Comments Add Comment

साझा बसमा जो पनि चढ्दछ…..

साझा बस भन्नाले यहाँ ‘सार्वजनिक यातायात’लाई बुझ्नुपर्नेछ । सार्वजनिक यातायात भन्नाले ‘सर्वसाधरणले सःशुल्क यात्रा’ गर्ने सवारी साधन बुझ्नुपर्नेछ ।

नाम नै ‘सार्वजनिक यातायात ।’ जो पनि चढ्ने नै भयो । तर, के सबै यात्रु यात्राका लागि चढ्छन् ? सबैलाई गन्तव्यमा पुग्ने हतारो हुन्छ ? सबैजना आवश्यक्ता र वाध्यताले चढ्छन् ?

तपाईं सार्वजनिक यातायात चढ्नुहुन्छ भने त ख्याल गर्नुभएकै छ, सबै यात्रुको मनोदसा एवं नियत एकै हुँदैन । कोही तपाईंको खल्ती छाम्न त कोही युवतीहरुमाथि दूव्र्यवहार गर्ने प्रवृत्तिका हुन्छन् । हेर्दा भलाद्मी जस्ता देखिएपनि, सुकिला मुकिला देखिएपनि उनीहरुको नियत खराब हुनसक्छ । त्यसैले आवरणमा होइन, उनीहरुको हाउभाउमा ख्याल गर्नुपर्छ ।

खल्ती छाम्ने यात्रु

तपाईं खचाखच गाडीमा चढिरहेकै बेला कोही धकेल्दै, ठेल्दै पस्न सक्छन् । यसरी चढ्ने यात्रुको गन्तव्य कहाँसम्म ? अत्तोपत्तो हुँदैन । भिडमा घुस्रन्छन् । यताउता चलमलाउँछन् । केही क्षणमा गायब हुन्छन् ।

त्यसपछि भने गाडीभित्र हल्लीखल्ली हुन्छ । कुनै यात्रुको पैसा हरायो, कुनै यात्रुको मोवाइल । कुनै यात्रुको पर्स छैन, कसैको सिक्री ।

भिडभाड गाडीमा घुसि्रदै आउने र सुटुक्कै हराउने ति यात्रु कुनै यात्रु नभएर पकेटमार हुन् । सार्वजनिक यातायात भनेकै पकेटमारको अड्डा हो । उनीहरु पिक आवर वा अफिस टाइम अर्थात विहान ९ देखि ११ बजे र साँझ ४ देखि ५ बजे सक्रिय हुन्छन् ।

उनीहरु ठाउँ-ठाउँमा उभिन्छन् । गाडी हेर्छन् । जुन गाडी खचाखच छ, त्यसमै घुसि्रन्छन् । एक जना जस्तो देखिएपनि उनीहरु समूहमा हुन्छन् । आपसमा नचिनेका झै गर्छन् । महिला, युवती, बुढापाका वा सोझा यात्रुलाई घेराबन्दीमा पार्छन् । र, पकेट मार्छन् ।

आफु चढेको गाडीमा कोही फरक नियतले चढेका छन् भने सहजै थाहा पाउन सकिन्छ । यद्यपी केही चनाखो भने हुनुपर्छ । पकेटमारहरु अक्सर भिड गाडीमै चढ्छन् । जहाँ यात्रु कोचिएका छन्, त्यही कोचिन्छन् । असहज हुनेगरी बस्छन् । यताउता आँखा दौडाउँछन् । एकै ठाउँ उभिदैनन् । ठाउँ परिवर्तन गरिरहन्छन् ।

यिनीहरुले छातीतर्फ झोला भिरेका हुनसक्छन् । ज्याकेट वा सर्ट हातमा झुन्ड्याएका हुनसक्छन् । हतारमा भएजस्तो वा कतै गएजस्तो गर्छन् ।

यस्ता यात्रु देखिए सर्तक रहनुपर्छ । उनीहरुले थाहै नपाई हाम्रो खल्ती काट्न सक्छन् । हाम्रो मोवाइल, पर्स खोतल्न सक्छन् ।

महिला पच्छ्याउने यात्रु

सार्वजनिक यातायातमा महिला यात्रुलाई बढी सास्ती हुन्छ । उनीहरुलाई भिडमा चढ्न उत्तिकै गाह्रो हुन्छ ।

यद्यपी भिड गाडीमा नचढ्नुको विकल्प पनि हुँदैन । चढ्नैपर्छ । तर, चढेर सुरक्षित ठाउँमा उभिन कम्ता सास्ती हुँदैन । किनभने कति पुरुष यात्रुको नियत नै महिला यात्रु पच्छ्याउने हुन्छ । ति यात्रुहरु जहाँ-जहाँ महिला यात्रु उभिएका हुन्छन्, त्यतै जान्छन् । नजाने जस्तो गरेर लहसिन्छन् । ठोक्किन्छन् । हात लगाउँछन् । उनीहरुको काम यत्ति हो ।

यस्ता यात्रु कसरी चिन्ने त ?

यस्ता यात्रुहरु चाहि नियमित यात्रा गर्नेहरु पनि हुनसक्छन् । यिनीहरु सरकारी कर्मचारी हुनसक्छन्, कलेजका विद्यार्थी हुनसक्छन्, कुनै कामदार हुनसक्छन् । जो कोही हुनसक्छन् । तर, नियत खराब हुन्छ ।

केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै किशोरीहरुले भनेका थिए, ‘बुढो वा अलि प्रौड उमेरका कति यात्रु खराब नियतका हुन्छन् । किशोर उमेरकाहरु भने यस्ता प्रवृत्तिका हुँदैनन् ।’

महिला यात्रुलाई सताउने, दुःख दिने पुरुष यात्रु लक्का जवान हुन्छन् भन्ने छैन । बरु अलि प्रौड उमेरका हुनसक्छन् । यिनीहरुमा यौनकुण्ठा हुन्छ र महिलालाई स्पर्श गरेर पनि आनन्द लिन खोज्छन् ।

कतिपय त यतिसम्म हुन्छ कि, महिला यात्रुलाई सताउनकै लागि सार्वजनिक यातायातमा चढ्ने । कुनै समय एक टेलिभिजनको एक हास्य शृंखला नै यस्तै वुढाको चरित्रबाट लिइएको राजु याकचाले बताएका थिए । उनले भनेका थिए, ‘घरबेटी बा भन्ने क्यारेक्टर मैले एक त्यस्तो पात्तिएका बुढाबाट लिएको थिएँ, जो सार्वजनिक यातायातमा चढेर महिला यात्रुसँग नजानिदो ढंगले लहसिन्छन् ।’ एकपटक सार्वजनिक यातायातमा यात्रा गर्दा त्यस्तै बुढा भेटेपछि उनले ‘घरबेटी बा’ भन्ने चरित्र निर्माण गरेका थिए ।

के छ त उपचार ?

अक्सर सार्वजनिक यातायातमा दुवैथरी पीडकबाट यात्रुहरु सताइएका हुन्छन् । यद्यपी कसैले पनि आफ्नो पीडा खुलेर व्यक्त गर्दैनन् । आफुलाई परेको अप्ठ्यारो वा पीडाबारे उजुरी गर्दैनन् । उजुरी गर्ने प्रक्रिया पनि छरितो छैन । प्रहरीलाई खबर गर्न त भनिएको हुन्छ, तर प्रहरीलाई खबर गरिरहँदा आफु पनि लफडामा परिने झन्झटले यात्रुहरु यावत् पीडा सहेरै सार्वजनिक यातायातमा यात्रा गर्छन् ।

प्रहरीमा उजुरी गर्नका लागि पनि सहज छैन । प्रहरीले भन्छ, ‘प्रमाण चाहिन्छ ।’ आफुमाथि दूव्र्यवहार भइरहेको कुरा प्रमाणित कसरी गर्ने ? न भिडियो खिच्ने अनुकुलता हुन्छ, न कुनै रेकर्ड गर्ने ?

यद्यपी सार्वजनिक यातायातमा यस्ता दूव्र्यवहार जति सहन्छौ, उत्तिनै बढ्दै जान्छ । त्यसैले यात्रुहरु सजग हुनुपर्छ । कोही यात्रु खराब नियतले आफ्नो छेउमा आउँछन् भने उनीमाथि निगरानी गर्नुपर्छ । उनको हाउभाउ ख्याल गर्नुपर्छ । यदि आफु सर्तक रहँदा रहँदै पनि खराब व्यवहार गर्छन् भने खुलेरै विरोध गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment