
१८ असार, हेटौंडा । बाममती प्रदेश सरकारले पहिलो पटम अनुशासित र मर्यादित रुपमा सवारी सञ्चालन गर्ने चालकहरुलाई सम्मान गरेको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उत्कृष्ट चालक र सहचालक सम्मान कार्यक्रमअन्तर्गत् आज १८ असार बुधवार १५ जना चालक र सहचालकलाई सम्मान गरेको हो ।
श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायण यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनालले चालक, सहचालकलाई सम्मान प्रदान गरेका थिए ।
सम्मानित १५ जना चालक, सहचालकमध्ये तीन जना महिला चालक छन् । चालकहरु नवीना खड्का, सरिता गौतम, जानुका गौतमसहित यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा सम्मानित भएका हुन् ।
उनीहरुलाई जनही १५ हजार नगद प्रदान गरिएको श्रम, रोजगार तथा यातायात महाशाखा प्रमुख सुनिता गजुरेलले जानकारी दिइन् । चालकहरुको छनौट नारायणी यातायात व्यवसायी संघ, हेटौंडाले छनौट गरेको छ ।
संघले गरेको मूल्यांकन, छनौट र सिफारिसलाई मन्त्रालयस्तरको मूल्यांकन समीक्षा समितिले समीक्षा गरी सम्मानित हुने चालक, सहचालकको नामावली टुंगो लगाएको थियो ।
लामो रुटको चालक उत्पादन घटेकोमा चिन्ता
लामो रुटको चालक उत्पादन घटेकोमा चिन्ता व्यक्त गरिएको छ । श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले लामो रुटको चालक उत्पादन घटिरहेकोले मन्त्रालयले प्रोत्साहन कार्यक्रम ल्याएको बताए ।
चालकहरुको प्रोत्साहनकै लागि सम्मान कार्यक्रम राखिएकोले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि लामो रुटको चालक उत्पादन गर्न बजेट बिनियोजन गरिएको बताए । लामो रुटको सवारी चालक बुढापाका भएर विदा भएपछि नयाँ युवाहरु उत्पादन हुन नसकेको उनको चिन्ता थियो । उनले महिला चालकहरु उत्पादनमा पनि मन्त्रालयले तालिमलगायतका कार्य गरिरहेको बताए ।
उनले व्यवसायलाई मर्यादित पेशा बनाउनुपर्नेमा जोड दिए । लामो रुटको चालक उत्पादनका लागि मन्त्रालयले बजेट व्यवस्थापन गरेको बताए । ट्राफिक नियमको पालना गरेर सवारी सञ्चालन गर्न चालकहरुले अनुरोध गरे । यात्रुहरुको गुनासाको सम्बोधन हुने गरी सुरक्षित यात्राको प्रत्याभूति दिलाउनुपर्ने चालकहरुको दायित्व रहेको मन्त्री महर्जनले बताए ।
प्रतिक्रिया 4