+
+
Shares

एकताका लागि फोरमले ओली सरकार छाड्नुपर्ने राजपाको शर्त (पत्रसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते ११:१८

८ चैत, काठमाडौं । सिके राउत समूह पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आए लगतै पार्टी एकताका लागि वार्ता थालेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच केन्द्र सरकारमा सहभागिताबारे मतभेद देखिएको छ ।

संघीय फोरम केन्द्र सरकारमा छ भने राजपाले हालै मात्र समर्थन फिर्ता लिएको थियो । पार्टी एकता प्रक्रिया अगाडि बढाउन फोरमले पनि सरकार छाड्नुपर्ने राजपाको शर्त छ ।

राजपा अध्यक्ष महेन्द्र राय यादवले फोरम अध्यक्ष उपेन्द्र यादवलाई लेखेको पत्रमा यथास्थितिवादलाई मलजल गर्ने, परिर्वतनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्नलाई बल पुग्ने गरी दुई तिहाईको संसदीय गणितलाई ग्यारेन्टी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

पत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा केन्द्रीय राजनीतिको दुई ध्रुव सत्तापक्ष र प्रतिपक्षमा रहेका हामीबीच कसरी वार्ता गर्ने ?’ एकता वार्ता अगाडि बढाउन फोरमले वातावरण बनाउनुपर्ने भन्दै राजपाले सरकार छाड्नुपर्ने शर्त अघि सारेको छ ।

फोरमका नेताहरु भने यो मान्न तयार देखिएका छैनन् । हालै मात्र विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेश पनि सरकार भएकाले एकताका लागि सरकार छाड्नुपर्ने शर्त स्वीकार्य नभएको बताएका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव स्वयम् उपप्रधान तथा स्वाथ्यमन्त्री छन् भने मोहम्मद इस्तियाक राइ शहरी विकासमन्त्री र डा. सुरेन्द्रकुमार यादव स्वास्थ्य राज्यमन्त्री छन् ।

पार्टी एकताका लागि फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा र राजपाले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

तर, तत्काल वार्ता एकता प्रक्रिया अगाडि बढिहाल्ने अवस्था नरहेको नेताहरु नै स्वीकार गर्छन् ।

हेर्नुहोस् राजपाले लेखेको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?