Comments Add Comment

‘सगरमाथा गलत रेकर्ड बनाउने ठाउँ होइन’ (भिडियो वार्ता)

सरकार भन्छ- उट्पट्याङ काम गर्नेलाई कालोसूचीमा राख्छौं

Photo Credit : निर्मल पुर्जा

१३ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा किर्तिमान कायम गर्ने नाममा उट्पट्याङ  हर्कत गर्ने आरोहीलाई सरकारले कालोसूचीमा राख्ने भएको छ ।

सगरमाथाको बद्नाम गर्ने ढंगले भएका क्रियाकलापलाई रेकर्डमा राखेर सम्बन्धित आरोही र आरोहणमा लैजाने एजेन्सीलाई समेत कारवाही गर्नेबारे पर्यटन मन्त्रालयमा छलफल भएको छ ।

सगरमाथामा स्वघोषित रेकर्ड बनाउने नाममा कानून विपरीत र अमर्यादित हर्कतहरु भएकोप्रति सरकार गम्भीर बनेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् ।

अनलाइनखबरसँग कुरा गर्दै आचार्यले त्यस्ता क्रियाकलाप गरेर कीर्तिमानी बनाएका वा बनाउन खोज्नेलाई कालो सूचीमा राखिने चेतावनी दिइन् ।

आचार्यले भनिन्- विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको शीर हो, सगरमाथाको नैतिक उचाईलाई कसैले धावा बोल्छ भने त्यो नीच काम हो । हामी क-कसले कस्ता हर्कत गरे, के कस्ता तस्वीर र भिडियो सार्वजनिक गरे भन्ने विवरण संकलन गरिरहेका छौं । त्यस्ता व्यक्ति वा एजेन्सीलाई आवश्यक देखिएमा कालो सूचीमा समेत राखिनेछ ।

मीरा आचार्य आफैं पनि यो सिजनमा लुक्लादेखि हिँडेर सगरमाथा आधार शिविरमा पुगेकी थिइन् ।

उनले सगरमाथाप्रति अगाध आस्था राखेर आरोहणको सपना पूरा गर्नेदेखि आफूखुसी कथित रेकर्ड बनाउने उद्देश्यले मान्छेहरु आधार शिविरसम्म पुग्ने गरेको बताइन् ।

यो पनि पढ्नुहोस सगरमाथामा ‘ट्राफिक जाम’ ! (भिडियो रिपोर्ट)

सगरमाथाको गरिमा कायम गर्ने सन्दर्भमा नीतिगत फेरबदल गर्नुपरेमा सरकार त्यसमा पनि सरोकारवालासँग छलफल गर्ने तयारीमा रहेको उनले बताइन् । सरकारलाई जानकारी दिएर सगरमाथामा कुनै कीर्तिमान कायम नभएको विभागकी निर्देशक आचार्यले बताइन् ।

कामीरिता शेर्पाको २३ औं पटकको आरोहणको कीर्तिमान सरकारको जानकारीमा रहेको भन्दै उनले अरु कीर्तिमान व्यक्तिहरुले आफूखुसी घोषणा गरेकाले त्यसको भ्रममा नपर्नसमेत विभागले आग्रह गरेको छ । कथित विश्व कीर्तिमानको विकृति रोक्नेबारे पनि सरकार छलफलमा रहेको उनले बताइन् ।

हेर्नुहोस् भिडियो

‘व्यक्तिगतरुपमा रेकर्ड राख्ने र हल्ला गर्ने प्रवृति रोक्नेबारे हामी छलफल गर्दैछौं । सगरमाथालाई ब्यापारको थलो बनाउनुहुँदैन । रेकर्ड राख्ने नाममा कतिपय अमर्यादित हर्कत भएका छन् भने उनीहरुमाथि कारबाही हुन्छ,’ आचार्यले भनिन् ‘हामी भन्छौं कि बिहे गर्ने वा अन्य हर्कत गर्ने प्लेटर्फम सगरमाथा होइन । हामी यसलाई नियन्त्रण गर्ने तयारीमा छौं ।’

केही वर्षअघि सगरमाथा शिखरमा एक जोडीले बिहे गरेपछि कसैले टिप्पणी गरेको थियो- अब सगरमाथामा सुहागरातको विश्व रेकर्डमात्र बन्न बाँकी रहृयो । संसारको सर्वोच्च शिखरमा विभिन्न कीर्तिमान कायम गर्ने क्रममा कतिपय आरोहीले उट्पट्याङ हर्कत देखाउन थालेपछि सरकारमाथि कठोर कदम चाल्न दबाब परेको आचार्यले बताइन् ।

पछिल्लो पटक सगरमाथामा शिखरमा एक विदेशीले अश्लील रेकर्ड बनाएको दावी गरेको फोटो सार्वजनिक गरेपछि पर्यटन मन्त्रालय र विभागका अधिकारीहरु हैरानीमा परे । सबैतिरबाट सोधपुछ हुनथालेपछि वास्तविकता बुझ्दा उक्त तस्विर ११ वर्षअघि खिचिएको पाइयो । सगरमाथामा गलत हर्कत गर्नेलाई जति वर्षअघिको भए पनि कठोर कारवाही हुने उनको भनाइ छ ।

‘ट्राफिक जामको तस्वीर नियम विपरीत’

यो वर्षको बसन्त ऋतुको सगरमाथा आरोहणको एउटा तस्वीर विश्वभर भाइरल भइरहेको छ । आरोही निर्मल पुर्जाले खिचेको तस्वीरमा सगरमाथा शिखरमा सयौं मान्छेको ‘ट्राफिक जाम’ देखिन्छ । यो तस्वीर नेपालमात्र नभएर विश्वभरका सञ्चारमाध्यममा प्रकाशन हुनु र आरोहणका क्रममा १० आरोहीको मृत्यु हुनुलाई जोडेर टिप्पणी भएपछि सरकारले प्रष्टीकरण समेत दिनुपरेको छ ।

यो पनि पढ्नुहोस सगरमाथाको चुचुरोमा घन्टौं जाम !

जुन तस्वीर अहिले संसारभर भाइरल भइरहेको छ, त्यो पनि गैरकानूनी रुपमा आरोहीले बाहिर लगेको भन्दै विभागले आपत्ति जनाएको छ ।

निर्देशक आचार्यले पर्वतारोहण सम्बन्धी नियमावली अनुसार कुनै पनि तस्वीर वा भिडियो प्रसारण गर्नुअघि सम्पर्क अधिकृतमार्फत सरकारलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था आरोहीबाट उल्लंघन भएको बताइन् ।

आरोहणको सिजन सकियो

यसैबीच यो सिजनको सगरमाथा आरोहण सोमवारबाट टुंगिएको छ । सोमवारदेखिनै आधार शिविरबाट टेण्टहरु निकाल्ने क्रम सुरु भएको र आरोहण पनि लगभग टुंगिएको आचार्यले बताइन् ।

क्याम्प टु बाट फर्किएका र आरोहणको ७५ दिनको अनुमतिपत्र बाँकी रहेका अपवादबाहेक अरु आरोही फर्किसकेको तथा आरोहण पनि टुंगिएको उनले बताइन् ।

यो वर्ष करिब साढे ६ सय आरोहीहरु सगरमाथा शिखरमा पुगेका छन् । आरोहण अनुमति लिएका ३८१ सहित उनीहरुका सहयोगी शेर्पा र अन्य स्टाफसमेत गर्दा यो संख्या निस्किएको हो । यो संख्या इतिहासमै सबैभन्दा ठूलो हो ।

यो पनि पढ्नुहोस् :  एभरेस्ट बेसक्याम्पमा स्वर्गको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment