११ मंसिर, काठमाडौं । स्पेनी टापु इबिजाको तटमा एउटा डिजेल बोकेको तेल ट्यांकर पल्टिएको छ । अधिकारीहरूका अनुसार दुर्घटनामा चालक दलका एक सदस्यको मृत्यु भएको छ । ट्यांकरमा ७ हजार टनसम्म डिजेल बोक्ने क्षमता थियो।
‘मेड एम्रे’ नामक माल्टा झन्डा भएको जहाजमा १७ जना चालक दलका सदस्यहरू थिए । सबैको उद्धार गरिए पनि सात जनालाई भने उपचारका लागि अस्पताल लगिएको थियो । तीमध्ये एक जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्पेनी मिडियाका अनुसार अस्पतालमा उपचाररत अन्य छ जनालाई हाइपोथर्मिया सहित सामान्य चोटपटक लागेको छ।
स्पेनी समुद्री उद्धार सेवाको विमान र प्रदूषण नियन्त्रण जहाज ‘क्लारा क्याम्पोमोर’ प्रयोग गरेर समुद्र र वातावरणमा हुन सक्ने सम्भावित क्षतिको मूल्यांकन भइरहेको छ।
बेलिएरिक टापुका अध्यक्ष मार्गा प्रोहेन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेका छन्- सम्भावित तेल चुहावटको बारे जानकारी प्राप्त हुन सकेको छैन ।
क्षेत्रीय आपतकालीन सेवाका निर्देशक पाब्लो ग्यारिजले ट्यांकर समुद्रमा पूर्ण रूपमा नडुबेको र आंशिक रूपमा मात्र डुबेको बताए ।
इबिजाको तटबाट लगभग ४६ किलोमिटर टाढा ट्यांकर पल्टिएको थियो । दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन।
प्रतिक्रिया 4