Comments Add Comment

पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?

'क्रान्तिमा सर्वस्वहरण भयो, रुद्रसमशेरका सन्तानले केही पाएनौं'

१४ जेठ, काठमाडौं । वि.सं. १९९० सालको महाभूकम्पको दुई महिनापछिको कुनै आइतबार सिंहदरबार बिलियार्ड बैठक अघिल्तिरको चौरमा ठूलो पाल टाँगिएको थियो । श्री ५ त्रिभुवन, कमाण्डर इन चीफ रुद्रशमशेर जबरा, रोलवाला जनरल र उनीहरूका आफन्तजन श्री ३ महाराजको पर्खाइमा थिए ।

अपरान्ह ठीक दुई बजेर २५ मिनेट जाँदा दुबै हातमा लोडेड पेस्तोल लिएका जुद्धशमशेर बैठकको बीचमा आएर उभिए । त्यसैगरी हातमा माजर पेस्तोल सोझ्याएका तीन भाइ छोरा जुद्धको पछाडि उभिए । कमाण्डर इन चीफ रुद्रशमशेरलाई हेर्दै जुद्धशमशेरले कराए, ‘…तिमी पाल्पा जाउ, उहीँ बस ।’

‘मैले त केही बिराएजस्तो लाग्दैन…’, रुद्रशमशेरको जवाफ ।

‘तिमीले केही बिरायौ भनेर मैले भनेको छैन’, जुद्धशमशेरले थपे ‘सबै काम राम्रोसित गरेका छौ, … लौ जाऔ ।’

प्रमोद समशेर जबराको पुस्तक ‘राणाशासनको वृत्तान्त’ मा उल्लेख भएको रुद्रशमशेरको खलक पाल्पा धपिँदाको प्रसंग हो यो ।

प्रमोदशमशेरका अनुसार, त्योबेला रुद्र समशेरबाहेक अरुको चल-अचल सम्पत्ति खोस्ने, जफत गर्ने काम भएन । उनी लेख्छन्, ‘जुद्ध र र रुद्र बालसंगाती थिए ।

बेलामौकामा जुद्धलाई रुद्रले धेरै प्रकारबाट सहयोग पनि गर्थे भन्ने सुनिएको थियो । तर, के कारणले हो, उनकै सम्पत्ति मात्र जफत गरे । त्यो कुरा खुल्न सकेन ।’

त्यतिबेला जुद्धशमशेरले रुद्रको हीरा-पन्ना जडित श्रीपेच, बाबु वीरशमशेरबाट अंशमा पाएको सुनका भाँडाहरुको सेट र डेढसय रोपनी जग्गामा बनेको चारबुर्जा दरबार जफत (कब्जा) गरी आफ्ना छोराहरूलाई बकस दिएको ‘राणाशासनको वृत्तान्त’मा उल्लेख छ ।

जुद्धका छोरा बहादुरशमशेरले पाएपछि चारबुर्जा दरबार (हाल निर्वाचन आयोग) बहादुर भवन कहलियो ।

कमलमणि दीक्षितका अनुसार (मजलिशको आँखा-१५, तीनओटा चारबुर्जा दरबार, हिमाल -२०७२) वीरशमशेरले त्यो दरबार बनाउने जिम्मा त्यसबखतका नामी इन्जिनियर जोगलाल स्थापितलाई दिएका थिए । स्थापितले भवनको चारैतिर बुर्जा (गोलकौसी) बनाए । तिनै बुर्जाबाट भवनको नाम रहन गयो- चारबुर्जा दरबार ।

रुद्रका नाति पुरुषोत्तमशमशेर जबरा २००७ सालमा प्रजातन्त्र आएपछि पनि जफत भएको आफ्नो पैतृक सम्पत्ति फिर्ता नभएको बताउँछन् ।

‘श्री ३ हरूको तथ्यवृत्तान्त’, ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ लगायत आधा दर्जन पुस्तकका लेखक उनी प्रजातन्त्रका सेनानी पनि हुन् ।

पछि २०२१ मंसिरमा राजा महेन्द्रले नेपाली कांग्रेसका नेता सुवर्ण समशेरको ललिता निवाससहित राणाकालीन ६ वटा दरबारको १२९८ रोपनी जग्गा मुआब्जा दिएर अधिग्रहण र १४ रोपनी जफत गरेका थिए । त्यसमा महावीर भवन नक्साल (१५४ रोपनी), हरिहर भवन, पुल्चोक (२४० रोपनी), सीता भवन नक्साल (११९ रोपनी), लक्ष्मी निवास, महाराजगञ्ज (२५८ रोपनी), बबरमहल कुरिया गाउँ (२५३ रोपनी) र ललिता निवास बालुवाटार (२९९ रोपनी) परेका थिए ।

यसैवीच, ०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले प्रजातान्त्रिक संघर्षमा लाग्दा जफत भएको सुवर्ण समशेरको जग्गा सम्बन्धमा गृह मन्त्रालयले यकिन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता दिने र रोक्का भएको भए फुक्का गर्ने निर्णय गर्‍यो ।

त्यसअनुसार सुवर्णशमशेर र कञ्चनशमशेरको जफत १४ रोपनी ११ आना जग्गा फिर्ता हुनुपर्ने हो । तर, मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गासमेत भूमाफियाहरूले व्यक्तिको नाममा सारेर किनबेच गरिसकेको पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले निष्कर्ष निकाल्यो ।

भूमाफियाले प्रधानमन्त्रीनिवासको जग्गा समेत व्यक्तिको बनाइसकेको छानविनको निश्कर्षपछि यो विषय अहिले ‘बालुवाटार जग्गा प्रकरण’ का नाममा तातो बहसको विषय बनिरहेको छ ।

बालुवाटार (ललिता निवास) जग्गा प्रकरण सम्बन्धी समाचारहरु चाखपूर्वक पढिरहेका ९४ वर्षीय इतिहासकार पुरुषोत्तमशमशेर जबरा भन्छन्, ‘सुवर्ण, महावीरशमशेरको जग्गा फिर्ता हुने, रुद्र शमसेरको नहुने ? यस्तो पनि हुन्छ न्याय ?’

सम्पत्तिहरणपछिको अवस्था, प्रजातन्त्र प्राप्तिका निम्ति भएको सशस्त्र संघर्षमा लाग्दाको अनुभव आदिबारे कुपण्डोलस्थित निवासमा वयोवृद्व पुरुषोत्तमशमशेर अनलाइनखबरका सन्त गाहा मगरसँग यसरी खुले :

मेरो जन्म १९८२ चैत १५ गते चारबुर्जा दरबारमा भएको हो । विसं. १९९० सालमा जुद्ध समशेरले सर्वस्वहरण गरेर मेरा जिजुबुबा रुद्रसमशेर जबरालाई पाल्पा धपाउँदा म आठ वर्षको थिएँ ।

जिजुबुबा, बुबा ईश्वरसमशेर जबरा लगायतका परिवार र सहयोगी, सुरक्षा गारतसमेत गर्दा हामी करिब २०० जनाभन्दा बढी पाल्पातर्फ लाग्यौं ।

काठमाडौंबाट थानकोट हुँदै चित्लाङ, भीमफेदी हुँदै तेस्रो दिन वीरगञ्ज पुगेर बसेको याद छ । वीरगञ्जबाट रक्सौल झरेर भारतीय रेल चढेर नौतनवा पुग्यौं । त्यहाँबाट बुटवल निस्किएर उकालो पाल्पातिर लाग्यौं ।

पाल्पा त पुगियो, तर त्यहाँ जिजुुबुबासँग लडीबुडी खेल्ने मेरो चारबुर्जा दरबार थिएन । सबै चीज नौला र अप्ठ्यारा थिए । अप्रत्यासितरुपमा जानु परेकाले त्यहाँ केही बन्दोबस्त पनि थिएन । १२-१५ दिन एउटै लुगामा बस्नुपर्‍यो । कति बस्ने भन्ने ठेगान थिएन, तीन-चार वर्ष त्यत्तिकै बित्यो । पढ्न लेख्न पाइएन । पछि अलि ठीक हुँदै गयो ।

पाल्पा दरबारमै लेखपढ गर्न सिकेर भारतको युपी बोर्डबाट म्याट्रिक र बनारसको जयनारायण कलेजबाट इन्टर-मिडियट उत्तीर्ण गरें । थप उच्च शिक्षाका लागि बनारसकै हिन्दु विश्वविद्यालयमा भर्ना भएँ ।

राणाजी भएर ‘तपाईं’ भन्ने ?

१९९७ मा धर्मभक्त माथेमा, दशरथ चन्द ठकुरी, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई जुद्व शमसेरले मृत्यदण्ड दिएको समाचार सुनेर हाम्रो परिवार निकै मर्माहत भयो । काठमाडौंमा छँदा धर्मभक्त र दशरथ चन्द हाम्रो पारिवार निकट थिए ।

धर्मभक्तका बुबा आदिभक्त माथेमालाई मेरा जिजुबाजे श्री ३ वीरशमशेरले काजी बनाइबक्सेको थियो । आदिभक्तले मेरा जिजुबुबा मुख्तियार रुद्रशमशेरको खरिदार भएर पनि काम गर्नुभएको थियो ।

धर्मभक्त पहलमान थिए । चारबुर्जा दरबारमा म उनको पाखुरामा झुन्डिन्थेँ । दरबारमा आइरहने भएकाले शुक्रराज शास्त्रीलाई पनि चिनेको थिएँ । धर्मभक्त, दशरथ र शुक्रराजलाई व्यक्तिगत रुपमा चिनेकाले पनि १९९७ को घटनाले मलाई व्याकुल बनाएको थियो ।

सम्पत्ति हडपेर पाल्पामा धपाइएकाले हाम्रो परिवार काठमाडौंका राणा शासकप्रति आक्रोशित थियो नै । तिनै कारणहरुले गर्दा बिकम पढ्दापढ्दै म क्रान्तिमा लागेँ । गलकोट, भीरकोट, गरङ्गकोट, बुर्तिवाङ्ग, बाग्लुङ्ग, नुवाकोट, प्युठान, बुटवल, भैरहवा, पोखरा, परासी लगायतका स्थानमा पुगेर क्रान्तिको पक्षमा काम गरेँ ।

त्यहीबेलामा बीपी कोइरालालाई भारतबाट गोप्यरुपमा पाल्पा पुर्‍यायौं । त्यहाँबाट सकुशल भारत फर्काउन पनि सफल भयौं ।

हामी खुल्ला रुपमा क्रान्तिमा जान चाहन्थ्यौं । तर, राजकाज देखे-भोगेका जिजुबुबा रुद्रशमशेर त्यसरी जान मान्नुभएन । उहाँ भारतमा बसेर क्रान्ति गर्दा उसले समातेर नेपालका शासकलाई बुझाइदिन सक्ने सम्भावना औंल्याउनुहुन्थ्यो ।

पाल्पामा पनि हामी मान्छेहरूलाई सरकारविरुद्ध क्रान्तिमा लाग्न उक्साउँथ्यौं । हामीले मान्छेलाई बेलाएर ‘तपाईं, तपाईं’ भन्दै फकाएको थाहा पाएर जुद्धशमशेर पड्के छन्- ‘राणाजी भएर पनि रैतीलाई तपाईं भन्दै हिँड्ने ? के बुद्वि होला !’

उता, हामीले भने मानिसहरुलाई तँ, तिमी भन्नै बिर्सिसकेका थियौं । अति भएको लागे छ क्यार, जुद्धशमशेरले ‘राणा बाहेकलाई तपाईं नभन्न तिम्रा छोरानातिलाई सम्झाउ’ भन्दै जिजुबुबालाई चिठी नै पठाएछन् ।

मोहनशमशेरका पालासम्म आइपुग्दा हाम्रो परिवार क्रान्तिमा लागेको भन्ने पक्कापक्की भइसकेको थियो । उनले हामीलाई समात्न कर्णेल चन्द्रजंग थापाको नेतृत्वमा ९ जना अफिसर पाल्पा पठाए ।

त्योबेला पाल्पामा तीन पल्टन थियो- सबुज, बरफ र भवानी दल । जिजुबुबा रुद्रशमशेर पश्चिम क्षेत्रको कमाण्डर इन चीफ भए पनि पाल्पाको राजकाजमा उति चासो राखिबक्सन्नथ्यो । नेपालकै कमाण्डर इन चीफ भइसकेको व्यक्ति पाल्पामा खुम्चिँदा जाँगर लाग्ने कुरै भएन ।

बडाहाकिम भन्ने पद नासु-खरदारले पनि पाउने हुँदा उहाँलाई पश्चिमतर्फको कमाण्डर इन चीफ भनिएको थियो । उमेरले पनि उहाँ धेरै पुगिबक्सेको थियो । सैनिकहरु आउँथे, सलाम गर्थे, जान्थे । सेना, अड्डा-अदालत, निर्देशन आदिमा उहाँको रुचि नै थिएन ।

वायरलेसले जोगायो

पाल्पामा तीन पल्टनको नेतृत्व मोहन शमशेरका विश्वासपात्र मेजर समशेरबहादुर थापाले गर्थे । हामीलाई पक्राउ गर्न काठमाडौंबाट खटिएका कर्णेल चन्द्रजंग थापाले सबुज र बरफ पल्टनबाट थप बल लिएछन् ।

हामीले त्यो सब वायरलेसबाट थाहा पाइसकेका थियौं । त्योबेला काठमाडौंमा तोरणशमशेर जबरासँग पनि वायरलेस थियो । हाम्रो पाल्पा, काठमाडौं र कलकत्ताबीच वायरलेसबाट कुरा हुन्थ्यो ।

कर्णेल थापाको टोली ‘मुभ’ भयो भन्ने थाहा पाएपछि हामी मेसिनगन तयार पारेर बसेका थियौं । आयो भने भुटिदिने भन्ने थियो ।

हाम्रो तयारीको सुइँको मेजर समशेरबहादुर थापाले पाएछन् । उनले चन्द्रजंगलाई ‘मागेको सहयोग गर्छु, तर म आफैं अगाडि सर्दिनँ’ भनेछन् ।

मेरा जिजुबुबाका अगाडि लुत्रुक्क पर्ने समशेरबहादुरले मलाई चाहिँ घुरेर हेरेको सम्झन्छु । उनी अग्रसर नहुने भएपछि चन्द्रजंगले पनि आँट गर्न सकेनन् । उनी हामीलाई पक्राउ नगरी काठमाडौं फर्के ।

त्यसपछि जिजुबुबालाई मोहनशमशेरले दिनहुँजसो फोन गर्न थाले । उनी ‘दाइ, हजुरको छोरा-नातिलाई केही विषयमा सम्झाउनु छ, नेपाल (काठमाडौं) पठाइदिनुपर्‍यो’ भनिरहन्थे । जिजुबुबा कहिले बिरामी छु त कहिले के भनेर टारिबक्सन्थ्यो ।

तर, बहाना पनि कति गर्नु ? एक दिन जिजुबुबाले ल यिनीहरुलाई नेपाल पठाउँछु, यति अफिसर, यति उलिन काठ, भीमफेदी पठाइदिनु, यति खर्च चाहीँ पाल्पा पठाउनु भनेर पत्र लेखिबक्स्यो ।

मोहनशमशेर तीन साचे बैंक (तीन साँचेको हाकिम, मालको सुब्बा र बडा हाकिमसँग साँचो हुने एक किसिमको बैंक) मार्फत १० हजार रुपैयाँ पठाउन तयार भएछन् ।

हामीले तीन साँचेबाट १० हजार निकाल्यौं । तर, जुद्ध शमशेरले सर्वस्वहरण गरेर धपाएका हामी पक्राउ पर्न काठमाडौं र्फकने कुरै थिएन । त्यो रुपैयाँ लिएर लखनउतिर लाग्यौं । हामीलाई लिन काठमाडौंबाट गएका सैनिकहरू पाल्पा पुगेछन् ।

लखनउबाट बुुबाले मोहनशमशेरलाई चिठीमा लेखिबक्यो-महाराजले हामीलाई काठमाडौं बोलाइबक्सेकोमा बन्दी भइएला भनेर आएनौं । कुनैबेला दर्शन गर्न अवश्य आउनेछौं ।

मोहनशमशेर चिठी सिधा हैन, यसो छड्के राखेर पढ्थे । बुबाको चिठी पढिसकेपछि भनेछन्- मलाई आजसम्म कसैले झुक्याएको थिएन, काहिँला दाइका छोरानातिले झुक्याए ।

झण्डै आफ्नै सुराकीको हत्या

ईश्वरशमशेर जबराले क्रान्तिका लागि गोरखपुरमा दुईवटा घर भाडामा लिएर भारतीय फौजका सेवा निवृत्त गोर्खाहरूलाई जम्मा गर्नुभएको थियो । तर, भोको पेट क्रान्ति गर्ने कुरा भएन । तिनलाई खाने प्रबन्ध मेरा बुबा ईश्वरशमशेरले मिलाइबक्यो ।

झुक्याएर हामी लखनउ गएपछि मोहनशमशेरले बहादुरशमशेरलाई पठाउने भएछन् । त्यो सुइँको पाएपछि मेरा बुबा, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, मात्रिकाप्रसाद कोइराला, सुवर्ण शमशेर र महावीर समशेरबीच छलफल भयो ।

बहादुरसमशेरलाई बाटोमा रोक्ने, त्यस्तै परे मार्ने छलफलको निर्णय भएपछि बुबा र म गोरखपुर गयौं । त्यहाँको छलफलमा बहादुरसमशेरलाई मार्न जाने धेरै निस्किए । रोमबहादुर थापा (पछि प्रहरी महानिरीक्षक) ले तीमध्ये ९ जना छाने । उनीहरूलाई एक-एकवटा पेस्तोल दिएर नौतनवा पठाइयो ।

टोली अर्को स्टेशन नपुग्दै के थाहा पायाैं भने बहादुरशमशेर होइन, प्रचण्डशमशेर पो पाल्पा जाने भएछन् । तिनै प्रचण्डशमशेर, जसले हामीलाई पाल्पा धपाइँदैछ भन्ने सूचना दिएका थिए । उनले त्यो कुरा कागजमा लेखेर पाँच दिन पहिला मेरा बुबालाई दिएका थिए ।

उनलाई मार्ने कुरै भएन । त्यसपछि बुबा र रोमबहादुर थापा हतार-हतार बस चढेर मार्न हिँडेको टोलीलाई रोक्न जानुभयो । बुबासँग टोली खुब रिसाएछ । क्रान्ति भनेपछि प्रचण्ड शमशेर भए पनि छोड्नुहुँदैन भन्ने कुरा गरेछन् ।

त्यो अवधिमा मैले बहादुरगञ्ज, कृष्णनगरलगायतका मोर्चामा खटेका मुक्तिसेनाका लागि बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट हातहतियार, गोला-बारुद, खाकीका लुगाफाटा आदि सामग्री पुर्‍याउने काम गरेँ । नयाँदिल्लीको हैदरावाद हाउसमा बसिरहेका राजा त्रिभुवनसम्म पश्चिम मोर्चाको जानकारी पुर्‍याउने काम पनि मेरै जिम्मामा थियो ।

विसं. २००७ साल फागुन ४ गते बुबा र म राजा त्रिभुवनसँग एउटै जहाजमा नयाँदिल्लीबाट काठमाडौं फर्कियौं ।

दुईपटक सर्वस्व

विसं. १९९० सालमा जुद्धशमशेरले पाल्पा धपाएका हामीलाई प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिमा लाग्दा मोहनशमशेरले फेरि सर्वस्वहरण गरे । त्यसबोला हामीसँग १२-१३ वटा हात्ती, हात्तीसार, खस्यौलीमा ९ वटा मोटर, ग्यारेज र जग्गा थियो । हामी काठमाडौं नआई झुक्याएर लखनउ गएपछि मोहनशमशेरले अहिलेको बुटवलमा रहेका ती सबै सम्पत्ति फौज पठाएर जफत गरे ।

चारबुर्जा दरबार जफत हुँदा हामीले एक पैसा मुआब्जा वा क्षतिपूर्ति पाएनौं । जुद्धशमशेरले त्यो दरबार आफ्ना माइला छोरा बहादुरशमशेरलाई दिएछन् । हाम्रो अरु सम्पत्ति क-कसले लिए, थाहा छैन ।

प्रजातन्त्र प्राप्तिपछि हामी काठमाडौं आएर लीलाशमशेर काकाकोमा बस्यौं । लीलाशमशेरका छोराहरू छुट्टएिपछि भने कहाँ जाने भन्ने भयो ।

क्रान्तिका बेला कांग्रेस नेताहरूले हाम्रो सत्ता आएपछि सर्वस्वहरण हुँदाको सबै जग्गा फिर्ता गर्छौं भनेर कसम खाएका थिए । तर, त्यो बाचा पुरा गरेनन् । बाचामा चुकेकैले होला, नेताहरू सबै खत्तम भए । हामी त खत्तम थियौं नै, उनीहरू पनि खत्तम भए ।

राजा महेन्द्रले २०२१ सालमा राणाहरूका विभिन्न दरबार अधिग्रहण गरेर प्रधानमन्त्रीनिवास, मन्त्री क्वार्टर बनाए ।

त्यसबेला सरकारले मुआब्जा दिएर किनेको जग्गा पनि व्यक्तिका नाममा गरेको समाचारहरु अहिले आइरहेका छन् । लिनेले सुटुक्क लिएछन्, हामीले चाँहि जफत भएको जग्गा पनि पाएका छैनौं ।

क्रान्तिमा हिँडेकाले उनीहरूको सम्पत्ति फिर्ता भएको हो भने हामी पनि क्रान्तिमा नलागेको होइन । हामीलाई मात्र फिर्ता नदिँदा त अन्याय भयो नि । यस्तो अन्याय गर्न मिल्छ ?

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment