+
+
Shares

शरीरको तौल घटाउने कर्मचारीलाई बोनस बाँड्दैछ यो कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते ८:४६

कुनै कम्पनीले नाफा कमाउँदा त्यसको केही हिस्सा कर्मचारीहरुलाई बोनसको रुपमा बाँड्दछ । तर चीनमा भने एउटा कम्पनीले शरीरको वजन घटाएबापत आफ्ना कर्मचारीहरुलाई बोनस दिँदैछ ।

कर्मचारीहरुलाई मोटोपना घटाउनका लागि प्रोत्साहित गर्न भन्दै सो कम्पनीले एक लाख ४० हजार डलर बराबरको रकम बोन बाँड्ने भएको हो ।

कम्पनीको सो अफर चिनियाँ सोसल मिडियाहरुमा निकै चर्चामा छ । सो अफर अन्तरगत एकजना कर्मचारीले ९० दिनमा २० केजीभन्दा धेरै वजन कम गरेर २० हजार युआन बोनस प्राप्त गरेका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सेन्जेनस्थित प्रविधि कम्पनी अरशी भिजन इंकले गत अगष्ट १२ मा घोषणा गरेको ‘मिलियन युआन वेट लस च्यालेन्ज’ नामक वार्षिक कार्यक्रमले निकै चर्चा कमाएको छ ।

आमरुपमा इन्स्टा ३६० नामले चिनिने सो कम्पनीले यस्तो कार्यक्रम बर्सेनि चलाउने गर्दछ । सो कार्यक्रमको उद्देश्य कर्मचारीहरुलाई नियमित व्यामान गर्न र सन्तुलित आहारको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउनका लागि प्रेरित गर्नु हो ।

कम्पनीका सबै कर्मचारीहरुले उक्त अभियानमा नाम दर्ता गरेर भाग लिन सक्ने बताइएको छ । शरीरको वजन न्यूनतम आधा केजी घटाएबापत ५ सय युआन अर्थात् करिब ७० डलरको दरले नगद पुरस्कार (बोनस) कम्पनीले दिनेछ ।

रोचक त के भने उक्त च्यालेन्जमा जरिवानाको प्रावधान पनि रहेको छ । जो प्रतियोगीले शरीरको वजन घटाउनुको साटो पुन: बढाउनेछन् उनीहरुले प्रतिकिलो वजन वृद्धिका लागि ८ सय युआन जरिवाना तिर्नुपर्नेछ । यद्यपि अहिलेसम्म यस्तो जरिवाना लगाइएको भने छैन ।

जेन जीले जिते पुरस्कार

जीउको वजन घटाउने सो प्रतिस्पर्धामा पछिल्लो जेन जी पुस्ताका कर्मचारी झी याकीले तीन महिनाभित्र २० केजी वजन कम गरेर २० हजार युआन नगद पुरस्कार र वजन घटाउने च्याम्पियनसीपको उपाधि जितेका छन् ।

आफू सो च्याम्पियनसीपका बेला अनुशासित रहेको र खानपानमा निकै ध्यान दिनुका साथै दैनिक डेढ घण्टा व्यायाम गरेको उनले बताएका छन् ।

झीले ग्रुप च्याटमा वजन घटाउने विधि पनि शेयर गरेका छन् ताकि अन्य सहकर्मीहरुलाई प्रेरित गर्न सकियोस् । चिनियाँ अभिनेता किन हाओले १५ दिनमा १० केजी वजन क मगर्नका लागि प्रयोग गरेको विधि नै झीले अबलम्बन गरेका थिए ।

त्यसमा दिनहुँ केवल सोयाको दुधमात्रै पिउने, दोश्रो दिन मकै खाने, तेस्रो दिन फल र त्यसपछिका दिनमा पालैपालो प्रोटिन तथा सागपात खाने गरिन्छ ।

सन् २०२२ देखि कम्पनीले यस्तो प्रतियोगिता सातपटक आयोजना गरिसकेको छ । यसमा कूल पुरस्कारको रुपमा करीब २० लाख युआन अर्थात् २ लाख ८० हजार डलर वितरण गरिसकिएको छ ।

अघिल्लो वर्ष मात्रै ९९ जना कर्मचारीहरुले यसमा भाग लिएका थिए । सामूहिक रुपमा ९५० केजी वजन कम गरे र नगद पुरस्कारको रुपमा १० लाख युआन बाँडिएको थियो ।

कम्पनीका एकजना प्रतिनिधिका अनुसार सो प्रतिस्पर्धाको माध्यमबाट कर्मचारीहरुमा स्वस्थ जीवनशैली र कल्याणलाई बढावा दिनु प्रमुख उद्देश्य रहेको छ । यसले कर्मचारीहरुलाई जीवनमा नयाँ उत्साहसँग जोडिने र काम गर्नका लागि एक सकारात्मक प्रोत्साहनको काम गर्दछ ।

उक्त कम्पनीले चलाएको सो अभियान चीनको एक व्यापक राष्ट्रिय अभियानसँग मेल खान्छ । चीनले सन् २०२४ को जुनमा वजन घटाउने वर्षको सुरुवात गरेको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र अन्य १६ वटा विभागहरुले संयुक्त रुपमा सो त्रिवर्षीय अभियान सुरु गरेका हुन् । यसको उद्देश्य फिटनेशलाई बढावा दिनु र देशमा अधिक वजन तथा मोटोपनाको बढ्दो दरमाथि अंकुश लगाउनु रहेको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?