Comments Add Comment

पीडित परिवारको माग : गाडी पूर्वराजाकै भएपनि कारबाही होस्

२८ चैत, विराटनगर । अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश र हेम चौधरी कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । छिमेकी रहेका उनीहरु बुधबार सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै थिए ।

चाकल थिए प्रकाश । साँझ करिब साढे ७ बजेको समयमा सुन्दरहरैचा नगरपालिका-४ बुधवारे चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दियो । गम्भीर घाइते बनेका प्रकाश र हेमलाई विराटनगरको नोबेल मेडिकल कलेज ल्याइयो । अस्पतालले हेमलाई मृत घोषणा गर्‍यो ।

प्रकाशको टाउकोमा रगत जमेकाले तत्काल अप्रेशन गर्न डेढ लाख रुपैयाँ जम्मा गर्न भनियो । अस्पतालले शल्यक्रिया गर्न १ लाख ३० हजार र औषधिका लागि ५० हजार अग्रिम जम्मा गर्न भनेको प्रकाशकी बहिनी पबित्राले जानकारी दिइन् ।

घाइते प्रकाशकी आमा

राति साढे ८ बजे दुर्घटना भएको जानकारी पाएर अस्पताल आएका आफन्तले तत्काल पैसा निकाल्न नसक्दा अस्पताल प्रशासनले ‘बाँच्ने सम्भावना कम भएको’ भन्दै शल्यक्रिया गरेन । नोबेलले उपचार नगरेपछि राति करिब ११ बजेतिर आफन्तले विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरे ।

अस्पतालले शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालेको छ । तर, अझै प्रकाश खतरा मुक्त छैनन् ।

आफन्तले बिहीबार मात्र थाहा पाए ‘प्रकाशलाई ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्र शाहको रहेछ ।’

यो पनि पढ्नुहोस ‘पूर्वराजाको गाडी’ले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर अस्पतालमा भेटिएका प्रकाशका आफन्तहरु दुर्घटनामा संलग्नलाई कारवाही नहुने हो कि भन्ने चिन्तामा छन् । ‘प्रहरी कार्यालय पुग्दा मात्र पूर्वराजाको गाडी भन्ने थाहा पाएँ’ ‘ प्रकाशका हजुरबुबा सबुरलाल राजबंशीले अनलाइनखबरसँग भने, ‘ गाडी जो कसैको होस्, कानूनअनुसार कारबाही होस् ।’

दुर्घटना भइसकेका कारण घाइतेको उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताउँछन् ।

प्रकाशकी आमा कालिनदेवी चौधरी पनि कानून अनुसार कारबाही हुनुपर्ने बताउँछिन् ।

एयरपोर्ट छाडेर फर्किँदा दुर्घटना

केही दिनअघि पत्नी कोमलसहित पूर्व आएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार साँझ काठमाडौं फर्किए । उनलाई एयरपोर्टसम्म पुर्‍याउन आएको कारमा निजी सुरक्षाकर्मी थिए ।

पूर्वराजाको सवारी हुँदा प्रयोग हुने गाडी सशस्त्र प्रहरीका जवान दिपेन्द्र लम्सालले चलाएका थिए । गाडीमा सुटकेस र पूर्वराजाको सचिवालयको सामग्री थियो । स्रोतका अनुसार पूर्वराजा देशका विभिन्न स्थानमा जाँदा काठमाडौंबाट गाडी लैजाने गरिएको छ ।

दुर्घटनामा परेको कार पनि बिहीबार काठमाडौं लैजाने तयारी थियो । अहिले चालक र गाडी दुबै इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment