+
+
Shares
ब्लग :

एउटै पीडाका अलग कहानीहरू

जिन्दगीलाई आज कि भोलि भनेर अस्ताउन पर्खिबसेको देशको सबैभन्दा पाको, अनुभवी र महत्त्वपूर्ण पुस्ता आज एकै पीडाका अलग कहानीहरू भएका छन् ! र यसमा बहस नहुनु आजको राजनीतिक र वैचारिक विडम्बना हो।

सुमन भट्टराई सुमन भट्टराई
२०८२ असार १८ गते १४:४५

गाउँमा, साँझ–बिहान बालिने दियो नै मेरो हजुरबुबा, हजुरआमा पुस्ताको समग्र उज्यालो हो। त्यही साँझ–बिहानको बत्तीको मायाले नै उहाँहरूका पाइताला गाउँमै अडाइराख्छन्। अँध्यारो चिर्न शहर झर्ने सन्ततिसँग अघि सर्न यत्ति उज्यालोले उहाँहरूलाई छेकिराख्छ।

आँगनमा तुलसीको मठ ओइलिनु जिन्दगी ओइलिनु सरह हो। जिन्दगीमा कत्ति रस नभएर, दुःखैदुःखको काँडाबीच ओइलिनुपर्ने नियति भोगेर पनि उहाँहरूको जिन्दगीको दु:खेसो तुलसी मौलाउनुमा सबै अस्ताएर जान्छन्।

अस्ताउनै लाग्दा, उहाँहरूको पुस्तालाई गाउँघरकै डाँडामा अस्ताउन मन हुनु स्वाभाविक नै हो। जुनीभर बगाएको पसिना, सुख–दुःख, खुसी, विरह साटासाट गरेको पाखापखेरो र थातथलो छोड्नु, आफैंले आफैंलाई छोड्नु सरह न हो। र पनि जिन्दगीको उज्यालो, विश्वास र आफैंसँग जोडिएको टुक्रा छोडेर सन्ततिसँगै शहर बसाउने धेरै नै छन्। र खण्डहर जस्तो: भग्नावशेष जस्तो बाँचिराखेको गाउँमा जीवन र दुःखसँग बुढेसकालको सम्झौता गरी बस्ने पनि उत्तिकै छन्।

शहर बसाइँ झर्ने र गाउँमै छोडिएर गाउँमै बसोबास गर्नेको तथ्याङ्क सरकारी ढाँचाहरूले देलान् ! तर गाउँ छोड्नुपर्दाको पीडा, ओझेल परेर खसेका आँसुहरू, ती मनदुखाइ, सन्ताप र सम्झनाका हिर्काइहरूको दुखाइको न कसैले तथ्यांक दिन सक्छ, न कसैले अनुभव गर्न सक्छ! गाउँमै छुटिनेहरूको सास, छटपटी र बदलिंदो समाजको पाको पुस्तामा पर्ने असर, त्यसले जोड्ने नीरसता, निराशा र मानसिक उल्झनहरूको हिसाब न कसैले राख्न सक्छ।

आज नेपालको हरेक प्रदेशका हरेक जिल्लाहरूमा बसोबास गर्ने हाम्रो हजुरबुबा-हजुरआमा पुस्तालाई यसै समस्याले जोडेको छ। जिन्दगीलाई आज कि भोलि भनेर अस्ताउन पर्खिबसेको देशको सबैभन्दा पाको, अनुभवी र महत्त्वपूर्ण पुस्ता आज एकै पीडाका अलग कहानीहरू भएका छन् ! र यसमा बहस नहुनु आजको राजनीतिक र वैचारिक विडम्बना हो।

पाको पुस्तापछि, कान्छो पुस्तातिर झरौं ! मेरो पुस्ता र मेरै कुरा गरौं। नाम नलेखौं ! आज राज्यसत्ताको चाबी जसको हातमा छ; उहाँहरूको बेलाबेला छापामा देखिने लेख-टिप्पणीहरूमा, सामाजिक सञ्जालका टिप्पणीहरूमा, कहिलेकाहीं सदनका अभिव्यक्तिहरूमा, सडकमा गरिएका उग्र भाषणहरूमा, सार्वजनिक मञ्चका वक्तव्यहरूमा र मिडिया अन्तर्वार्ता र एकाध किताबहरूमा, उहाँहरूका संघर्ष, अन्याय विरुद्धको लडाइँमा गरेको त्याग, बलिदान र दुःख–कष्टको सम्झनाहरूमा उहाँहरू बेलाबेला भावुक भइराख्नु हुन्छ। हामीलाई आफ्नो संघर्ष र कष्ट सम्झाइराख्नु हुन्छ।

निरंकुश राज्यसत्ता विरुद्ध लड्नुपर्ने हिजो समयको माग थियो। तपाईंहरूको संघर्ष प्रशंसनीय छ। तर बितेको जेल जीवन र द्वन्द्वकालीन समयको बलिदान हजुरहरूले भावुक भएर सम्झिरहँदा, हाम्रो पुस्तालाई हजुरहरू बिर्सिरहनुहुन्छ। आजको हाम्रो जीवन के जेल जीवन भन्दा कम संघर्षशील छ?

देश छोडेर बाहिरिनुपर्ने नियति अब हाम्रो रहर र बाध्यताको अन्तर नै मेटिएर अनिवार्यता हुन आँटिसक्यो। हजुरहरू ताप्केबाट उम्कनुभयो तर शर्तमा हाम्रो पुस्तालाई भुंग्रोमा खसालिदिनुभयो।

हिजोको दिनमा हजुरहरूले गरेको संघर्ष अनिवार्य थियो। त्यसको लागि हाम्रो पुस्ता हजुरहरू प्रति ऋणी छ। तर तपाईंहरूले शासन गरेको यो राज्यले हाम्रो खुशी खोसेको छ। मुस्कान हडपेको छ। एकैछिन सोच्नुस् त; आज हजुरहरूको शासन व्यवस्थाको अकर्मण्यताकै कारण, हाम्रो पुस्ता आज बाउआमासँग साथमा छैन। साथमै रम्ने साथीभाइको सामीप्यतामा छैन।

गाउँ साथमा छैन। आफ्नो घरपरिवारको सुख–दुःखमा साक्षी हुन नपाउने नियतिको चोटको दुखाइमाझ हाम्रो पुस्ता मुस्कुराउनु परेको छ। त्यसैले यो राज्यले हाम्रो प्रेम खोसेको छ। घर, परिवार, मित्रता र समाज खोसेको छ।

देश छोडेर बाहिरिनुपर्ने नियति अब हाम्रो रहर र बाध्यताको अन्तर नै मेटिएर अनिवार्यता हुन आँटिसक्यो। हजुरहरू ताप्केबाट उम्कनुभयो तर शर्तमा हाम्रो पुस्तालाई भुंग्रोमा खसालिदिनुभयो।

राज्यले उपयुक्त संरचनाहरू बनाउन नसक्दा, हाम्रो पुस्ताले गुमाउनु परेको हाम्रो क्षमता, योग्यता, रहर, चाहनाहरूको हिसाबकिताब कसैले दिन सक्ला ? आज बन्न नसकेका कैयौं पारस खड्काहरू अरबको गर्मीमा रहर पग्लिएको हेर्दै होलान् ! आज बन्न नसकेका कैयौं वैकुण्ठ मानन्धर, विमल घर्ती मगरहरू कतै युरोपको प्राचीन शहरहरूमा आफ्ना नयाँ सपनाहरू तुहेको टुलुटुलु हेर्न बाध्य होलान्।

कसलाई के थाहा? नयाँ नारायणगोपालहरू आज कुनै विरानो मुलुकमा विरानो भाषामा पीडा गुनगुनाउँदै छन्। जीवनको सबैभन्दा ऊर्जावान् उमेरमा आफ्नो जीवनको सारा स्वादहरू बिर्सेर नयाँ भाषा र नयाँ भेष सिक्नुपर्ने बाध्यता जुन हाम्रो पुस्तामा आइपरेको छ ? यसको लेखाजोखा कसले गरिदिने ?

आज, विदेशिनेको तथ्यांक राज्यसँग होला। बाकसमा फर्किआउनेको तथ्यांक राज्यसँग होला। तर हामीले भोग्नुपरेको मानसिक पीडा, छुटाउनु परेको गाउँघर, साथीभाइ, इष्टमित्र, प्रेम, समाज र समग्रमा जिन्दगीको मूल्य कसले चुकाइदिने? आज हामीले परदेशको विरानो शहरहरूमा निद्रालाई किस्तीमा राखेर देशलाई बनाउने सपना देख्नुपरेको छ।

र हाम्रो पुस्ताको यो वैरागको जिम्मेवार मूलधारको राजनीति गर्ने शीर्षस्थ नेता र दलहरू हुन् ! हजुरहरूलाई शायद यो कुराको चेत छ ? छैन होला ! तर हाम्रो अभिशापलाई बेवास्ता गर्ने हजुरहरूलाई पाप लागोस्। यो पुस्ताको आँसु लागोस्।

र, आउने पुस्ताको भविष्य पनि अन्योल उन्मुख नै छ। भर्खरै स्कुल हिंड्दै गरेका कलिला सम्भावनाहरूको अवस्थाको चासो शीर्षस्थ नेताहरूलाई शायद छैन। अब जन्मने पुस्तालाई प्रविधिसँग हुर्कनुपर्नेछ। चलायमान शिक्षा प्रणालीले भावी पुस्तालाई युगसुहाउँदो शिक्षा देला ? यसमा बहस खै? एआई र टेक्नोलोजीको युगमा हाम्रो तयारी खै ? भावी पुस्तालाई यथेष्ट प्रविधिको पहुँच र विकास खै ?

हामी जुन पीडाको अन्धकाररूपी सुरुङमा बाँच्ने तरखरमा छौं, यो राज्यले भावी पुस्तालाई त्यतै धकेलिदिने ध्याउन्नमा छ। नेपाली समाजको अवस्था, चरित्र, सामाजिकता, यसको स्वरूप र विशेषताहरू बदलिंदैछ। पक्कै पनि आउने पुस्ता अब चुङ्गी, गुच्चा र लुकीडुमहरूबाट हुर्कने छैन ! हामीले भोगी बाँचेका कैयौं सुखदुःख अब अलप हुँदै छन्।

यो फ्रेस पुस्ता : यो नयाँ पुस्ता नयाँ सामाजिक संरचनामा जन्मँदै र हुर्कंदैछ। उसका भावी चुनौती झन् जटिल र नयाँ हुनेछन्। प्राकृतिक विपत्तिदेखि व्यक्तिगत आपत्तिहरू झन् उसका विषम हुनेछन्। राज्य व्यवस्थाको यही गतिमा, आउने पुस्ता हामीभन्दा पछाडि पर्नेछ ! र पनि नेतृत्व अक्षम, बेपरवाह र निर्लज्ज छ।

स्पष्ट छ: हाम्रो जनशक्ति र उपलब्ध स्रोत नयाँ पुस्तालाई उपयुक्त छैन। ठूलो कुरा छोडौं: समयमै पाठ्यपुस्तक उपलब्ध गराउने समस्यासँग अझै हामीहरू जुधिरहेछौं। नेतृत्व र सो वरपरका विज्ञको चासो र बहसमा खै यो समस्या ? हामी हरेक क्षेत्रमा चाहिने कुरालाई पर र नचाहिने कुरालाई वर भइरहेछौं।

त्यसैले दुईचार कापी–किताब झोलामा बोकेर स्कूल धाइरहेका नानीबाबुहरूलाई जबजब देख्छु, कलिलो काँधमा पासपोर्ट भिराउन समयले बाटो मात्रै कुरिरहेको छ कि जस्तो लागिरहन्छ। अतुलनीय सम्भावनाबाट खोसिन तयार छ आउने पुस्ता ! लाग्छ, भविष्यले चियाइरहेछ, त्यस्तै एउटा कहानी थपिदिन। एकै पीडाको अर्को कहानी थपिदिन। फलतः हामी राजनीतिक दुर्दशाका कारण देशका सबै पुस्ता आज भँगालोमा छौं। हामी सबैलाई पीडाका कहानीले मात्रै जोडिराखेका छन्।

यसरी यो देश चलाउनेहरूको अकर्मण्यताले आज हामी बीचको सबै अन्तर मेटिदिएको छ। अब हामीलाई कुनै भूगोलको भेद छैन। हाम्रो धर्म, वर्ण, लिंग र हाम्रा व्यक्तिगत विचार दर्शनको सबै घेरा र सीमा मेटिदिएको छ। हाम्रो ज्ञान, अनुभव र शिक्षाको मूल्य अब सबैको एकै हो।

नेपालमा जन्मे–हुर्केका हामीबीच अब कुनै अन्तर बाँकी छैन। हामी र हाम्रो आउने पुस्ता अब केवल कहानी हौं। एकै पीडाका अलग कहानी ! मात्र त्यति।हामी पासपोर्टमा सपना र भिसाको स्ट्याम्प ठोकेर उड्न बाँकी कहानी मात्र हौं। हामी गाउँ र शहरका न्यास्रोलाई झोलामा पोको पारी सीमापारिका रेलका डिब्बाहरूमा गुड्न बाँकी कहानी मात्र हौं। हामी हाम्रा वैध सपनाहरू डुब्ने पीरले, कुनै अवैध तरिकाबाट दूरको समुद्र माथि पानीजहाजमा तैरिन बाँकी कहानी मात्र हौं !

र; यसको विडम्बनाको हिसाबकिताब राज्य सञ्चालन गर्ने शीर्षस्थ दल, नेताहरू र ती आसपासका समस्त राजनीतिक र वैचारिक घटकका ‘अमान्यनीय’हरूले हामीलाई दिनुपर्ने कि नपर्ने?

त्यसकारण, तपाईंका राजनीतिक दुःख भरिएका कहानीहरूभन्दा हाम्रो दिनदैनिकी कैयौं गुणा कष्टकर छ। तपाईंहरूको संघर्षले, जेल संस्मरण लेख्दा शोभा बढाइदेलान्। तपाईंको आत्मकथा लेख्दा किताबको वजन बढाइदेलान्। राजनीतिक मञ्चमा तपाईंहरूका बलिदान र त्यागको वर्णनले ताली बढाइदेलान्।

तपाईंहरू आफ्नो स्वास्थ्य समस्यालाई आज रोमान्टिसाइज गरेर माइकमा बताइरहनुहुन्छ। हजुरहरूका सारा त्याग, अठोट, साहसलाई सदा सलाम ! सदैव अभिवादन। तर तपाईंहरू यत्ति बुझ्नुहुन्न, तपाईंले देश–विदेशका नामी अस्पतालमा उपचार गरेर स्वास्थ्य अवस्थालाई रोमान्टिसाइज गरिरहँदा, गाउँ देहातमा जनता सिटामोल नपाएर कतै अकालमै खसिरहेछन्। तपाईंको थालमा मार्सी राखेर फोटो खिचाइरहँदा, देशको कुनाकाप्चामा अन्नलाई संघर्ष गर्ने जनतालाई सधैं बिर्सनुहुन्छ।

गाउँ सोच्न हजुरहरूलाई टाढा होला, महानगरमै रात–दिन काम गर्ने मजदुरहरूलाई एकैचोटि बुझिदिनुस्। आखिर हाम्रा दाजुभाइहरू अन्नकै जोहो गर्ने क्रममा कति जना जम्मू कश्मीरमा शहीद हुनुभएको छ। हाम्रो नियतिलाई नेतृत्वले कहिले बुझिदिने?

तपाईंहरू हेलिकप्टरमा देश दौडाहा गर्दा कर्णालीका कच्ची सडकहरूलाई बिर्सनुहुन्छ। मृत्युमार्गलाई बिर्सनुहुन्छ जहाँ मोड-मोडमा मृतकको सम्झनामा राखिएका स्मृतिका मानकहरूले देशको दुर्दशाको चीत्कार गरिरहेछन्।

आफ्ना सन्ततिको दीक्षान्त समारोहमा; अमेरिका, अस्ट्रेलिया जस्ता देशहरूमा उपस्थिति जनाएर तस्वीर खिचाइरहँदा कर्णालीका कलिला सम्भावनाहरूलाई हजुरले बिर्सनुहुन्छ। जो कति स्कूलसम्मै पुग्दैनन्। पुग्नेहरू धुलाम्मे सडकमा पूरै धूलोले ढाकिएर पुग्छन्। एकचोटि तिनका धूलो टाँसिएका पहिरन हेर्नुस्। तिनका निश्छल नयन हेर्नुस्।

सीमा वारपार गरी धन र धान भित्र्याउन मौसम जुराएर पहाड आइपुग्ने गठिला शरीरका कोमल हृदय एकचोटि छोइहेर्नुस् ! तपाईंलाई तातो भातले गिज्याउन थाल्छ। तपाईंका सुविधाहरूले चिढ्याउन थाल्छन्। अत: यी सबै बुझेर पनि बुझपचाउन सक्ने तपाईंहरूको हृदयमा कीरा परोस्।

एकैचोटि उदासीन मुहारहरूको साहित्य पढिदिनुस्। तिनका विरहका भाका सुनिदिनुस्। आज हरेक नेपाली स्वतन्त्र भएर पनि कैद छ। दुःखको बन्धनमा छ। बिन्ती एकैचोटि : ती आँसुको नुनिलोपनको स्वाद बुझिदिनुस्। मौका छ… बिन्ती छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?