Comments Add Comment

मदन भण्डारी राजमार्गको धरान–चतरा खण्ड निर्माणमा तीव्रता

३ जेठ, हेटौंडा । मदन भण्डारी राजमार्गको धरान चतरा खण्ड निर्माणले गति लिएको छ । तीन बर्षमा सक्ने योजना रहेको यो सडकमा हेटौंडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा आयोजनाको काम तीव्र गतिमा भइरहेको दुबै योजना कार्यालयले जनाएको छ ।

धरानलाई चतरा, गाईघाट र सिन्धुली हुँदै हेटौंडा जोड्ने यो मार्गको ३ सय १८ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ । यो सडक हेटौंडाबाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुन र उपत्यकालाई यातायात सञ्जालमा जोडदै धरान पुगेर टुंगिने मदन भण्डारी लोकमार्ग योजना कार्यालय हेटौंडाका सूचना अधिकारी केशव ओझाले जानकारी दिए ।

उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किमी पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किमी सडकलाई पश्चिमी खण्डका रूपमा विभाजन गरी निर्माण तीव्र पारिएको छ । दुबै खण्डको सडकमा सडक र पुलको फरक फरक ठेक्का गरी काम भइरहेको योजना कार्यालयले जनाएको छ ।

सडकको सुनसरीमा १८ दशमलव ८, उदयपुरमा १ सय ८ दशमलव ५, सिन्धुलीमा १ सय ३५ र मकवानपुर जिल्लामा ४९ दशमलव ३५ किमी पर्छ । हालसम्म योजनाको मकवानपुर खण्डमा २३ र सिन्धुली उदपुर खण्डमा २० किमी कालोपत्रेको काम भइसकेको छ । सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण हुने छन् ।

सडकको पूर्वी खण्डमा भएको पुल सडकको काम जेआईडेसी, शर्मा लामा जेभी, सीओभीआईसी– रसुवा–चुण्डी जेभीले गरिरहेको छ भने पश्चिम हेटौंडा खण्डमा सडकको काम कालिका–स्वच्छन्द–रानकेल जेभीले गरिरहेको छ ।

पूर्वी खण्डका योजना प्रमुख ललीजंग खनालका अनुसार हालसम्म मार्गको सडकतर्फ ६० प्रतिशत प्रगति हासिल भइसकेको छ । योजनाको सडक तर्फ ६ अर्ब ५४ करोड र पुलतर्फ ३ अर्ब २५ करोड रुपैयाँ बराबरको ठेक्का भएको प्रमुख खनालले जानकारी दिए ।

पश्चिम हेटौंडा खण्डको सडकमा ४५ प्रतिशत र पुल निर्माणमा ७० प्रतिशत प्रगति भएको सूचना अधिकृत ओझाले बताए । उनका अनुसार योजनाको सडकतर्फ ६ सय ३० करोड र पुलतर्फ २ सय ६० करोड रुपैयाँको ठेक्का लागेको छ । सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ३ सय रूख र पूर्वी खण्डमा ८ हजार रूख काट्नुपर्ने छ ।
सडक निर्माणको काम मधेस आन्दोलनपछि २०६४/०६५ बाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment