Comments Add Comment

२१ वर्षदेखि प्रहरी पत्रकार

२२ वैशाख, काठमाडौं । नेपाल प्रहरी मुलुकमा शान्ति, सुरक्षा बहाल गराउने फौजी प्रकृतिको सुरक्षा संगठन हो । धेरैलाई लाग्छ, वर्दी लगाएर हतियारसहित सडकमा खटिने प्रहरी हुन् । तर, करिब ७५ हजार सदस्य रहेको संगठनमा विविध किसिमका जनशक्ति कार्यरत छन् ।

नेपाल प्रहरीका त्यस्तै एक अधिकृत हुन्, स्याङ्जाका घनबहादुर थापा (५१), जो बन्दुक बोकेर फिल्डमा निस्किँदैनन् । अपराध अनुसन्धान उनको मुख्य ड्यूटी होइन । उनी ‘प्रहरी पत्रकार’ हुन् ।

प्रहरी प्रधान कार्यालयको महानिरीक्षक सचिवालय मातहत केन्द्रीय प्रहरी समाचार कक्षका कार्यरत् छन्, थापा । उनी मुलुकभर भएका प्रहरीसँग सम्बन्धित गतिविधि र घटनाको समाचार बनाएर सञ्चार माध्यमहरुमा पठाउने काम गर्छन् ।

प्रहरी र मिडियाबीच समन्वय बढाउन यो युनिट खडा गरिएको बताउँदै प्रहरी निरीक्षक थापा भन्छन्, ‘प्रहरीका गतिविधि र समाजमा भएका घटनाबारे नागरिकलाई सुसूचित गराउने हाम्रो उद्देश्य हो ।’

कम्प्युटर छाडेर समाचार कक्षमा

अर्जुनचौपारीका थापा २०४६ सालमा स्याङ्जाबाट भविष्य खोज्दै राजधानी छिरेका थिए । पकनाजोलस्थित पिपुल्स कलेजबाट प्रविणता प्रमाणपत्र तह पूरा गरेर २०४८ सालमा धोविचौरको पब्लिक युथ कलेजमा एमबीए भर्ना भएकै बेला प्रहरीमा असई पदको विज्ञापन भयो ।

बुबाले प्रहरीमै जागिर पकाएका थिए । उनले पनि असई (प्रहरी सहायक निरीक्षक) मा फर्म पनि भरे । तर, दशैं आसपास परेकाले परीक्षामा सामेल हुन सकेनन् ।

त्यसपछि एउटा पुस्तक प्रकाशन गृहमा काम गर्दै कम्प्युटरको डिप्लोमा कोर्ष गरे । उनले डिप्लोमा पूरा गर्नु र प्रहरीको सूचना प्रविधि समूहमा भर्ना खुल्नु सँगसँगै जस्तो भयो । प्रहरीले काठमाडौं, विराटनगर, पोखरा र दिपायलका लागि दर्खास्त आह्वान गरेको थियो । यसले उनलाई झन् आवेदन भर्न आकर्षित गरायो । ‘ठमेलमा कम्प्युटर इन्सटिच्यूट पनि चलाइरहेको थिएँ’, थापा सम्झन्छन्, ‘काठमाडौंको लागि आवेदन दिएँ, नाम पनि निस्क्यो ।’

१ मंसिर २०५४ मा सईमा नियुक्त भएर प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तीन महिने तालिम सकेपछि प्रहरी मुख्यालयको केन्द्रीय समाचार कक्षमै उनको पहिलो पोष्टिङ भयो । प्राविधिक समूहकाले जनपथकाले जस्तो एकवर्षे तालिम लिनु पर्दैन । थापाले त्यसयताको २१ वर्ष समाचार कक्षमै बिताए ।

यो पनि पढ्नुहोस २६ वर्षदेखि चोरको पछिपछि…

प्रहरी, पत्रकारीतासँगै साहित्य

सई थापाले प्राविधिक समूहबाट नियुक्ति त पाए, तर कार्यकक्षमा कम्प्युटर नै थिएन । विल्कुल फरक टाइपराइटरमा लेखेर प्रिन्टरबाट लिथोमा घुमाउनु पर्ने भयो । उनी सम्झन्छन्, ‘दिनभर संकलित समाचार राति लिथोमा घुमाएर तयार पारिएको बुलेटिन विहानै उपत्यकाभरका सञ्चारगृहमा पुर्‍याइन्थ्यो ।’

त्यसबेला उपत्यकाका दैनिक र साप्ताहिक गरी दुई दर्जन बढी प्रकाशन गृहमा बुलेटिन पुर्‍याउन साइकलमा एक जना प्रहरी जवान हुइकिन्थे ।

थापाले जागिर सुरु गर्नुभन्दा चार वर्षअघि स्थापित प्रहरीको समाचार कक्ष २०५६ सालमा कम्प्युटरले सुसज्जित भयो । ‘कागजमा लेखेर टाइप राइटरमा टंकन गर्दा गल्ती धेरै हुन्थ्यो’, उनी भन्छन्, ‘कम्प्युटर आएपछि काम सहज भयो ।’

उनले समाचार कक्षमै कार्यरत् असई अजय छत्कुली (हाल सशस्त्र प्रहरी नायब उपरीक्षक) बाट समाचार लेख्न सिके । नेपाल प्रेस इन्सटिच्यूट (एनपीआई) मा पत्रकारिता तालिम लिएका असई थिए छत्कुली । पछि थापाले पनि एनपीआईबाट तालिम लिए । उनी तालिम र अनुभवले खारिँदै गए ।

प्रहरीको समाचार शाखामा काम गर्दा सञ्चारकर्मीहरुसँग भएको चिनजान र निकटताका कारण उनले दैनिक र मासिक पत्रिकाहरुमा कथा, कविता र लेख पनि लेख्न थाले । उनका तीनवटा कृति प्रकाशित भइसकेका छन्- कथा संग्रह पच्चिस पाइला (२०६५), कविता संग्रह मौन आक्रोश (२०७३) र बाल कथा संग्रह सुवासको सपना (२०७४) ।

प्रहरी सेवाका क्रममा थापाले वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक र २०७० सालमा राष्ट्र संघीय शान्ति मिसनमा हाइटी जाने मौकासँगै यूएन र परदेश सेवा पदक पनि पाए । उनी प्रहरी निरीक्षकमा बढुवा चाहिँ २०७५ असारमा मात्र भए ।

समाचार वाचनदेखि कटिङसम्म

सुरुवाती वर्षमा प्रहरी पत्रकारले हरेक विहान महानिरीक्षकलाई पत्रिकाहरु पढेर पनि सुनाउनु पर्थ्यो । ‘विहान ७ बजेदेखि ८ बजेसम्म विभिन्न पत्रिकाले लेखेका प्रहरीसँग सम्बन्धित समाचार सुनाउने चलन थियो’, इन्स्पेक्टर थापा भन्छन्, ‘सकारात्मक र नकरात्मक दुवै ।’

ध्रुवबहादुर प्रधानको पालादेखि आईजीपीलाई समाचार सुनाउन थालेका उनले अच्युतकृष्ण खरेल र प्रदीप शमशेर जबरालाई पनि दैनिक समाचार सुनाए ।

तर, २०५९ पुसमा श्यामभक्त थापा संगठन प्रमुख भएपछि भने त्यो चलन हराएको थापा सम्झिन्छन् ।  उनले भने, ‘त्यसपछि समाचार कक्षबाट दैनिक पत्रिकाहरुको कटिङ सचिवालयमा पठाउन थालियो ।’

यो पनि पढ्नुहोस जयविष्णु नेपाली : जसले प्रहरीको सोको अफिसर उत्पादनमा १७ वर्ष विताए

दिनचर्या, स्रोत र योजना

प्रधान कार्यालयमा अधिकांश प्रहरी कर्मचारी १० देखि ४ बजेसम्म काम गर्छन् । समाचार शाखामा काम गर्नेहरुलाई चाहिँ यो सुविधा हुँदैन । यो शाखा विहान पाँच बजेबाटै सक्रिय हुन्छ, सचिवालयमा पठाउन पत्रपत्रिका फाइलिङ गर्ने कामबाट । ‘कतिपय अवस्थामा विहान कार्यक्रममा पनि जानुपर्ने हुन्छ’, इन्स्पेक्टर थापा भन्छन्, ‘हाम्रो अफिस टाइम भन्ने नै हुँदैन ।’

उनीसँग राति १२ बजे पनि समाचार लेखेर सञ्चार माध्ययमहरुमा पठाएको अनुभव छ । अहिले प्रहरी समाचार कक्षबाट दैनिक दुई वटा नियमित बुलेटिन सम्प्रषेण हुने गरेको छ- दिउँसो १२ बजे र साँझ ५ बजे । कतिपय अवस्थामा चार वटासम्म बुलेटिन पठाइएको थापा बताउँछन् ।

अहिले समाचार संकलनमा पहिलेभन्दा सहज छ । नेपाल प्रहरीले देशभरका १०४ वटा युनिटमा इन्ट्रानेट विस्तार गरेको छ । त्यसमा हुने दैनिक घटना विवरण दर्ता प्रणालीमा हरेक प्रहरी कार्यालय जोडिएका हुन्छन् ।

‘सातवटै प्रदेश, ७७ जिल्ला र केही इलाका प्रहरी कार्यालयबाट सीधै इमेल पनि आउँछ’, थापा भन्छन्, ‘त्यसबाट तयार गरिएको बुलेटिन समाचार कक्षका प्रमुख डीएसपी वा जनसम्पर्क इकाइ प्रमुख वा केन्द्रीय प्रवक्तासँग समन्वयपछि सञ्चारगृहहरुमा पठाइन्छ ।’

यो पनि पढ्नुहोस ‘क्राइम सिन फोटोग्राफी’मा २९ वर्ष

पछिल्लो समय समाचार कक्षले फिचरलाई पनि प्राथमिकता दिएको उनले बताए । उनका अनुसार, समाचार कक्षमा कुल जनशक्ति भने आठजना मात्र छन् । यो पर्याप्त भने होइन तर, नेपाल प्रहरीले प्रधान कार्यालयमा दरबन्दी कम गर्ने नीति लिएकाले समाचार कक्षमा दरबन्दी थप हुने सम्भावना देखिँदैन ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment