८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ ।
अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
‘देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघले नर्सहरू, स्वास्थ्यकर्मीहरुको न्यूनतम पारिश्रमिक, जोखिम भत्ता र सम्मानजनक सुविधा तत्काल सुनिश्चित गर्न माग गरेको छ । उनले निजी अस्पतालहरूमा सरकारी तलब मापदण्ड र सुविधा कार्यान्वयनको प्रभावकारी अनुगमन तथा नियमन अनिवार्य रूपमा हुनुपर्नेमा पनि जोड दिएको छ ।
‘श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्य गर्न ठोस कानूनी तथा नीतिगत सुधारहरू अविलम्ब लागू गर्न संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
श्रम ऐन, २०७४ अनुसार नेपालमा न्यूनतम ज्याला १९ हजार ५५० तोकिएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ पुस २७ गतेको निर्देशनले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूका लागि पाँचौं तहको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० कायम गरेको छ ।
तर, अधिकांश नर्सहरू अझै पनि उक्त मापदण्ड भित्रपर्न सकेका छैनन् । उनीहरू १५ देखि २० हजारसम्मको न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् । ‘यो अवस्था अत्यन्तै चिन्ताजनक छ, जसका कारण नर्सहरूको जीवनयापन, पेशागत मर्यादा र भविष्यमा गम्भीर असर पु¥याउँदा विदेशिनसमेत बाध्य बनाएको छ’, नेविसंघले भनेको छ ।

प्रतिक्रिया 4