Comments Add Comment

फिल्म लेखकको निर्देशक बन्ने हतारो, ‘कोही डुबे कोही चम्किए’

चलचित्र ‘कोहिनुर’ लेखेपछि यम थापालाई चलचित्र लेखनमा राम्रै अफर आइरहेको थियो । चलचित्र लेखनमा स्थान बनाइरहेका यम थापालाई थोरै चलचित्र लेख्ने वित्तिकै निर्देशन गर्ने जोश पलायो । उनले पालैपालो दुई वटा चलचित्र निर्देशन गरे । उनले निर्देशन गरेको ‘राज्जा रानी र हुर्रे’ बक्स अफिसमा यसरी चिप्लिए कि, उनको चलचित्र लेखन यात्रा समेत संकटमा परेको छ ।

यम थापाले चलचित्र निर्देशनमा हतार गरेको चर्चा चलचित्र वृत्तमा चलेको पनि थियो । तर, उनको चलचित्र बक्स अफिसमा सफल त भएन नै, उनको कामको समेत कुनै कोणबाट प्रशंसा भएन । यसैले, यम थापाले चलचित्र लेख्दा लेख्दै निर्देशनमा हतार गरेको स्पष्ट देखियो ।

चलचित्र लेखनमा लाग्दै गर्दा कतिपय लेखकलाई निर्देशक बन्ने सोच पलाएको पाइन्छ । यो सोच कतिपयका लागि त फाइदाजनक नै देखिएको छ भने धेरैका लागि ‘घातक’ सिद्ध भएको छ ।  चलचित्र ‘नोभेम्बर रेन’ लेखेर राम्रै चर्चा कमाएका छेतन गुरुङले पनि निर्देशनमा हतार गरे । केही चलचित्र लेखेर राम्रै क्रेज बनाइरहँदा उनलाई पनि निर्देशक बन्ने सोच आयो । उनले, चलचित्र ‘डमरुको डन्डिबियो’ निर्देशन गरे । तर, उनको यो चलचित्र बक्स अफिसमा मात्र चिप्लिएन, दर्शक र समिक्षक दुबैले स्याबास भन्न सकेनन् । निर्देशककै कारणले चलचित्र चिप्लियो । छेतनले चलचित्र निर्देशन गर्न हतार गरेको टिप्पणी भयो । छेतन अब आफ्नै लेखनमा चलचित्र ‘प्रेमगीत ३’ निर्देशनको तयारीमा छन् । उनका लागि यो चलचित्र परिक्षा पनि हो । यो चलचित्रले व्यवसायिक रुपमा सफलता हात पारेर मात्र पनि हुँदैन, छेतनको काम र उपस्थिती पनि देखिन आवश्यक छ ।

चलचित्र क्षेत्रमै टिप्पणी हुन्छ कि, नेपालमा चलचित्र निर्देशनलाई निकै नै हलुका कामको रुपमा लिइन्छ । कतिपय निर्देशकहरु सहायक–निर्देशकको भरमा निर्देशक भैरहेका छन् । कतिपय लेखकले भने चलचित्र लेख्दा लेख्दै आफ्नो खुट्टामा बन्चरो हानेर निर्देशक बनेको पनि देखिन्छ ।

कमर्सियल चलचित्र लेखनमा राम्रै जमेका थिए, शिवम् अधिकारी । उनलाई चलचित्र लेखेर फुर्सद नै थिएन । तर, चलचित्र लेख्दा लेख्दै उनी पनि निर्देशक बन्ने बाटोमा लागे । ‘सुश्री’ चलचित्र निर्देशन गरेका उनको काम यो चलचित्रमा कत्ती पनि देखिएन । चलचित्र असफल भयो, उनको काम पनि तारिफयोग्य भएन । बरु, उनले ‘पञ्चायत’ चलचित्र निर्देशन गरेर राम्रै तारिफ बटुले । उनी अहिले चलचित्र ‘कोपिला’ निर्देशन गरिरहेका छन् । चलचित्र निर्देशनमा लागेपछि शिवम् अधिकारीको व्यस्तता लेखनमा पहिलेको जस्तो छैन ।

चलचित्र लेखनमा राम्रै चलिरहँदा विकासराज आचार्यले चलचित्र ‘नसिब आफ्नो’ बनाए । विकासराज आचार्यको निर्देशनमा बनेको यो चलचित्रले राम्रै कमाई गर्यो । यसपछि, विकासले ‘नाई नभन्नु ल’को सिरिज बनाउन सुरु गरे । अहिले, उनी यही सिरिजबाट राम्रै रकम छापिरहेका छन् ।

विकासराज आचार्यले अहिले बाहिरी ब्यानरका चलचित्र लेखेका छैनन् । एउटै सिरिजमा निरन्तर लागेर उनले राम्रो रकम कमाएका छन् । तर, लेखनमा कुनै समय जमेका विकासबाट चलचित्र क्षेत्रले अझै गज्जबका कथाको अपेक्षा गरेको छ ।

निर्देशकको रुपमा अहिले अघि बढिरहेका सुरज सुब्बा ‘नाल्बो’को हातमा पनि कुनै समय चलचित्र लेखनको अफर प्रशस्त आउथ्यो । सुरज सुब्बाले चलचित्र निर्देशनमा लागेपछि उनलाई चलचित्र लेखनको अफर आउन छाडेको छ ।
हुनत, सुरज आफैले निर्देशन गरेका चलचित्रहरुमा ‘बाटो मुनिको फूल’ बाहेक अरुले त्यस्तो तारिफ कमाउन सकेका छैनन् । उनले, चलचित्रको लेखनमा कम ध्यान दिएको देखिएको छ ।

शिव रेग्मी, तुलसी घिमिरे लगायतका सफल निर्देशक पनि चलचित्र लेखेरै अगाडि बढेका हुन् । सफल निर्देशकहरुले पनि चलचित्र लेख्ने काम गर्छन् । तर, १–२ वटा चलचित्र लेख्ने वित्तिकै चलचित्रको निर्देशन नै गर्न सक्छु भनेर सोच्दा कतिपय लेखकहरु नराम्रोसँग चिप्लिएका छन् । चलचित्र निर्देशनको काम सजिलो काम होइन । यसैले, यसलाई हलुका नसोचौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment