Comments Add Comment

स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खुल्यो

१५ जेठ, काठमाडौं । तपाईं सरकारी जागिर खान चाहनुहुन्छ भने यसपटक राम्रो अवसर छ । किनभने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो ।

सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ । जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ ।

असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिन्छ । दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने म्याद असार १० गतेसम्म छ ।

यो पनि पढ्नुहोस स्थानीय तहको नयाँ पाठ्यक्रम : पहिलो चरणमा प्रवेश परीक्षा

स्थानीय तहहरुले १४ हजार बढी कर्मचारीहरु आवश्यक रहेको भन्दै विज्ञापन खुलाइदिन संघीय लोक सेवा आयोगलाई भनेका थिए । तर, ९ हजार १ सय ६१ कर्मचारीको लागि मात्र विज्ञापन खोलिएको छ । बाँकी कर्मचारी बढुवामार्फत् पदपूर्ति गरिने लोक सेवा आयोगका प्रवक्ता किरण राज शर्माले बताए ।

तलब सुविधा स्थानीय कानुनअनुसार, सरुवाको टुंगो छैन

संघीय लोक सेवा आयोगले छनोट गरे पनि ती कर्मचारीहरु स्थानीय तहकै हुनेछन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकताक्रम अनुसार लोक सेवा आयोगले स्थानीय तह तोकेरै नियुक्तिका लागि सिफारिस गर्ने छ ।

यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै नियुक्ति दिनेछन् र उनीहरुको सेवा शर्त र तलब तथा अन्य सुबिधा सम्बन्धित स्थानीय तहको कानुन बमोजिम हुनेछ ।

संघीय लोक सेवाले पदपूर्ति गरिदिए पनि ती कर्मचारीहरुको हकमा संघीय ऐन कानुनहरु आकर्षित हुँदैनन् ।

स्थानीय तहमा अहिले भर्ना हुने कर्मचारीहरुको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुने कि नहुने भन्ने कुराको टुंगो भने अझै लागेको छैन । प्रदेश निजामती सेवा ऐन नबनिसकेकाले त्यसको टुंगो नलागेको हो । यद्यपि सरकारले कर्मचारीहरुको वृत्ति विकासमा बाधा नपुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

हेर्नुहोस् लोकसेवाले बुधबार प्रकाशित गरेको विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment