
२२ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्ने प्रश्न गरेका छन् ।
संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको भन्दै सरकारले झुटो बोलेको उनको दाबी छ ।
सरकारको नीति तथा कार्यक्रमको सातौं बुँदामा संविधान कार्यान्वयनमा सिंगो राष्ट्रलाई एक जुट बनाउन सफल भएको र संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै राजपाका नेता राजेन्द्र महतोले प्रश्न गरे, ‘‘यो संविधानमा विमती छैन रे भो अब ! कसरी विमती छैन हो ? कहिलेदेखि विमती भएन ?’
संविधानमा कसैको पनि विमती छैन भनेर सरकारले सफेद झूठ बोलेको उनको आरोप छ । ‘झुठको खेती जस्तै छ यो । जनताको अधिकारमाथि दिनदहाडै डकैती, जनता ढाँट्ने, जनतालाई गुमराहमा राख्ने, यस्ता कार्यक्रम घुसेको छ,’ महतोले भने ।
आफूहरुले सरकारलाई समर्थन दिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टमबाटै संविधान संशोधनको आश्वासन दिएको महतोले स्मरण गरे । ‘विमती रोष्टमबाट स्वीकार गर्ने अनि यो नीति कार्यक्रममा विमती छैन भनेर लेख्ने ? भाङ खाएर नीति कार्यक्रम लेख्या हो र ?’
राजपा नेता महतोले संविधान पूर्णरुपमा अझै स्वीकार गर्न नसकिएको बताए । तर, विमती छैन भनेर नीति तथा कार्यक्रममा लेखेर सरकारले संविधान नै संशोधन नगर्ने मनसाय राखेको उनले आशंका गरे ।
उनले संविधानलाई धर्मग्रन्थ जस्तो नठान्न चेतावनी दिए । ‘जबजब बाइबल, कुरान, गीता, महाभारत संविधानलाई बनाइन्छ नी त्यो संविधान गइहाल्छ, बाईबाई भइहाल्छ,’ उनले भने ।
महतोले विगतमा संसारकै उत्कृष्ट भनिएका ६ वटा संविधान अस्वीकार्य भएको तथ्यलाई ध्यान दिन आग्रह गरे । ‘केही पनि सुधार नगर्ने, विमती नै छैन भनेर यो संविधानलाई पनि विदाई गर्न खोजेको हो ?’ उनले भने, ‘यो त अपराध भइहाल्छ ।’
नेता महतोले यस्ता अहंकार तोडिनुपर्ने र संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4