Comments Add Comment

सफा बन्दै हेटौंडा ! उपमहानगरको लगानीबिनै यसरी हुँदैछ फोहोर व्यवस्थापन

२३ वैशाख, हेटौंडा । वैज्ञानिक तवरबाट फोहोर व्यवस्थापनको सुरुवातसँगै हेटौंडा सहर सफा देखिन थालेको छ । जैविक फोहरबाट कम्पोष्ट मल बनाएर हेटौंडाका बासिन्दाले धेरथोर आम्दानीसमेत गरिरहेका छन् ।

फोहर व्यवस्थापनमा हेटौंडा उपमहानगरले बजेट नछुट्याए पनि स्थानीयले मासिक शुल्क बुझाएकै भरमा फोहर व्यवस्थापन भएको हो । हेटौंडाका बासिन्दा हरियो डस्टबिनमा कुहिने फोहर र निलो डस्टबिनमा नकुहिने फोहर छुट्याएर राख्छन् । नकुहिने फोहर ग्रीन एण्ड क्लिन सिटी नामको कम्पनीलाई मासिक १ सय रुपैयाँ शुल्क तिरेरै बुझाउँछन् । कुहिने फोहर घरमै कम्पोस्ट मल बनाउँछन् ।

हेटौंडा १० की सुनिता थापाले भनिन्, ‘कम्पोस्ट मल प्रयोग गरेर घरका छत र करेसाबारीमा तरकारी लगाउने गरेका छौं ।’

उपमहानगरका वडामा कुहिने र नकुहिने फोहर बार अनुसार संकलन गरिन्छ । शनिबार र मंगलबार नकुहिने तथा सोमबार र बिहीबार कुहिने फोहर व्यवस्थापन गरिन्छ । उपमहानगरको ३, ६, ८, ९, ११, १३, १४, १५, १६ र १९ वडामा महिनामा दुईपटक शनिबार र मंगलबार नकुहिने फोहर मात्र संकलन गरिन्छ । यसैगरी १, २, ४, ५ र १० नम्बर वडामा सोमबार र बिहीबार फोहर संकलन हुँदै आएको छ ।

‘फोहरलाई जैविक र अजैविकमा वर्गीकरण गरी ब्यवस्थापन भइरहेको छ,’ हेटौंडा उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख ध्रुव भुजेल भन्छन्, ‘फोहर संकलनको यो बिधिबाट नगरवासीसमेत उत्साहित छन् ।’

बजार क्षेत्रबाट संकलित अजैविक फोहोर दोस्रो चरणको पृथकीकरण केन्द्रमा पुग्छ । यहाँ पुगेपछि पुनः प्रयोग गर्न मिल्ने फोहर उपमहानगरपालिकाले बिक्री गर्छ । बाँकी रहेको फोहर मात्र ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गरिन्छ ।

प्रत्येक दिन बजार क्षेत्र सरसफाइ गर्ने, जैविक र अजैविक फोहर छुट्याउने, सरकारी कार्यालयबाट समेत छुट्टाछुट्टै फोहोर संकलन गर्ने नीतिका कारण उपमहानगर सफा शहर बन्दै गएको छ ।

घर–घरबाटै फोहरको उत्पादन घटाउने हेटौंडा उपमहानगरपालिकाको प्रभावकारी देखिएको हेटौंडा २ का विष्णु सुवेदीले बताए ।

हरियाली ल्याण्डफिल्ड

राप्ती खोलाले कटान गरेपछि खण्डहर बनेको ल्याण्डफिल्ड साइट अहिले हरियाली बनेको छ । यहाँ फोहर व्यवस्थापनको काम गरिरहेको ग्रिन सिटीले बिभिन्न प्रजातीका बिरुवा लगाएर रोपेको छ । कम्पनीले फोहर व्यवस्थापनसँगै फूलका बिरुवा रोपेर ल्याण्डफिल साइटलाई समेत सुन्दर बनाउने काम गरिरहेको छ ।

उपमहानगरका बिभिन्न ठाउँबाट संकलन भएर आएका फोहोरको सहारामा बिरुवालाई पर्याप्त जैविक मलको प्रयोगबाट ल्याण्डफिल्ड साइट हरित बनेको हो । फोहरको मात्र डंगुर देखाउनेभन्दा पनि व्यवस्थापनलाई चुस्त बनाउनका लागि यहाँ फूल तथा अन्य प्रकारका बिरुवा लगाएको सञ्चालक नवराज खतिवडाले बताए ।

कम्पोस्टबाट वार्षिक ६० लाख

उपमहानगरवाट निस्किएका जैविक फोहरलाई ग्रिन एण्ड क्लिन सिटीले हेटौंडा १० मा रहेको कम्पोस्ट प्लान्टमा लगेर मल बनाउँछ । अजैविक फोहरलाई कन्भेयर प्लान्टमा लगेर पुनः प्रयोग गर्न मिल्ने फोहर बिक्री गरिन्छ । फोहरबाट बार्षिक ६० लाख आम्दानी गरिरहेको ग्रीन एण्ड क्लिन सिटीका सञ्चालक खतिवडाले बताए ।

कम्पोस्ट मल हेटौंडामा रहेका नर्सरी र घरमा बिरुवा लगाउन इच्छुक व्यक्तिहरुले लैजाने गरेका छन् । हेटौंडा उपमहानगरसँगको साझेदारीमा फोहर व्यवस्थापन गरिरहेको ग्रिन एण्ड क्लिन सिटीले ४ वटा ट्याक्टर, २ ट्रिपर, ३ वटा रिक्सामार्फत फोहोर संकलन गरिरहेको छ । फोहर व्यवस्थापनका लागि कम्पनीले ३९ जना कर्मचारी परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment