Comments Add Comment

करोड क्लबमा धनी अर्जुन

युवा पुस्तामा रुचाइएका संगीतकार हुन्, अर्जुन पोखरेल । चलचित्रमा समावेश गरिने प्राय प्रेमगीतमा अर्जुनकै संगीत भरिएको हुन्छ । उनी रोमान्टिक गीत तयार गर्न माहिर मानिन्छन् । उनको संगीतमा तयार भएका धेरै गीतहरु लोकप्रिय पनि बनेका छन् ।

यस्तैमा,  अर्जुन पोखरेलको संगीतमा तयार भएको चलचित्र ‘क्याप्टेन’मा समावेश गीत रहर छ सँगैले करोड भ्युज पार गर्यो । दिग्गज धौरालीको शब्द रहेको उक्त गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने भिडियोमा अनमोल केसी र उपसना सिंह ठकुरी फिचर्ड छन् । हालसम्म गीतको भिडियोले युटुबमा १ करोड २६ हजार भन्दा बढी भ्युज पाएको छ ।

यी बाहेक अर्जुनका अन्य ७ वटा गीतले पनि करोड भन्दा बढी भ्यूज पाएका छन् ।

१. म यस्तो गीत गाउँछु – ‘प्रेमगीत’
चलचित्र ‘प्रेमगीत’ गीत संगीतका कारण निकै चर्चित बन्यो । चलचित्रको व्यापारमा पनि गीत संगीतको ठुलो भूमिका रह्यो । यमे चलचित्रमा समावेश भएका सम्पूर्ण गीतहरुमा अर्जुन पोखरेलले संगीत भरेका थिए । यो चलचित्रको शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ पनि निकै लोकप्रिय बन्यो ।

यस गीतले युटुबमा करोड भ्युज पार गरेको छ । हालसम्म यो गीतको युटुब भ्युअर्स १ करोड २८ लाख ७५ हजार भन्दा बढी छन् । अर्जुन पोखरेलकै शब्द समावेश यस गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् । भिडियोमा नायक प्रदीप खड्का र पूजा शर्मा फिचर छन् ।

२. मैले सोचेको जस्तै – प्रेमगीत
अहिलेका चर्चित दुई कलाकार प्रदिप खड्का र पूजा शर्मालाई दर्शकमाझ चर्चित गराउने चलचित्र हो ‘प्रेमगीत’ । यसै चलचित्रमा समावेश ‘मैले सोचेको जस्तै’ गीतले पनि युटुबमा करोड भ्युज पार गरेको छ । हालसम्मस यस गीतको भिडियोले १ करोड ५४ लाख बढी भ्युज पाएको छ ।

डाक्टर कृष्णहरी बरालको शब्दमा तयार भएको गीतमा सन्तोष लामा र स्वेच्छा ठकुरीले स्वर दिएका थिए । गीतका संगीतकार मात्र थिए अर्जुन ।

३. किन आजकाल – म यस्तो गीत गाउँछु
अर्जुन पोखरेलको संगीतमा तयार भएको अर्को गीत ‘किन आजकाल’ पनि करोड भ्युज पार गरेको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’मा समावेश यस गीतले हालसम्म युटुबमा १ करोड ४४ लाख बढी भ्युज पाएको छ ।
पल शाह र पूजा शर्मा फिचरिङ यो गीतमा अर्जुन आफैँले स्वर दिएका छन् ।

४. भन्छु आज – म यस्तो गीत गाउँछु
चलचित्र ‘म यस्तो गीत गाउँछु’कै अर्को गीत ‘भन्छु आज’ बोलको गीत पनि करोड क्लबमा छ । यो गीतले हालसम्म युटुबमा १ करोड ६४ लाख बढि भ्युज पाएको छ । सुदर्शन थापाको शब्दमा समावेश यो गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् । भिडियोमा पल शाह र पूजा शर्मा फिचरिङ छन् ।

५. जब जब तिम्रो साथ – जोनी जेन्टलमेन
पल शाह र आंँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलमेन’मा समावेश एक गीत पनि करोड क्लबमा पुगेको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘जब जब तिम्रो साथ’ले करोड भ्युज पार गरेको छ । सुरेश लामा र अन्जु पन्तको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलकै शब्द रहेको छ । उक्त गीतको भिडियोले युटुबमा १ करोड ९ लाख बढि भ्युज पाएको छ ।

६. परिचय पाउँ – मेला
अर्जुन पोखरेलको रोमान्टिक गीतहरु मात्र करोड क्लबमा पुगेका छैनन् । अर्जुनले संगीत दिएको चलचित्र ‘मेला’मा समावेश ‘परिचय पाउँ’ गीत पनि करोड क्लबमा पुगेको छ । लोक लयमा तयार परिएको उक्त गीतले हालसम्म १ करोड ३२ लाख भ्युज पार गरेको छ ।

७. तिमी रोएको पल – ऐश्वर्य
अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीत ‘तिमी रोएको पल’ पनि निकै लोकप्रिय बन्यो । चलचित्र ‘ऐश्वर्य’मा समावेश यस गीतले हालसम्म युटुबमा २ करोड ५८ लाख बढी भ्युज पाएको छ । सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएको यस गीतको भिडियोमा रमेश उप्रेती र दीपिका प्रसाईं फिचर्ड छन् । अर्जुनको संगीत रहेको गीतमा सबैभन्दा बढी भ्युज पाउने गीतमा तिमी रोएको पल पर्छ ।

गीतले करोड भ्यूज पाउँदैमा उत्कृष्ट हुन्छ नै भन्ने छैन । तर, अर्जुनले संगीत भरेका यी ८ गीतले करोड भ्यूज मात्र पाएका छैनन्, दर्शकको माया पनि उस्तै पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment