Comments Add Comment

कारागार भित्र, कारागार बाहिर

एउटा रमाइलो प्रसंग छ । केही महिनाअघि झुम्का कारागारका एक कैदी सजाय भुक्तान गरिसकेपछि मुक्त भएछन् । उनी कारागारको पर्खालबाट बाहिर निस्किए । तर, कतै गएनन् । कारागारका चौकिदारले उनलाई खर्च दिएका थिए ।

दुई/तीन घण्टापछि उनी कारागारतर्फ फर्के । भने, ‘मलाई त कारागार छाड्न मन लागेन । बाहिर गाएपछि मान्छेले के-के भन्ने होला । बरु भित्रै राम्रो छ ।’

दुई हप्ताअघि एक नेपाली चलचित्र सार्वजनिक भएको छ, जात्रै-जात्रा । चलचित्रका तीन पात्रले तीन बर्षको कैद भुक्तान गरिरहँदा उनीहरु बेकसुर ठहर भएका छन् । जसै उनीहरु कारागारको पर्खालबाट बाहिर आउँछन्, समाज उनीहरुको दाहिना बन्दैन । हेला-होचो गरिन्छ । मजाकको पात्र बनाइन्छ । उडाइन्छ । आखिरमा समाजको दृष्टिदोष पखाल्नकै लागि उनीहरुले बाँकी जीवन बाँच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई खुला समाजभन्दा कारागारभित्रको संसार पो सहज लाग्ने हो कि ?

कारागारभित्र

कारागारभित्रको संसार कस्तो होला ? यो जिज्ञासा किन उठ्छ भन्ने उत्तर खोज्नुअघि एउटा कुरा भनिहालौ, कारागारभित्र जुन अनुशासन हुन्छ, जुन सतर्कता हुन्छ, जुन सौहार्द्धता हुन्छ त्यो खुला समाजमा हुँदैन ।

सिस्नुपानी नेपालले कारागारभित्र हास्य शिविर सञ्चालन गरेको थियो । त्यसै सिलसिलामा अनलाइनखबरकर्मीले पूर्वी नेपालका आधा दर्जन कारागार नियाल्ने मौका पाएको थियो । भद्रपुर, विराटनगर, झुम्का हुँदै गाइघाटसम्मको कारागारको फन्को लगाइरहँदा त्यहाँ भित्रको दृश्य सोचेभन्दा फरक पाइयो ।

कारागारभित्र एउटा छुटै संसार रहेछ । कारागार जतिसुकै साँघुरो र असहज भएपनि सफासुग्घर थियो । त्यतीका धेरै कैदीहरु एकै ठाउँ खुम्चिएर बस्दा पनि सबैजसो कुरा व्यवस्थित देखिन्थे । ठिक ठाउँमा लुगाफाटो, चुल्हो, भाँडावर्तन । महिला कैदीबन्दी रहेको ठाउँमा फूलबारी र करेसाबारी पनि बनाइएको थियो । भान्सा सफा र चिटिक्क देखिन्थे ।

यी त आवरणका कुरा भए । कारागारभित्रका कैदीहरुमा आपसी सद्भाव पाइन्छ । उनीहरु एकअर्काको सुख-दुःखमा सहयोग गर्छन् । आफ्नो व्यक्तिगत, पारिवारिक अवस्थाबारे उनीहरु आपसमा भलाकुसारी गर्छन् ।

पर्खालभित्र घेरिएर बसिरहँदा उनीहरु दिन कटाउनका लागि विभिन्न कला, साहित्य, मनोरञ्जन, खेलकुदमा लाग्छन् । बेलाबखत कार्यक्रम गर्छन्, प्रतियोगिता गर्छन् ।

उनीहरुको जीवन नियमित हुन्छ । ठिक समयमा उठ्ने, ठिक समयमा सुत्ने । खाने, खेल्ने सबै समय निश्चित हुन्छ । जीवन संयमित र अनुशासित हुन्छ । कसैले कसैमाथि थिचोमिचो गर्न नपाउने, कसैले कसैलाई हेलाहोचो गर्न नपाउने चलन हुन्छ ।

कारागारभित्रका आचार संहितालाई पालना गरेर उनीहरु सकेसम्म आफुलाई संयमित राख्ने कोसिस गर्छन् । रचनात्मक काम गर्न उत्सुक रहन्छन् । सेवाका काममा अग्रसर रहन्छन् । यस्ता व्यक्तिहरु समूहमा पि्रय र विश्वासिला मानिन्छन् ।

कारागार, जहाँ हत्या गरेका, वलात्कार गरेका, ठगी गरेका अर्थात अपराध गरेकाहरु पुगेका हुन्छन् । जीवनमा त्यस्ता अपराध गरेकाहरु कसरी यति संयमित र मिलनसार भएर एकै ठाउँ बस्छन् ?

एक कैदीको जवाफ यस्तो थियो, ‘कारागारमा ल्याइएका कुनैपनि कैदीलाई भनिन्छ कि तिमीलाई यहाँ तिमै्र रिस, घमण्ड, क्रोध, लोभले ल्याइपुर्‍याएको हो । तिम्रो सत्रु यिनै हुन्, यसलाई त्याग । प्रतिशोध कहिल्यै नराख ।’

कैदीले कारागारमा प्रवेश गरिरहँदा उनको घमण्ड, अहंकार, क्रोध, लोभ पखाल्ने प्रयास गरिन्छ । यसरी मनको विकार हटाएपछि उनीहरु विनयी, बिनम्र र अनुशासित बन्छन् ।

कारागारबाहिर

जब तपाई कारागारबाट फुत्त बाहिर निस्नुहोस्, खुला समाज उकुसमुकुस पाउनुहुनेछ । खुला समाज चैनमा छैन । खुला समाज ढुक्क छैन । खुला समाज आनन्दित छैन । खुला समाज अनुशासित छैन ।

यहाँ लुछाचुडी छ । खिचातानी छ । सत्तेसराप छ । रिस, राग, दम्भ, लोभले मान्छेलाई आपसमा वैरी बनाइदिएको छ । खुला समाज किन अनुशासनहिन छ ? किन लापरवाह छ ? किन असहिष्णुता छ ?

कारागार हरेक व्यक्तिले जुन मर्यादा र अनुशासन पालना गर्नुपर्ने हुन्छ, खुला समाजमा त्यस्तो बाध्यता छैन । अरुको अगाडि मान्छेहरु आफुलाई अनुशासित देखाउन खोज्छन्, तर भित्रभित्रै भने खराब मनोवृत्ति पालिरहेका हुन्छन् । प्रतिशोधको भावना, लोभ, दम्भ, घृणा, वासनाको घनचक्करमा छन् मान्छेहरु ।

कैद भुक्तान गरिसकेपछि

कारागारबाट बाहिरिएपछि कहाँ जाने ? के गर्ने ? कसरी समाजमा पुर्नस्थापित हुने ? यस्तै-यस्तै कुराले अधिकांश कैदीबन्दीलाई चिथोर्छ सायद । अपराध भुक्तान गरिसकेपछि पनि उनीहरुलाई समाजले सहजै स्विकार गर्दैन । उनीहरुमाथि शसंकित र भयभित रहन्छ । आफुले गरेका अपराधको प्रायश्चित गरेर, सजाय भुक्तान गरेर, केही राम्रो गर्छु भनेर कारागारबाहिर आएपछि उनीहरुलाई समाजले हार्दिकताका साथ स्वागत गर्छ ?

अपराध गर्नु आफैमा दण्डनिय कार्य हो । कुनै व्यक्तिले गर्ने आपराधिक गतिविधिले समाजलाई त्रस्त, आतंकित, विक्षित बनाउँछ । समाजलाई दुषित र कुरुप बनाउँछ । त्यही कारण अपराध कर्म गर्नेले सजाय झेल्नैपर्छ । तर, अपराधी जब कानुनी दायरामा आउँछ, तब उनीसँग प्रायश्चित गर्ने ठाउँ रहन्छ । उनीहरुले अपराध स्विकार गरेर, कानुन बमोजिम सजाय भुक्तान गर्छ, तब ऊ अपराधी नै रहन्छ भन्ने छैन ।

कारागारबाट बाहिरिएपछि उसले आफुले गरेका सम्पूर्ण अपराधको कलंक मेट्न चाहन्छ । नयाँ जीवन सुरु गर्न चाहन्छ । विगतका गल्ती/कमजोरीलाई सच्याउन चाहन्छ । त्यसो भए हामी किन उनीहरुलाई मौका नदिने ?

भनिन्छ, एक पटक अपराध कर्म गरेर जेल-नेल भोगिसकेकाहरु पुन त्यस्तै कर्ममा र्फकन सक्छन् । अपराधीहरुले कारागार भित्रै बसेर कतिपय आपराधिक योजना बनाएको खबर पनि बेलाबखत सतहमा आउँछ । अपराधीहरु कारागारबाट छुटेपछि पनि पुन अपराधकर्म गरेको घटनाहरु पनि सुन्न सकिन्छ । एक अपराधी, जसलाई आफ्नो अपराधकर्मबारे बोध छ ,उनलाई त्यस बापत मिल्ने सजाय पनि थाहा छ, तैपनि अपराध गर्न तम्सन्छ ?

उनीहरुको मनोवृत्ति नै आपराधिक हो ? के उनीहरु सधै कलंकित भएरै बाँच्न चाहन्छ ? के उनीहरु ठगी, चोरी, डकैती, हत्या, बलात्कारभन्दा बाहिर आउन सक्दैनन् ?

कतिपय अवस्थामा उनीहरुको संगत, परिवार, समाजले पनि पुनः अपराधतर्फ धकेलिदिन सक्छ । अपराधीलाई प्रायश्चित गर्ने मौका नदिने, सुधि्रने अवसर नै नदिने हो भने पनि उनीहरु थप कठोर बन्न बाध्य हुन्छन् । यसकारण विभिन्न अपराधमा कैद सजाय भुक्तान गरेर खुला समाजमा आएकाहरुलाई कसरी पुर्नस्थापित गर्ने ? समाजसँग कसरी घुलमिल गराउने भन्ने कुरामा चाहि सबैले सोच्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment