+
+
Shares

धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टोफर डोयलले महाभारतमा पाण्डव–कौरव युद्धभन्दा ब्रह्माण्डीय उत्पत्ति, कुरुवंश इतिहास र मानव स्वभावका अनेक पाटा समेटिएको बताए ।
  • डोयलले बलिउडलाई पौराणिक फिल्म बनाउँदा भव्य दृश्यभन्दा मूल ग्रन्थको गहिरो अध्ययन, सही प्रस्तुति र दर्शकको भावनाको सम्मान आवश्यक रहेको बताए ।

महाभारतका कर्णलाई हामी दानवीर र महान् योद्धाका रूपमा चिन्छौँ । तर, के उनको अर्को पाटो पनि छ ?

‘द महाभारत सेक्रेट’, ‘द महाभारत क्वेस्ट’ र ‘द पाताल प्रोफेसी’ जस्ता पुस्तकका लेखक क्रिस्टोफर डोयल विगत २० वर्षदेखि महाभारतमाथि अध्ययन, अनुसन्धान गरिरहेका छन् । आफ्नो नयाँ पुस्तक ‘द कर्स अफ द कुरुज’ मार्फत उनले महाभारतका ओझेलमा परेका पक्षलाई बाहिर ल्याउने प्रयास गरेका छन् ।

एक भारतीय मिडियासँगको कुराकानीमा क्रिस्टोफर डोयलले रामायण र महाभारतमा आधारित फिल्म बनाउँदा बलिउडले ध्यान दिनुपर्ने विषयबारे आफ्नो धारणा राखेका छन् । उनका अनुसार यी महाकाव्यलाई पर्दामा उतार्न भव्य दृश्य र प्रविधि मात्र पर्याप्त हुँदैन । त्यसका लागि मूल ग्रन्थको गहिरो अध्ययन र बुझाइ आवश्यक हुन्छ ।

उक्त कुराकानीका केही प्रमुख अंश :

तपाईं २० वर्षदेखि महाभारतमाथि अनुसन्धान गरिरहनुभएको छ । यस क्रममा यस्तो के कुरा थाहा पाउनुभयो, जसले महाभारतलाई हेर्ने तपाईंको दृष्टिकोण नै बदलिदियो ?

सन् २००६ मा मैले महाभारतमाथि काम सुरु गर्दा मलाई पनि यो वीर पाण्डव र खलनायक कौरवहरूको कथा हो भन्ने लाग्थ्यो । कौरवहरूको नेतृत्व दुर्योधनले गरेका थिए । तर, अनुसन्धान गर्दै जाँदा महाभारतको कथा योभन्दा निकै ठूलो रहेको बुझ्दै गएँ ।

महाभारतको सुरुवात ब्रह्माण्ड र त्यहाँ बसोबास गर्ने जीवहरूको उत्पत्तिबाट हुन्छ । त्यसपछि कुरुवंशको इतिहास र त्यसका विभिन्न पुस्ताको कथा आउँछ । पाण्डव र कौरवको कथा त त्यसपछि मात्र सुरु हुन्छ।

महाभारतका हरेक पात्रका अनेकौँ पाटा छन् । कुनै पनि पात्र पूर्णरूपमा असल छैन भने कोही पनि पूर्णरूपमा खराब पनि छैन । हरेक पात्रमा असल र खराब दुवै काम गर्ने क्षमता छ । आखिर हामी मानिस पनि त यस्तै छौँ ।

मेरो बुझाइमा महाभारत दुई परिवारबीच राजगद्दीका लागि भएको लडाइँ मात्र होइन । यो धर्म र अधर्म, मानवीय भावना, मानिसले गर्ने निर्णय र त्यसको परिणामको कथा हो ।

त्यसो भए कर्णजस्ता पात्रलाई केवल पीडित र दानवीरका रूपमा हेर्नु कत्तिको सही हो ?

कर्णलाई प्रायः अन्यायमा परेका, दानवीर र वफादार योद्धाका रूपमा चित्रण गरिन्छ । जन्मिनेबित्तिकै उनलाई त्यागियो । उनले दुईवटा श्राप पाए । राजकुमारहरूको रङ्गभूमिमा उनको अपमान पनि भयो । तर, कर्णको चरित्र यतिमा मात्र सीमित छैन । कर्णले पाएका केही अन्य श्रापका कथा मूल संस्कृत ग्रन्थमा उल्लेख छैनन् ।

सुरुमा कर्णले इन्द्रलाई आफ्नो कवच र कुण्डल दिन अस्वीकार गरेका थिए । किनभने सूर्यले उनलाई यसबारे सचेत गराएका थिए । पछि बदलामा इन्द्रको शक्तिशाली अस्त्र पाउने सर्तमा उनले कवच र कुण्डल दिए ।

कृष्णले उनलाई हस्तिनापुरको राजा बन्ने प्रस्ताव पनि गरेका थिए । तर, दुर्योधनप्रतिको वफादारीका कारण उनले त्यो प्रस्ताव अस्वीकार गरे ।

अर्कोतर्फ, कर्णले द्यूतसभामा द्रौपदीको अपमान गरेका थिए । उनलाई निर्वस्त्र पार्नसमेत भनेका थिए । अभिमन्यूमाथि चक्रव्यूहभित्र आक्रमण गर्ने ६ जना योद्धामध्ये कर्ण पनि एक थिए । उनले अभिमन्यूको धनुष र तरकश काटिदिएका थिए ।

बलिउडमा महाभारत र अन्य पौराणिक कथामा आधारित फिल्महरू बन्दै आएका छन् । के फिल्म निर्माताहरूले यी कथालाई न्याय गर्न सकेका छन् ?

यस्तो कुरा भन्न मलाई राम्रो लागिरहेको छैन । तर, मैले महाकाव्य र पुराणमा आधारित बलिउडका जति पनि फिल्म हेरेको छु, ती सबैमा कथालाई अझ राम्रोसँग प्रस्तुत गर्न सकिने ठाउँ देखेको छु ।

कथालाई केवल अनुवाद गरेर पर्दामा देखाउनु पर्याप्त हुँदैन । फिल्म निर्माताले सबैभन्दा पहिले आफूले फिल्म बनाउन लागेको कथा र त्यसको मूल ग्रन्थ बुझ्नुपर्छ।

धेरै सफल फिल्ममा समेत महाभारतसँग सम्बन्धित कुराहरू गलत ढङ्गले प्रस्तुत गरिएका छन् । फिल्म निर्माताले आफ्नै तर्फबाट नयाँ कथा बनाउन सक्छन् । तर, त्यसअघि मूल ग्रन्थमा के लेखिएको छ भन्ने कुरा थाहा पाउनुपर्छ । यसो गर्न सके फिल्मको कथा अझ राम्रो र प्रभावकारी बन्न सक्छ ।

दर्शकले रामायणको कथा पहिल्यै थाहा पाइसकेका छन् भने फेरि हेर्न किन रुचाउँछन् ?

सबैलाई रामायण र महाभारत राम्ररी थाहा छ भन्ने सोच्नु नै गलत हो । निकै कम मानिसले यी महाकाव्यका मूल ग्रन्थ पढेका छन् । दर्शकहरू यी कथाबारे अझ धेरै जान्न चाहन्छन् ।

त्यसका साथै, कुनै लेखक वा फिल्म निर्माताले यी कथालाई आफ्नो दृष्टिकोणबाट कसरी प्रस्तुत गर्छन् भन्ने कुरा पनि दर्शक हेर्न चाहन्छन् ।

हरेक लेखक र फिल्म निर्माताले आफ्नै सोच र दृष्टिकोणअनुसार यी कथा प्रस्तुत गर्न चाहन्छन् । त्यसैले यस्ता कथालाई फेरि पर्दामा ल्याउने सम्भावना सधैँ रहन्छ । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा फिल्म निर्माताले कथालाई राम्ररी बुझेर सही ढङ्गले प्रस्तुत गर्नुपर्छ ।

बलिउडले पौराणिक कथालाई भव्य त बनाइरहेको छ । तर, के तिनको वास्तविक शक्ति पर्दामा देखाउन सकेको छ ?

मलाई ‘ब्रह्मास्त्र’ भारतीय ग्रन्थभन्दा पनि पश्चिमा फ्यान्टेसी फिल्मबाट बढी प्रभावित भएको जस्तो लाग्यो ।

फ्यान्टेसी फिल्म बनाउनु भनेको केवल शानदार दृश्यप्रभाव देखाउनु होइन । त्यसमा गहिराइ र दर्शकलाई कथासँग जोडिराख्ने क्षमता पनि हुनुपर्छ । यसका लागि महाभारत र हाम्रा पुराणमा प्रशस्त सामग्री छन् । हामीले हरेक पटक बिल्कुलै नयाँ विचार सिर्जना गर्नुपर्छ भन्ने छैन ।

हाम्रा महाकाव्यका पात्र आफैँमा निकै जटिल छन् । उनीहरूका अनेकौँ पाटा छन्, जसले दर्शकलाई आकर्षित गर्न सक्छन् । फिल्म निर्माताले ती पात्र र तिनका कथालाई राम्ररी बुझ्न आवश्यक छ ।

पौराणिक फिल्ममा आफ्नै तर्फबाट परिवर्तन गर्दा प्रायः विवाद हुने गर्छ । फिल्म निर्माताले यसबाट कसरी बच्न सक्छन् ?

फिल्म निर्माताले दर्शकको भावनालाई ध्यान दिनुपर्छ । उनीहरूले गर्ने परिवर्तनले दर्शकको भावनामा चोट पुग्छ भने मानिसहरू आक्रोशित हुनु स्वाभाविक हो । यसका लागि सबैभन्दा पहिले मूल कथा बुझ्न आवश्यक छ । फिल्म निर्मातालाई मूल ग्रन्थमा के लेखिएको छ भन्ने थाहा भयो भने उनीहरूले आफ्नो सोचअनुसार पनि कथा प्रस्तुत गर्न सक्छन् ।

पात्रको रूप, पहिरन, सेट, दृश्य, संवाद, एक्सन र पात्रहरूबीचको सम्बन्धसमेत कथाअनुसार हुनुपर्छ ।

दर्शकलाई मूल ग्रन्थसँग जोडिएका यस्ता नयाँ तथ्य र दृष्टिकोण पनि देखाउन सकिन्छ, जुन उनीहरूलाई पहिले थाहा थिएन । तर, यसका लागि फिल्म निर्माताले आफैँले पनि त्यो कथाबारे राम्रो ज्ञान राख्नुपर्छ ।

यदि तपाईंले बलिउडमा पौराणिक फिल्म बनाउने तरिका परिवर्तन गर्न पाउनुभयो भने सबैभन्दा पहिले के परिवर्तन गर्नुहुन्थ्यो ?

म महाभारत र पुराणमा आधारित फिल्मको पटकथा लेख्ने तरिका परिवर्तन गर्न चाहन्छु । त्यसका लागि सोच र दृष्टिकोण नै बदल्नुपर्छ ।अहिले पनि फिल्मका एक्सन, दृश्य प्रभाव र पात्रको रूपरङ्गमा पश्चिमा फिल्मको प्रभाव देखिन्छ । यदि त्यस्तो प्रभाव छैन भने पनि कतिपय फिल्मले मूल कथालाई सही ढङ्गले प्रस्तुत गर्न सकेका छैनन् ।

हाम्रा ग्रन्थमा कथाको संसार निर्माण गर्न आवश्यक धेरै जानकारी छन् । फिल्म निर्माताले ती जानकारी प्रयोग गरेर भारतीय दर्शकले आफ्नोपन महसुस गर्ने संसार बनाउन सक्छन् ।

जब पात्र र फिल्मको संसार वास्तविकजस्तै लाग्न थाल्छन्, त्यसपछि कथामा नयाँ मोड पनि थप्न सकिन्छ । तर, यस्ता परिवर्तन गर्दा दर्शकको भावनामा चोट नपुगोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?