूरो सर्जरी सेवा चलाएका छन् ।

पैसाले त कसलाई पुगेको छ र !

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिरहेको बेला गृह जिल्ला चितवनमा न्यूरो सेवाको लागि काम गर्न सकिने वातावरण बनेपछि उनी भरतपुर आएका हुन् । उनको घर भरतपुर महानगरपालिका- ११, भोजाडमा पर्छ ।

भरतपुरमा उनी र उनको टोलीले ट्रमा भास्कुलर, स्पाइन ट्युमर, स्पाइन बोन लगायतका शल्यकृया गरेको छ । बालबालिको स्पाइनल कर्डमा देखिने सबै किसिमका समस्या अप्रेसन गरेर हटाएको उनी सुनाउँछन् ।

न्यूरो सर्जरी बाहिर हौवा फिजिएको जस्तो जोखिमपूर्ण नहुने उनले बताए । ‘तर, त्यसका लागि सम्बन्धित चिकित्सक एकदमै अपडेट प्रतिवद्ध र धैर्यवान हुनुपर्छ’, डाक्टर पौडेल भन्छन्, ‘ज्ञानमा अपडेट नहुने र स्ट्रेस लिनेले चाहिँ अपरेशन नगरेकै राम्रो ।’

सर्जरीका सामान्य पूर्वाधार र उपकरणबाट सेवा गरिरहेको भरतपुर अस्पताल अत्याधुनिक प्रविधिको अभाव झेलिरहेको छ । यसलाई विशिष्ट सेवा दिने अस्पताल बनाउने सरकारी घोषणाले डा. पौडेल उत्साही बनेका छन् । उनी भन्छन्, ‘अब आधुनिक उपकरण र जनशक्तिको उचित व्यवस्थापन होला भन्ने आशा छ ।’

दक्ष जनशक्ति र उपकरण थपिए भरतपुर अस्पतालले बिना तडकभडक ठूलो मात्रामा गतिलो सेवा दिने उनी बताउँछन् । ‘हामीलाई देखावटी गर्नुछैन, अप्रेसन गरेर फेसबुकमा फोटो हाल्नु छैन,’ उनी भन्छन्, ‘धेरैभन्दा धेरै गरीब बिरामीलाई सस्तोमा बिशिष्ट उपचार सेवा दिने ईच्छा हो, पैसाले त कसलाई पुगेको छ र !’

भरतपुर अस्पतालमा अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को एमडी र एमएस पनि चलिरहेको छ । डा. गुणराज पौडेल यहाँ नेपाल मेडिकल काउन्सिलको मापदण्ड पूरा गरेर न्यूरो सर्जरीको एकेडेमी पनि चलाउन चाहन्छन् । तर, न्याम्सले न्यूरो सर्जरीमा विद्यार्थी पठाउन आनाकानी गरिरहेको छ ।

गुणराज पौडेल वर्षौंदेखि सरकारी अस्पतालमा काम गरिरहेका भएपनि करार सेवाका चिकित्सक हुन् । भरतपुर अस्पतालमा न्यूरो सर्जरीको २० बेड पुर्‍याउन सकिने अवस्था भएपनि न्याम्सका अधिकारीहरुले आनाकानी गरिरहेको डा. पौडेलको अनुभव छ ।

‘काठमाडौं उपत्यका बाहिर न्यूरो सर्जरी नदिने मनसाय पनि देख्छु,’ डा. पौडेल भन्छन्, ‘म चाकडी गर्न जान्दिनँ, धाइरहन पनि सक्दिनँ । सकेसम्म काम गर्ने हो, बाँकी उहाँहरुको बिचार !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment