Comments Add Comment

कस्तो छ ‘भष्मे डन’को दाम्पत्य जीवन ?

‘भष्मे डन’ भनेपछि धेरैको स्मृतिमा एउटा अनुहार आउँछ, चिन्डे टाउको भएका एक अधवैंशे । बागमति किनारलाई आफ्नो साम्राज्य बनाएर बस्ने उनी मूर्ख तर जब्बर छन् । तर, भष्मे डनको भूमिका निर्वाह गर्ने विपिन कार्की फरक छन् । कति फरक ? संभवत यसको जवाफ रेश्मा कटुवालले दिन सक्छिन् । विपिनसँग सबैभन्दा नजिक रहने उनै रेश्मा हुन् । विपिनकी जीवनसंगी ।

विपिनले हरेक चलचित्रमा भिन्न भिन्नै चरित्र निर्वाह गरेका छन् । ‘हरि’मा उनी सात्विक अविवाहित अधवैंशेको भूमिकामा छन् । यस्तै, ‘जात्रा’मा उनी एक इमान्दार तर निरिह श्रीमान्को भूमिकामा छन् । चलचित्र ‘प्रसाद’मा पनि उनी इमान्दर तर निरिह श्रीमानकै रुपमा देखिन्छन् । वास्तविकतामा चाहि उनी कस्ता श्रीमान् हुन् ?

विपिनले जतिबेला रेश्मालाई जीवनसंगीको रुपमा आफ्नो घरमा भित्र्याए, ठिक त्यहीबेला चलचित्र ‘पशुपतिप्रसाद’मा उनले काम गरे । यहि चलचित्रबाट नै विपिनले ‘भष्मे डन’को रुपमा ख्याती कमाए । यस चलचित्रमा नेगेटिभ भूमिका गरेका उनले त्यसपछि सिंगो फिल्म बोक्ने सामथ्र्य बटुले । श्रीमतीको रुपमा रेश्मालाई अंगाल्नु र करियरको ग्राफ पनि आकासिनुलाई विपिनले एउटा राम्रो संयोग मानेका छन् ।

विपिनको मनोदसा र श्रीमतीको भ्रम

विपिनको मुड सधै एकनास हुँदैन । कहिले उनी रिसाए झै हुन्छन्, कहिले खुसी । कहिले गंभीर त कहिले रोमान्टिक ।

यस्तो किनपनि हुन्छ भने, अक्सर विपिन चलचित्रको क्यारेक्टर अनुसार आफुलाई बदल्ने प्रयास गरिरहेका हुन्छन् । उनी भिन्न भिन्नै चलचित्रमा फरक हुलिया, लवजका साथ पेश हुन्छन् । त्यही अनुरुप एउटा चलचित्रमा उनी जुन रुपमा देखिएका हुन्छन्, अर्कोमा नितान्त फरक भूमिकामा हुन्छन् । यसरी भिन्न भिन्नै चरित्र निर्वाह गरिरहँदा त्यसको प्रभाव उनको निजी जीवनमा पनि पर्छ ।

जस्तो उनी कुनै चलचित्रका लागि फन्टुस पात्र बन्नुपर्नेछ भने, घरमा उनी त्यही पात्रको अभ्यास गरिरहेका हुन्छन् । अर्थात उनको हाउभाउ, बोलीचाली सबै फन्टुस हुन्छ । यदि उनी गंभीर पात्रको रुपमा देखिदैछन् भने घरमा पनि उनी गंभीर हुन्छन् ।

यसरी उनको मुड  पनि मौसम जस्तै बद्लिरहन्छ । श्रीमान्को मुड किन बद्लिन्छ ? पहिले-पहिले श्रीमती रेश्मा कटुवाललाई थाहा हुँदैनथ्यो ।

अहिले भने उनलाई बानी परिसकेको छ कि, श्रीमान्ले चलचित्रको चरित्र अनुसार आफुलाई बदल्ने प्रयास गरिरहेका छन् । यसको असर के छ भने, विपिनको मुड वास्तविक रुपमै बद्लिदा पनि श्रीमतीले चाहि त्यसलाई नाटक ठान्ने गरेकी छिन् ।

सल्लाहकार श्रीमती

जब कुनै चलचित्रको स्क्रिप्ट हात पर्छ, तब विपिनले रेश्मासँग त्यसबारे छलफल गर्छन् । रेश्माले नै सुझाव दिने गरेका छन् कि, के गर्दा राम्रो हुन्छ, के गर्दा हुँदैन ।

अनलाइनखबरसँग विपिनले भनेका थिए, ‘अहिले त कुनै स्क्रिप्ट आयो भने, पहिला पढ्ने उनैले हो । त्यसपछि उनले चित्त बुझाएमा म अगाडि बढ्छु ।’

पुरानै भनाई छ, हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । विपिनले भने यसको व्यवहारिक अनुभव नै लिएका छन् । उनको सफलता पछाडि श्रीमती रेश्माको साथ र सहयोगले ठूलो काम गरेको छ ।

घरको काम सराबरी

हरिवंश आचार्यले एउटा गीत गाएका छन्, ‘बराबर, तिम्रो मेरो माया बराबर ।’ यसमा श्रीमान र श्रीमतीले घरको काम बाँडीचुडी गर्नुपर्छ भन्ने सन्देश छ ।

ठीक यस्तै छ, विपिन र रेश्माको दाम्पत्य जीवन पनि । उनीहरु सबै काम आपसमा बाँडीचुडी गर्छन् । जस्तो विपिनको करियरका लागि रेश्माले सहयोगीको भूमिका निर्वाह गरेकी छिन् । स्क्रिप्ट पढ्नेदेखि कुन चरित्रलाई कसरी न्याय गर्ने भन्नेमा रेश्माले सुझाव दिइरहेकी हुन्छिन् ।

यता भात र भान्साको काममा विपिनले पनि रेश्मालाई साथ दिइरहेका हुन्छन् ।

जस्तो बिहान रेश्माभन्दा अगाडि विपिन उठ्छन् । उठेपछि चिया पकाउँछन् र रेश्मालाई ओछ्यानमै पुर्‍याइदिन्छन् । त्यसपछि विपिन व्यायाम गर्नतर्फ लाग्छन्, रेश्मा खाना पकाउन ।

यद्यपी विपिनलाई पनि भान्साको काममा खुब जाँगर चल्छ । धेरैजसो समय त दुबै मिलेर खाना पकाइरहेका हुन्छन् । भाँडावर्तन सफा गर्ने काममा चाहि विपिन पछि हट्छन् । खानापानपछि कोठा सफा गर्ने, लुगा धुने सबैमा उनीहरुले भागबन्डा लगाउनुपर्दैन । दुबै काम गर्छन्, एकसाथ ।

जब मुड चल्छ

विपिन र रेश्मा दुबै जतिसक्दो दाम्पत्य सुखभोग गर्न चाहन्छन् । त्यही कारण त कुनै साँझ उनीहरु रेष्टुरेन्टमा गएर मीठो-मसिनो स्वादमा रमाउँछन् । कहिले वाइकमा बेपर्वाह यात्रा गरिरहेका हुन्छन् ।

बेलाबखत मुड चल्छ र घरमै वाइनको गिलास चियर्स गरिरहेका हुन्छन् । विपिनका अनुसार उनीहरु दुबै रोमान्टिक छन् । दुबै सकेसम्म मनोरञ्जन गर्ने प्रयासमा रहन्छन् ।

उनीहरुबीच खुब नोकझोंक पनि चल्छ ।

यदि रेश्मा रिसाए वा उनको मुड अफ भए, विपिनसँग त्यसको खास उपचार पनि छ । उनी जोक गरेर हुन्छ कि, अभिनय गरेर, श्रीमतीलाई फुल्याउँछन् । त्यस्तै कहिले काहीँ फोन गरेर आफु कतै टाढा जान लागेको बताउँछन् । रेश्माको मुड अफ हुन्छ । उनी केही खिन्न हुन्छिन् । तर, केही क्षणमै विपिन उनको अगाडि प्रकट हुन्छन् र फोन गरेर झुट बोलेको भेद खुलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment