Comments Add Comment

युनिग्लोव कलेजद्धारा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना

२९ फागुन,काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेजले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कलेजले जानकारी दिएको छ ।

बुधबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले सम्मेलनको उद्घाटन गरे । उद्घाटनपछि सम्बोधन गर्दै उनले अनुसन्धानको महत्व र युनिग्लोव कलेजले शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तन र विकासको प्रशंसा गरे । साथै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुले नीति निर्माणमा पार्ने प्रभावहरु प्राप्त भएमा नेपाल सरकार सो अनुसार लागु गर्न तयार रहेको उनले बताए ।

कार्यक्रमका सभापति एवं सम्मेलन प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमुलक शिक्षण पद्धतिमा जोड दिदै अर्थशास्त्र, वित्त शास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने कुरामा जोड दिए ।

कार्यक्रममा कलेजका पि्रन्सिपल डा. नर बहादुर विष्टले आगन्तुकहरुलाई स्वागत गर्दै युनिग्लोव शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको लागि कलेजको अनुसन्धानमुलक शिक्षण पद्धति महत्वपूर्ण हुने बताए ।

कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले दुई दिने सम्मेलन भविष्यमा विद्यार्थीहरुलाई अनुसन्धानको ज्ञान तथा बौद्धिक क्षमतालाई अझ मजबुद बनाउने धारणा राखे ।

कार्यक्रममा विभिन्न देशबाट आएका प्रतिनिधीहरुले आफ्नो मन्तव्य राखि युनिग्लोव कलेजले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता कार्याक्रमले आपसी सम्बन्धलाई झन् प्रगाढ बनाउने बताएका थिए ।

उक्त कार्यक्रममा अमेरिका, स्वीट्जरल्याण्ड, इटाली, थाइल्याण्ड, युके, मलेशिया, इन्डिया तथा चीन लगायत देशका प्रतिनिधीहरुको सहभागिता थियो ।

१५० वटा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको कार्यक्रममा ५० भन्दा बढी विदेशी र ८ सय भन्दा बढी स्वदेशी व्यक्तिहरुको सहभागिता थियो । यो सम्मेलन नेपालको शैक्षिक क्षेत्रले गरेको हालसम्मकै सबैभन्दा ठूलो सम्मेलन भएको कलेजको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment