Comments Add Comment

सिन्धुपाल्चोकबाट एसईईमा ४३२३ परीक्षार्थी सहभागी हुँदै, तयारी पूरा

Photo Credit : अनलाइनखबर फाइल

४ चैत, सिन्धुपाल्चोक । आगामी चैत १० गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सिन्धुपाल्चोकमा सबै तयारी पूरा भएको छ । सिन्धुपाल्चोकमा यो वर्ष सामुदायिक र निजी विद्यालय गरी १४३ विद्यालयका चार हजार ३२३ परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।

जिल्लाका २३ परीक्षाकेन्द्रमा सञ्चालन हुने परीक्षामा प्रश्नपत्र, उत्तरपुस्तिका लगायत अन्य सामग्री पठाउन सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गौरी शंकर पाण्डेले जानकारी दिए ।

केन्द्राध्यक्षहरुका लागि आयोजना गरिएको परीक्षा अभिमुखीकरण कार्यक्रममा पाण्डेले परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएका थिए ।

त्यस्तै जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले परीक्षामा सुरक्षाको सबै व्यवस्था मिलाएकोले ढुक्क भएर परीक्षा दिने वातावरण मिलाउन केन्द्राध्यक्षहरुलाई आग्रह गरेका थिए ।

भूकम्पपछि जिल्लाका अधिकांश विद्यालय पुनर्निर्माणको चरणमा रहेकाले २३ मध्ये चार परीक्षा केन्द्रमा यो वर्षपनि अस्थायी सिकाइ केन्द्र टीएलसीमा नै परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

सदरमुकाम चौतारामा रहेको कृष्णरत्न गंगा मावि, झिर्पू मावि, रत्नराज्य माविलगायतका केन्द्रहरुमा यो वर्ष पनि टीएलसीमा नै परीक्षा सञ्चालनको तयारी गरिएको पाण्डेले बताए ।

२३ परीक्षा केन्द्र मध्ये सबैभन्दा बढी शारदा मावि परीक्षा केन्द्रमा ३ सय ६७ परीक्षार्थीहरु सहभागी हुँदैछन् भने बाधभैरव मावि ठोर्कपामा जम्मा ९० जना मात्रै परीक्षार्थी सहभागी हुँदै छन् ।

आमाहरु पनि परीक्षा दिदै

विगत केही वर्षदेखि जिल्लामा गृहणीहरु प्नि एसईई परीक्षामा सहभागी भइरहेका छन् । पढाई बीचमा नै छाडेका गृहणीहरुका लागि शिक्षा विभागले परीक्षा दिन पाउने व्यवस्था गरेपछि सिन्धुपाल्चोकमा विगत केही वर्षदेखि गृहणीहरुसमेत परीक्षा दिइरहेका छन् ।

यो वर्ष आन्नद मावि जलवीरे र राजेश्वरी मावि सिपापोखरे बाट ६/६ गरी १२ जना गृहणीहरु परीक्षामा सहभागी हुँदैछन् । त्यस्तै खुला विद्यालयबाट पनि १४ परीक्षार्थीहरुले यो वर्ष एसईई परीक्षा दिदैछन् ।

जिल्लामा सञ्चालन भएको पाँच प्राविधिक धारका विद्यालयबाट १८४ परीक्षार्थीहरु परीक्षामा सहभागी हुदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment