Comments Add Comment

चीनले यस्तो बनाइदियो तातोपानी नाका !

जेठ ६ गते नेपाललाई हस्तान्तरण गरिँदै, तातोपानीमा चलहपहल सुरु

२७ वैशाख, सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन ।

भवनभित्र सुन्दर बगैंचा, पानीको फोहोरा, पार्किङलगायत सबै सबै सुविधासम्पन्न छ । भोटेकोशी नदीमाथि निर्माण भएको १ सय ६० मिटर लम्बाइको पक्की ट्रष्ट पुलमा इन्जिनियरिङ रुपमा असाध्यै राम्रो डिजाइन गरिएको छ ।

०७० पुस ५ गते सुख्खा बन्दरगाहाको निर्माण सुरु गरिएको थियो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने तयारी भए पनि भूकम्प र भोटेकोशी बाढीले निर्माण कार्य रोकिएको थियो ।

चीन सरकारले तातोपानी नाका खोल्न चासो दिएपछि रोकिएको बन्दरगाह निर्माण पुनः सुचारु भएको थियो । चीन सरकारले केही दिनमा नै सुख्खा बन्दरगाहा नेपाललाई हस्तान्तरण गर्ने र अब तातोपानीको भन्सारसम्बन्धी सबै काम यहीँबाट हुने तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

नेपाल चीन सीमाक्षेत्र र हालको भन्सार कार्यालय रहेको भन्दा ६ किलोमिटर तल निर्माण सम्पन्न भएको सुख्खाबन्दरगाह अन्तराष्ट्रिय स्तरको छ । ४.२ हेक्टर क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवं उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । बन्दरगाहमा भण्डारण क्षेत्र कार्गाे र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको ढकालले जानकारी दिए । ‘भन्सार यार्डमै ६० देखि एक सय मेटि्रक टनसम्म तौल गर्न सक्ने मेसिन समेत जडान गरिएको छ ।

बन्दरगाहमा भन्सार कार्यालय, जाँचपाँच यार्ड, चेक पोष्ट, बैंक, क्वारेन्टाइन, लगायतका संरचनाहरु निर्माण भएका छन् । कर्मचारीहरुका लागि आवास समेत बन्दरगाहभित्रै निर्माण गरिएको बस्नेतले जानकारी दिए । बन्दरगाहभित्र ६० देखि सय मेटि्रक टन क्षमताका ट्रकहरु एकैपटक तौलिन सक्ने मेशिनसमेत राखिएको उनले जानकारी दिए । एकैपटकमा साना-ठूला गरी १५० बढी कन्टेनरहरु चेक गर्न सक्ने बन्दरगाहको क्षमता छ ।

नेपालमा हालसम्म ५ वटा सुख्खा बन्दरगाह छन् । सबै भारतीय नाका क्षेत्रमा भएपनि चीनसँग सीमा जोडिएको क्षेत्रमा भने यो पहिलो सुख्खा बन्दरगाह हो । अन्य बन्दरगाहको तुलनामा यो निकै सुविधा सम्पन्न र आर्कषक रहेको नाका सम्वद्ध व्यापारी प्रदीप पौडेलले जानकारी दिए ।

चिनियाँ पक्षले आगामी जेठ ६ गते सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गर्नै तयारी गरेको छ ।

नाकामा चहल-पहल सुरु 

भूकम्पपछि बन्द रहेको नेपाल-चीनवीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै गर्दा सीमा क्षेत्रमा विस्तारै चहल-पहल सुरु भएको छ । भूकम्पपछि खण्डहरु बनेको यस क्षेत्रको भौतिक संरचना विस्तारै पहिलाको भन्दा राम्रोसँग निर्माण भएको छ । भूकम्प लगत्तै तातोपानी भन्सारबाट हिँडेका भन्सारका कर्मचारीहरु र्फकन थालेका छन् ।

राजधानीबाट नजिकै रहेको भन्सार भएकाले पनि विगतमा यहाँ आउनका लागि कर्मचारीहरु निकै मेहनत गर्थे । दुई अधिकृतसहित १ सय बढी कर्मचारीहरु यसअघि कार्यरत भए पनि भूकम्प लगत्तै सबै कर्मचारी भागेका थिए ।

नाका सञ्चालन हुनै लाग्दा भन्सार विभागले कर्मचारीहरु पठाउन सुरु गरेको छ । सुरुमा एकजना नासुसहित बढीमा ८ जना कर्मचारी पठाउन लागिएको तातोपानी भन्सारका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

गत शनिबार भन्सारका कर्मचारीहरु नाका क्षेत्रको स्थलगत अनुगमण गरेर फर्किएका छन् । नाका सुरु हुनु अगाडि व्यापारिक कारोबारका लागि सुख्खा बन्दरगाहमा भन्सार प्रणाली र नेटवर्किङ जडानका लागि कर्मचारीहरुले निरीक्षण गरेको बस्नेतले जानकारी दिए । भन्सार लगायत यस क्षेत्रमा आवश्यक पर्ने इन्टरनेटका लागि नेपाल टेलिकमलाई आग्रह गरिएको उनले बताए ।

थप तस्वीरहरू : 

        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment