+
+
Shares

चुम्बकले तानिरहेछ ‘रक एन्ड रोल’

चुम्बकका गीतको विशेषताहरूको कुरा गर्दा गीतहरूका शब्द भारी हुँदैन । म्युजिकल पर्सपेक्टिभबाट पनि सरल हुन्छन् ।

सापेक्ष सापेक्ष
२०८३ कात्तिक २० गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटहरीको अन्डरग्राउन्ड रक सिनबाट चुम्बक ब्यान्ड जन्मिएको र अहिले करिब ५ वर्ष पुगेको छ ।
  • चुम्बकले नयाँ एल्बम ‘नेपाली गतिविधि’ ल्याउने तयारी गरिरहेको छ र यसअघि ‘बगेको बग्यै’, ‘पर्खिदिन’, ‘चुम्बक’, ‘सपना भयो महँगो’ र ‘जोश’ निकालिसकेको छ ।
  • ब्यान्डले ओरिजिनल म्युजिकलाई प्राथमिकता दिँदै इटहरीमा ‘नो कभर्स डे’ कार्यक्रम गर्दै आएको छ र ५० भन्दा बढी ओरिजिनल गीत बनाइसकेको छ ।

पूर्वको इटहरीमा जाडोका कोर महिनाहरूबाहेक सधैं गर्मिलो हुन्छ । 

कोभिड महामारी आसपास त्यहाँ अन्डरग्राउन्ड रक सिन पनि उसैगरी गर्मिलो हुँदै गइरहेको थियो । कभर नभएर ओरिजिनल म्युजिक गर्ने ठिटाठिटीहरूको लहर बढ्दै थियो । 

तिनै सेरोमा अप्ठ्यारो, रेट्रो रकेट, जेरो बेन्ज लगायतका ब्यान्डहरू जन्मिएका थिए । यी सबै ब्यान्डको केन्द्रमा अनिल तामाङ उर्फ गोङ्बा स्पाइक्स थिए । उनी प्राय: ब्यान्डमा भोकल, सङ राइटरवाला पाटी थिए ।

तर, अन्डरग्राउन्ड रक सिन राम्रो हुँदै गइरहेको बेला सक्रिय ब्यान्ड फुट्ने, फेरि अर्को नयाँ बन्ने पनि हबिगत पनि सँगसँगै भइरहेको थियो ।

ती दिनहरूमा गोङ्बा स्पाइक्स अप्ठ्यारो मा थिए । लभ शेर्पा र साहिल सेन रेट्रो रकेटमा थिए । 

केही कारणले रेट्रो रकेट ब्यान्ड टुट्यो । अप्ठ्यारो मा पनि अप्ठ्यारो आइलाग्यो । तर, यी दुवै ब्यान्डले त्यो समयदेखि नै ओरिजिनल म्युजिक गरिरहेका थिए ।

भनौं, चुम्बक का सबै जसो सदस्य फरक ब्यान्डमा थिए । अनि दुवै ब्यान्डमा रेकर्ड गर्न बाँकी गीतहरू पनि प्रशस्त थियो ।

त्यस्तै, त्यस्तैमा गोङ्बा स्पाइक्स, लभ र साहिल एक ठाउँमा आए । र, नयाँ ब्यान्ड बनाउने निधो गरे । उनीहरूका साथी विशालले त्यतिकैमा नाम फुराइदिए – चुम्बक ।

यसरी इटहरीमा फेरि नयाँ ब्यान्ड जन्मियो ।

ख्यालख्यालमै सुरु भएको यो यो ब्यान्ड अहिले करिब ५ वर्ष पुग्न लागेको छ । यो छोटो समयमा अन्डरग्राउन्डबाट ब्यान्ड करिब मेनस्ट्रिम भइसकेको छ ।

रक सिन सुस्ताइरहेको समयमा पूर्वदेखि घाम उदाए जसरी ब्यान्डले रक सिनलाई पुन: उदाउन भूमिका खेलिरहेको छ ।

ब्यान्डका गीतहरू विशेषत: युवा पुस्तामाँझ चर्चित हुनु, ब्यान्डले निरन्तर रुपमा देशविदेशमा शो पाइरहनु, ब्यान्डले नयाँ–नयाँ गीतहरू निकालिरहनु त्यसको जल्दोबल्दो प्रमाणहरू हुन् । 

अहिले ब्यान्डमा गोङ्बा स्पाइक्स भोकल, इस्कु र लभले गीतार, विवेकले बेस र सञ्जयले ड्रम डिपार्टमेन्ट सम्हालिरहेका छन् । साहिल ब्यान्डसँग सिनमा देखिएका छैनन् ।

तर, ब्यान्ड एकक्षण चुप बस्ने बाटोमा छैन । हाल ब्यान्ड नयाँ एल्बम ल्याउने तयारीमा छ, नेपाली गतिविधि ।

यसका धेरै जसो गीतहरू ब्यान्डले म्युजिक स्ट्रिमिङ प्लेटफर्महरूमा निकालिसकेको छ । यो बाहेक ब्यान्डले बगेको बग्यै , पर्खिदिन, चुम्बक नामक इपी निकालेको छ । सपना भयो महँगो, जोश एल्बम निकालिसकेको छ ।

त्यसबाहेक केही सिङ्गलहरू निक्लेको छ । समग्रमा यो ब्यान्डसँग अहिले ५० बढी ओरिजिनल म्युजिक छ ।

यसको एउटै कारण ब्यान्डले सुरुदेखि नै ओरिजिल म्युजिकलाई विशेष ध्यानमा राख्नु हो । 

ब्यान्डको फ्रन्टम्यान गोङ्बा स्पाइक्स आफैं यो कुरामा सचेत छन् । अप्ठ्यारो मा हुँदा उनले केही कभर गर्ने प्रयास गरेका थिए । तर, उनी त्यसमा जम्न सकेनन् । त्यसयता त ओरिजिनलमै मोह भयो ।

यसरी कि यो ब्यान्डका अधिकांश सदस्यहरूले मिलेर इटहरीमा नो कभर्स डे नामक कार्यक्रम गर्ने गर्छन् । जसमा इटहरी र आसपासका शहरहरूबाट ओरिजिनल म्युजिक गरिरहेका ब्यान्डहरू ज्यामिङका लागि भेला हुन्छन् ।

अर्को, यो ब्यान्डको स्प्रिट हो । फ्यानहरूमाँझ अत्यन्तै चर्चित पर्खिदिन भन्ने आफ्नो गीत ब्यान्डले एक दिनमा तयार पारेको थियो ।

लेख्ने, कम्पोज गर्ने, रेकर्ड गर्ने, एरेन्ज गर्ने सबैकाम ब्यान्डले १ दिन भित्र गरिसकेको थियो । यो गीत ब्यान्डको रुपमा चुम्बकको पहिलो अपलोडेड गीत पनि हो ।

यसरी ब्यान्डले १ दिन भित्रमा तयार पारेका गीतहरूको सूची अलि लामै छ । 

अर्को कारण, ब्यान्ड सदस्यहरूको केएलएम रेकर्ड्स नामक आफ्नै स्टुडियो छ । स्टुडियो हुनु ब्यान्डको गीतको संख्या बढी हुनु आफैंमा कारण बनेको छ ।

त्यसैले, ब्यान्डको मुख्य म्युजिक प्रोजेक्टबाहेक उनीहरूले अटो बट्स लगायतका प्रोजेक्टहरू चलाइरहेका छन् । चुम्बक जन्मिनुअघि सुरु भएको अटोबट्स प्रोजेक्टअन्तर्गत ४ वटा गीतको इपी निक्लेको छ ।

तीनमा धेरैजसो गीत उनीहरूले १/२ दिनमै तयार पारेका हुन् ।

चुम्बकका गीतको विशेषताहरूको कुरा गर्दा गीतहरूका शब्द भारी हुँदैन । म्युजिकल पर्सपेक्टिभबाट पनि सरल हुन्छन् । तर, ती झुमाउने छन् ।

मात दिने छन् । 

यसको कारण भनेको ब्यान्डले गीत बनाउँदा कुनै सिद्धान्तहरू पछ्याउँदैन । ब्यान्डका सदस्यहरू बसेको बेला अधिकांश गीतहरू बनेका छन् । 

गीतहरू पनि अधिकांश जस्तो ब्यान्डले आफ्नै अनुभवहरू समेटेर निकाल्ने गर्छ । बस् गीत सुन्दै जाँदा रमाइलो हुनुपर्यो, झुम्नु पर्यो, त्यो चुम्बकको नयाँ लाइनअपमा थपिहाल्ने गीत बन्छ ।

गीतहरू जबरजस्ती नलेख्ने/नबनाउने कुरामा ब्यान्ड प्रस्ट छ । साधारण शब्द लेख्ने, साधारण कम्पोजिन गर्ने कुरा ब्यान्डको अघोषित नियम नै बनेको छ ।

तर, चुम्बकको काम गराइ यति सरल देखिएता पनि यो ब्यान्ड नेपाली रक एन्ड रोल सिनमा एउटा सानदार स्थान बनाउन सफल भइसकेको छ । 

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?