News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९८० को दशकमा दूरदर्शनबाट प्रसारित रामानन्द सागरको ‘रामायण’ ले भारतभर करोडौँ दर्शकलाई आइतबार बिहान टेलिभिजनअगाडि जुटाएको थियो।
- धारावाहिक हेर्नुअघि कतिपय दर्शक नुहाउने, घर सफा गर्ने, धूप बाल्ने र टेलिभिजनमा फूलमाला चढाउने गर्थे।
सन् १९८० को दशक ।
अहिलेको जस्तो घरघरमा टेलिभिजन थिएन । मोबाइल, इन्टरनेट, युट्युब र ओटीटीको त कल्पनासमेत थिएन । टेलिभिजन भएका घर कमै हुन्थे । त्यो पनि श्यामश्वेत अर्थात् ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन ।
त्यही समयमा एउटा टेलिभिजन धारावाहिकले करोडौँ मानिसको दैनिक जीवनमा यस्तो प्रभाव पार्यो, जसको चर्चा आज पनि हुन्छ । त्यो थियो, रामानन्द सागरको ‘रामायण’ ।
भारतमा यो धारावाहिक हरेक आइतबार प्रसारण हुन्थ्यो । त्यो पनि भारतीय सरकारी च्यानल दूरदर्शनबाट । बिहान ९–१० बजेको समयमा प्रसारण हुने रामायण हेर्न त्यसबेला मान्छेहरू टिभीको अघिल्तिर पोको परेर बसिरहेका हुन्थे ।
त्यतिबेला आइतबार अरू दिनभन्दा फरक हुन्थ्यो । बिहानैदेखि घरमा छुट्टै चहलपहल सुरु हुन्थ्यो । परिवारका सदस्यलाई धारावाहिक हेर्न हतार हुन्थ्यो । कतिपय घरमा खाना पकाउने र घरायसी काम सकेर टेलिभिजनअगाडि बस्ने तयारी गरिन्थ्यो । टेलिभिजन भएका घरमा छिमेकी, आफन्त र साथीभाइसमेत जम्मा हुन्थे । टेलिभिजन नभएकाहरू अरूको घरमा गएर हेर्थे । एउटा सानो पर्दाअगाडि धेरै मानिसको जमघट हुन्थ्यो ।
रामायण सुरु हुँदा सडक सुनसान हुन्थे
भनिन्छ, त्यसबेला भारतमा ‘रामायण’ प्रसारण हुने आइतबार बिहान बजारमा चहलपहल घट्थ्यो । पसलका सटर बन्द हुन्थे । सडकमा मानिसको आवतजावत कम हुन्थ्यो । कतिपय ठाउँमा सार्वजनिक यातायातसमेत प्रभावित भएको विवरण सार्वजनिक भएका छन् ।
न्युयोर्क विश्वविद्यालयका सञ्चार विषयका प्राध्यापक अरविन्द राजगोपालले बीबीसीसँगको कुराकानीमा रेल र बससमेत रोकिँदा यात्रुहरू ओर्लिएर सडकछेउको टेलिभिजनमा धारावाहिक हेर्ने गरेको बताएका थिए । कतिपय विवाह समारोहमा समेत रामायणको प्रसारण सकिएपछि मात्र कार्यक्रम अघि बढाइएका घटना चर्चामा आएका थिए ।
टेलिभिजनअगाडि पूजा
बीबीसीमा प्रकाशित एक लेखअनुसार भारतमा ‘रामायण’ हेर्नुअघि कतिपय दर्शक नुहाउने गर्थे । घर सफा गर्थे । धूप बाल्थे । टेलिभिजनमा फूलमाला चढाउँथे । राम र सीताको पात्र पर्दामा देखिँदा हात जोडेर प्रणाम गर्थे ।
कतिपय परिवारले धारावाहिकलाई मनोरञ्जनभन्दा धार्मिक अनुष्ठानकै रूपमा लिने गर्थे । टेलिभिजनको पर्दामा भगवान् रामको दृश्य देखिँदा दर्शक भावुक हुन्थे । उनीहरूका लागि त्यो केवल कलाकारको अभिनय थिएन, आस्थासँग जोडिएको अनुभव थियो ।
टेलिभिजनको आकार सानो हुन्थ्यो, चित्र कहिलेकाहीँ धमिलो देखिन्थ्यो । एन्टेना मिलाउन छतमा चढ्नुपर्ने अवस्था पनि हुन्थ्यो । तर कार्यक्रम हेर्ने उत्साहमा त्यसले खासै फरक पार्दैनथ्यो ।
कलाकारलाई भगवानै रूप ठान्ने
धारावाहिकमा भगवान् रामको भूमिका अरुण गोविलले निर्वाह गरेका थिए । सीताको भूमिकामा दीपिका चिखलिया, लक्ष्मणको भूमिकामा सुनील लहरी, हनुमानको भूमिकामा दारा सिंह र रावणको भूमिकामा अरविन्द त्रिवेदी थिए ।
यी कलाकारको अभिनयले दर्शकको मनमा गहिरो छाप छाड्यो । विशेषगरी अरुण गोविललाई मानिसहरूले पर्दाको रामका रूपमा मात्र हेरेनन्, कतिपय दर्शक उनलाई वास्तविक जीवनमै भगवान् रामको प्रतिनिधिका रूपमा सम्मान गर्थे । उनी सार्वजनिक ठाउँमा देखिँदा मानिसहरू खुट्टा छुन पुग्थे । कतिपय भावुक भएर रुन थाल्थे ।
सीताको भूमिका निर्वाह गरेकी दीपिका चिखलियाले पनि यस्तै सम्मान पाएकी थिइन् । कलाकारको वास्तविक परिचयभन्दा उनीहरूले निर्वाह गरेका पात्रको छवि दर्शकको मनमा बलियो बनेको थियो ।
बीबीसीका अनुसार धारावाहिकका लोकप्रिय भागहरूलाई आठदेखि १० करोड दर्शकले हेर्ने गरेका थिए । त्यतिबेलाको भारतीय जनसङ्ख्या र टेलिभिजनको सीमित पहुँचलाई हेर्दा यो असाधारण दर्शक सङ्ख्या थियो ।
एउटा पुस्ताको सम्झनामा बसेको धारावाहिक
‘रामायण’ पछि सन् १९८८ मा बीआर चोपडाको ‘महाभारत’ पनि दूरदर्शनबाट प्रसारण भयो । यसले पनि दर्शकमाझ ठूलो लोकप्रियता पायो । तर रामानन्द सागरको ‘रामायण’ ले बनाएको प्रभाव छुट्टै थियो ।
त्यतिबेला न कुनै सामाजिक सञ्जाल थियो, न धारावाहिकको अर्को भाग तत्काल हेर्न पाउने सुविधा । एउटा भाग हेरेपछि अर्को आइतबारसम्म कुर्नुपर्थ्यो । त्यसबीच परिवार र छिमेकमा त्यसैको चर्चा हुन्थ्यो । रामले वनवासमा के गरे, सीताको हरण कसरी भयो, हनुमान लङ्का कसरी पुगे भन्ने विषयमा कुराकानी हुन्थ्यो । अर्को भागमा के होला भन्ने उत्सुकता रहन्थ्यो ।
आज प्रविधि निकै अगाडि बढेको छ । एउटा मोबाइलमा संसारभरका फिल्म र धारावाहिक हेर्न सकिन्छ । तर त्यसबेला एउटा सानो टेलिभिजनअगाडि परिवार, छिमेकी र समाजलाई जोड्ने शक्ति एउटा धारावाहिकमा थियो ।
त्यसैले पुरानो पुस्ताका लागि ‘रामायण’ केवल टेलिभिजनमा प्रसारण भएको कथा होइन । त्यो बाल्यकालको सम्झना हो । परिवारसँग बिताएको आइतबार हो । छिमेकीको घरमा जम्मा भएर कार्यक्रम हेरेको समय हो । श्यामश्वेत पर्दामा देखिने पात्र, सुनिने संवाद र आइतबार बिहानको प्रतीक्षा हो ।
प्रतिक्रिया 4