Comments Add Comment

गृहमन्त्री र कांग्रेस सांसदको जुहारी : विप्लवसँग साँठगाँठ त छैन ?

१३ जेठ, काठमाडौं । राजधानीमा भएको श्रृङ्खलावद्ध बम विस्फोटलाई लिएर संसदमा प्रतिपक्षी सांसद र गृहमन्त्री रामबहादुर थापा बादलको जुहारी चलेको छ ।

सोमबार संसद बैठकमा गृहमन्त्री बादलले विस्फोटका घटनाबारे जानकारी गराएका थिए । त्यसक्रममा उनले विस्फोटमा मारिने जनता नभएको बताए ।

गृहमन्त्रीलाई प्रश्न सोध्ने क्रममा कांग्रेसका अधिकांश सांसदले त्यसलाई नै मुद्दा बनाए ।

पृष्पा भुसाललगायतका सांसदहरुले उनीहरु नेपाली जनता होइनन् भने को हुन् भन्ने प्रश्न गरे । सांसद अमरेशकुमार सिंहले एउटा कम्युनिस्ट पार्टी सरकार र अर्को बाहिर रहेको भन्दै नागरिकको आवाज दबाउन मिलेको त छैन भन्ने प्रश्न गरे ।

पूरक प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री बादलले बम बनाउने त्रममा प्रविधिक त्रुटि भएर विस्फोट भएको र मानिने विप्लव समूहका कार्यकर्ता भएको बताए ।

नेपाली नागरिक होइनन् भने को हुन् भन्ने प्रश्न सांसदहरुले उठाएको भन्दै उनले आफ्नो शब्द चयनमा कमजोरी भएको हुनसक्ने बताए । उनले अघि भने, ‘उनीहरु सामान्य नागरिक होइनन्, घटना घटाउनेहरु हुन् ।’

उनले विप्लव समूह त साँठगाँठ त छैन भन्ने प्रश्नलाई प्रश्नकर्तातिर नै फर्काइदिए ।

सरकार र विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने प्रश्न गम्भीर भएको भन्दै बादलले भने, ‘यी नाजायज प्रश्नहरु हुन् । यो प्रश्नलाई उल्टाएर हेर्दा कतै प्रश्नहरुको सम्बन्ध त छैन भन्न सकिन्छ । तर मलाई लाग्छ विषय त्यो होइन ।’

गृहमन्त्रीको प्रतिप्रश्नमा कांग्रेस सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आपत्ति जनाए । उनले विस्फोटका घटनामा कुन सांसदको कहाँ संलग्नता छ गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने बताए ।

सभामुख कृष्णबहादुर महराले यसबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment