Comments Add Comment

एभरेस्ट बेसक्याम्पमा स्वर्गको अनुभव

शीर्षकमा स्वर्ग शब्द झुण्ड्याइयो । तर, स्वर्ग कस्तो छ न तपाईंलाई थाहा छ न मलाई । तैपनि अन्त्यतै खुसी दिने कुनै ठाउँ फेला पर्‍यो भने स्वर्ग जस्ता काल्पनिक शब्दकै साहारा लिनुपर्छ । मैले पनि लिएँ, यसका लागि सुरुमै क्षमा चाहन्छु ।

सर्वोच्च शिखर सगरमाथाको नाम लिएर आफूलाई चिनाइरहने नेपालीहरु संसारभरि नै छरिएका छन् । तीमध्ये कमैले त्यो सगरमाथाको टुप्पो होइन, फेदमा समेत पुग्ने अवसर प्राप्त गरेका होलान् ।

जुन दिन म एभरेष्टको फेदमा पुगिनँ, मलाई पनि यो आउनैपर्ने स्थान हो भन्ने लागेको थिएन । तर, भ्रमण पश्चात म आफूमाथि नै प्रश्न ठड्याउँदैछु- योपटक पनि बेस क्याम्प नपुगेको भए ?

हुन त बेस क्याम्प पुग्ने मेरो आजको सपना होइन । सायद बेसक्याम्प सपनाकै कारण गुगल र युट्युवमा धेरै कुरा केही वर्ष अघिदेखि खोज्न थालेको थिएँ । तर, प्रत्येक सामग्रीमा कुनै न कुनै कुरा फरक-फरक सूचना बोकेर आउने भएकाले ‘कन्फ्युज्ड’ हुन थालेँ । अनि जति ‘कन्फ्युज्ड’ हुन्थेँ, त्यति नै बेसक्याम्प पुग्ने सपना बलियो भएर आउँथ्यो ।

काठमाडौमा दसैं र तिहारको बीचको समयमा भिडभाड केही कम हुन्छ र पर्यटकीय सिजन पनि सुरु हुन्छ । विदेशबाट आउने साथीभाइहरुको भेटघाटको मुख्य समय पनि यही हो । यही समयलाई सदुपयोग गर्दै कात्तिक २९ का दिन लुक्ला उड्ने समय किटान गरियो । त्यसअघि नै इन्टरनेटमा जाडो  र उकालोका लागि सामग्रीहरु किनियो ।

इन्टरनेटमा पनि अमेरिकी अमेजन डटकम हिमाल आरोहणका लागि भरपर्दो सामाग्री पाइने स्थल हो भन्ने थाहा पाएपछि मूल्यको चिन्ता नगरी सामान झिकाइयो । एक महिना अगाडिबाटै ट्रेनिङ् पनि सुरू गरियो । अझ यात्राका लागि बचत भन्दै खुत्रुकेमा रकम खसाल्न थालेको धेरै भैसकेको थियो । शरीरलाई तन्तुरुन्त राख्न दैनिक १२ किलोमिटरका दरले बिहानै हिँड्ने काम एक वर्षदेखि नै सुरु गरिएको थियो ।

बिहान अबेर काठमाडौंबाट जहाज ढिलो उडे पनि लुक्ला पुग्दा चिसोले दिउँसो भएको संकेत दिँदैनथ्यो । प्लेनबाट उत्रनेवित्तिक्कै सेल्फी हान्न हतारिएको देख्दा एयरपोर्टको गेट वरिपरि हामीलाई हेरिरहेका साना नानीहरू, रमिते, भरिया र गाइडहरू हाँसिरहेका थिए ।

सबैलाई आफ्नै आवश्यकता र इच्छाले समातेको हुन्छ । हामी यात्रामा निस्कँदा यता भने रोजगारीको साधन जुटिरहेको थियो । सायद जीवन भनेको यही त होला नि ।

हाम्रा गाइड निर्जराज कुलुङ हामीलाई नै कुरेर बसेका रहेछन् । यसअघि कहिल्यै भेट नभएकाले एक अर्कालाई चिन्न निक्कै गाह्रो पर्‍यो । एक जमानाको च्याटफ्रेण्डजस्तो ‘तिमी कस्तो लुगामा आउँछौ, ?’ भनेर नसोधिएकाले हुन सक्छ, केही दुःख पाइयो ।

बिहानको खाना खान कुलुङ् भाइले लुक्लाको प्याराडाइस होटेलमा लगे । सादा खान खाइयो । जिउको ३५०, जम्मा १४ सौ तिरियो । भारी मिलाइयो र लुक्लाको बजारलाई छिचोल्दै लागियो ओरालो बाटो ।

अलि मास्तिर पुगेपछि उकाले बाटो आयो । एकजोडी तन्नेरीहरू अँगालो मार्दै चौतारीमा गीत गाउँदै थिए,- ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा…

बाटो भने मज्जाकै लाग्यो । हल्का उकाली र अनि दमसाइलो ओरालो । हातमा हात बाँधेर गफ गर्दै हिँड्ने खाल्को बाटो । बेलाबेलामा हामी हिँड्ने बाटो दूधकोशीको किनार छेउ पुग्थ्यो । अनि त बाटोमुनि बग्ने दूधकोशीको छाल र सुसाईले बहकाउँथ्यो हाम्रो मन । म भने बच्छे बाजा निकालेर बजाउथे बेला बेला ।

छोप्लुङमा बिसाएर पानी पिउँदै पेट दुखेको दबाई खाएँ । काबुलको पानी, काठमाडौंको पानी र लुक्लाको पानीको असर पेटले थेग्न सकेन । बाटाभरिको मनोरम पाखा, हिमाल र यात्रुहरूको ताँती आदिमा रमाइलो मान्न दिइरहेको थिएन पेट दुखाइले । त्यैपनि बेवास्ता गर्दै म रमाइरहेको थिएँ ।

अलि पर पुगेर सोलुखुम्बुको चौंरीखर्कमा डबल डाइमण्ड क्याफेमा भेज चाउमिन खाइयो । प्रतिप्लेट २ सय ५० रहेछ । त्यसपछि हामी फाक्दिङतर्फ लाग्यौं । दायाँ र बायाँका बडेमाका चुचुरे पहाडहरू ओसिला आकाशको बादलसँग साउती गरिरहेका थिए । पानी वर्षाऊँ कि हिँउ भन्दै ।

त्यो दिन नाम्चे पुग्नै सकिएन । चौंरीखर्क १, को बेन्करको होटल वाटरफलमा गएर बास बसिने भइयो ।

अलि मास्तिर पुगेपछि उकाले बाटो आयो । एकजोडी तन्नेरीहरू अँगालो मार्दै चौतारीमा गीत गाउदै थिए,- ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा…।’

‘हाम्रो त आङ्गा (आँखा) ले देखेना, चढ्यो कि चढेना चुचुरा ।’ हामीले गिज्यायौं ।

कुनैबेला शेर्पाले जब सगरमाथा चढे, गर्वको गीत रचियो । तर, त्यहीँका अरु जातिले डाहा गरेर ‘आङगा…’ भन्ने गीत बनाए रे ।

मैले अर्को किस्सा पनि सम्झिएँ-

तेञ्जिङलाई जब पत्रकारहरूले प्रश्न गरे,- ‘कतिपल्टको प्रयासमा चुचुरामा पुग्न सफल हुनुभयो ?’

तेञ्जिङलाई खस नेपाली बोल्न आउँदैनथ्यो, कठिनसाथ भने रे- चर्हयो- झर्‍यो, चर्हयो-झर्‍यो, चर्हयो…।’

अरुले नै थपिदिए,- ‘झर्‍यो’ । तब तेञ्जिङ रिसाए,-‘झरेना, चर्हयो ।’

यसको मतलब, तीनपल्टको प्रयासमा सगरमाथा चढ्न सफल भएका थिए ।

समाचारमा एडमन हिलारीले पहिलोपल्ट सगरमाथा चढेको र साथमा तेञ्जिङको चर्चा भयो । तर, वास्तविकता पर्यटकभन्दा हरठाउँ गाइड अगाडि पुगेको हुन्छ । यसैले केही नेपालीहरूले तेञ्जिङलाई उक्साए,-‘चुचुरामा हिलारीभन्दा तिमी पहिले पुगेका हौ ।’

म गोडा पखालेर सुतिहालें । झरनाको पानी रातभरि कानैनेर छचल्किरहृ्यो बेस्कन । कानलाई सञ्चो भए पनि नाकलाई भने सार्‍है बिसञ्चो भइरह्यो ।

निर्जराजको मोजाबाट आउने गन्धले लेक लाग्ने मातभन्दा अरू बढी होलाजस्तो भयो । रुमालले नाक ढाकेर निदाएँ ।

यात्रामा जतिसक्दो धेरैबेर सुतियो भने ज्यानमा धेरै तागत भरिन्छ भन्ने मेरो मान्यता छ । मित्रहरू भने कुनै मान्यताविहीन दुई बहिनीहरूसँग टाप कसेछन् स्थानीय साँस्कृतिक कार्यक्रम हेर्न अलि तलको स्कुलमा ।

बिहान पो सुनाए । सिलौटामा आलुबखडा किच्याएजस्तो किच्याउन नमिल्ने । आˆनै नजिकका मित्रहरू परे क्यार ।

बिहान ब्यान्करमा छ बजे उठेर एककप चिया पिएर यल्जी बहिनीको सौहार्दतालाई त्यहीँ छाडेर हामी ओरालो लाग्यौं नमिलेका ढुँगामा गोडाहरू तन्काउँदै ।

झप्के (लेकको याक र औलको गाईको ठेम्सिन) खच्चडको ताँती र यात्रुहरूको हिँडाइले भीरमा बनेको फराकिलो बाटो पनि साँघुरो भएको थियो ।

तिनीहरूको घाँटीमा झुण्डाइएका घण्टीको आवाज र ड्राइभर (उनीहरूलाई लिएर हिँड्ने मान्छे) को ‘होइहोइ’ गर्दै कराउने आवाजले वन जङ्गल बिउँतिएको भान हुन्थ्यो ।

बाटामा जोगिँदै/चेप्टिँदै जोरसल्लेमा पुगियो । होटलवाला विजय तामाङले तातोपानी, मिल्क टी र पिरो थुप्का बाँडे । खाजाको १७५० तिरियो र लागियो दोभानको उकालो । स्वर्ग जाने उकालो भन्दै लागियो भर्‍याङजस्तो बाटो ।

तोपडाँडामा पुगेपछि सगरमाथाको पहिलो दर्शन पाइयो । नाम्चेमा पुगेर बजार घुमियो ।

नाम्चेको सगरमाथा नेसनल पार्क

त्यो बेलुकीको बास केन्जोङ्को अमादाब्लाम होटेलमा भयो । सोलरपावरबाट सञ्चालित तातोपानीमा दुःखेको ज्यान खलल नुहाइयो रु २ सय तिरेर ।

बाथरुमको ढोकासम्म चप्पल ल्याइदिने बहिनीको नाम सोधें । सीता भनिन् । अर्की बहिनीले शेर्पा चिया बाँडिन् । उनको पनि नाम सोधें । उषा रे । कुलुङले शेर्पा चिया पकाएर हो कि ?  चिया कस्तो नमिठो थियो ।

चिम्नीमा आगो ताप्तै गफ गरियो उनीहरूसँग । थकान मेटियो । कहिलेकाहीं सोच्दछु,- यो दुनियाँमा स्त्री नभए कति पट्यारलाग्दोे दुनियाँ हुँदोहोला ?

सुत्ने समयमा त्यो होटेलमा काम गर्ने सबै सदस्यहरू त्यहीँ  जिउ रपाएर सुत्न तर्खर गर्न थाले । उनीहरू सबै त्यहीँ डाइनिङ हलमा नै सुत्ने रहेछन् । दुई ठूला-ठूला घरहरूमा कोठा हुँदाहुँदै पनि कामदारहरूले डाइनिङ हलको चिसो भुईंमा सुत्नुपर्दा मलाई पो नमीठो लाग्यो । न्यानो कोठाको गद्दावाल बिस्तारामा मेरो जीउ चिसोले चहर्‍याएजस्तै लागिरह्यो । यहाँको चिसो सिरेटोले भन्दा यस्तो अमानवीय व्यवहारले मन एकदम नमीठो भएर कुँडियो ।

मध्यरातपछि सास फेर्न अलि अप्ठेरो भयो मलाई । लेक लाग्छ भन्थे हो र’छ । काठमाण्डुमा दाजु-भाउजूले लसुनको अचार झोलामा हालिदिनुभएको थियो, त्यसको झोल एक चम्चा खाएपछि म सिरानी अलि ठाडो पारेर ढल्कें, जसले गर्दा श्वास प्रश्वास सजिलो भयो ।

रात जसोतसो काटियो ।

इम्जा खोला सेतै भएर तल छङ्छङ् गर्दै बग्दै थियो । खोप्चोमा परेकाले यो ठाउँ ओशिलो थियो ।  त्यैमाथि मैले बच्छे बाजा बजाएर कफी पिउँदै बाटामा भेटेका टुरिष्टसँग नाच्न थालें । मेरो धुनसँगै विदेशीले नेपाली गीत गाउन थाले, लेसम पिरिरि… (रेशम फिरिरि) । धेरै त नाच्ने शक्ति भए पो । हामी छुट्टयिौं ।

तेङ्बोचेको उकालो चढ्नु थियो, थुक्पा चिया खाएर । तीनजनाको १९०० तिरेर लागियो तेङ्बोचे ।

घाम अस्ताउन थालिसकेको थियो । पुग्न झण्डै एकघण्टा भन्दा बढी लाग्ने हुनाले निर्जराज अलि चाँडो हिडौं है सरहरू भन्दै अगाडि बत्तिए । मैले अलि पर पुगेर बल्ल भेट्टाएँ । हामी गएर होटल बुक गर्नु पर्छ, नत्र डाइनिङ हलमा सुत्नुपर्ने हुन्छ सोम्रेमा भनेर उनी हतारिँदै थिए ।

मलाई राति एक्कासी सास फेर्न गाह्रो भएर आयो हिजोजस्तै । अत्तालिएर ब्युझिएँ । यो दुईरातभन्दा अगाडि यस्तो कहिल्यै भएको थिएन । झ्याल ढोकाहरू ठप्प थुनिएका रहेछन्, खोलें । लसुनको एक पोटा टोकें कुटुक्क । मुख रसाउन थाल्यो । साथीहरू पल्लो कोठामा पनि छटपट गर्दै थिए । ढुक्क लाग्यो, ज्युँदै रहेछन् !

एकछिन बाहिर हावा खान निस्कें । अमादाब्ला हिमाल मध्यरातमा पनि हाँसिरहेकै थियो । सबैभन्दा अचम्म त मलाई के लाग्यो भने आकाशका ताराहरू यत्ति चम्किला र बाक्ला ।

अल्पाइन होटलबाट सबेरै उठेर गोरपसिपतर्फ प्रस्थान गर्‍यौं ।

थामासेर्कु हिमालले चियाई रहृयो हामीलाई । हामीले पनि त्यो दिनको भर्जिन मुस्कानले सलाम गर्‍यौं । ‘तिमी हामी त नजिकका नातेदार हौं नि’ भनेजस्तै लाग्यो । किनकि हामी विदेशी थिएनौं ।

त्यसपछि उकालो लाग्यौं विस्तारै । कालापत्थर होटेलका भान्से नगरकोटबासी रबिन तामाङ रहेछन् । गफिँदै बनाइदिए कालो चिया । उनी उतातिर पैसा कमी हुने भएकाले घर छाडेर यता आएका रे ।

मस्तको उकालो बाटोले पसिना निकाल्यो । अशीम भाइ पहिलाको बर्ष भन्दा निक्कै घटेछन्, नत्र मेरो भन्दा ज्यान भद्दा देखिन्थ्यो । त्यसैले होला, उहाँलाई भने उकाली-ओराली गर्न त्यत्ति धौ धौै परेको देखिएन । बोकेको हाइकिङ् स्टिक पनि झोलामा घुसारेर तन्नेरी पाराले हिँडे ।

ओडार, खोल्सा, भीर र जंगल मज्जाले छिचोलियो त्यो दिन । आँकाला दाइले पनि भरपुर कोशिस गरे हिँड्नमा । उनले बोकेको थर्मसको तातोपानीले भने कमाल नै गर्‍यो ।

करिब दुई घण्टा हिँडेर राईभाइको ‘अल्पाइन’ होटलमा आएर बास बसियो । साविकझैँ दालभात तरकारी खाएर रात गुजारा गरियो । राति सुतेको सुत्यै भइने हो कि भनेर डराउँदै सुतेकाले रातभरि झस्किँदै ब्युझिन थालियो । पाँचौं रात पनि जेनतेनले गुजारा भयो ।

बिहानै उठेर खानाको जम्मा रु ५१६० तिरेर गोरक सेपतिर लागियो । जुन, हाम्रो अन्तिम होटलको बिसौनी हुने थियो ।

बेस क्याम्प ५३६५ मिटरमा रहे पनि सगरमाथामा लागेको सुनौलो दृश्य हेर्न कालापत्थरको पहाड ५५४५ मिटरको उचाइसम्म जान सकिने गाइडले बतायो । कालापत्थर गएर आएपछि गोरक सेपमै बास बसेर बेसक्याम्प जानु पर्दोरहेछ । तर, हामीसँग पर्याप्त समय हुँदैन । तसर्थ अलिअलि आराम गरेर दुईबजेतिर कालापत्थरको नाक छुने उकालो लागियो ।

५ हजार ५ सय ४५ मिटरमा पुग्न हम्मे नै पर्‍यो । आजसम्मको उकालोमा यो कालापत्थरलाई नै मैले अग्रपंक्तिमा राखें । सुनधुपीको र अन्य लेकका बुट्यानबाट बहने त्यहाँको नौलो बासनादार कडा हावाले हाम्रा इन्द्रीयहरू माते । हामी मात्यौँ । टाउको भनन घुमेझैँ हुन थाल्यो ।

फोटो खिच्ने क्रममा स्पेनका तीन केटीहरूले नाङ्गै भएर फोटो खिचे । त्यसपछि दुईजना केटाहरूले पनि पेन्ट तल झारिवरि फोटो खिचे

देश-विदेशमा चम्किएको कालापथ्थर

एक छिनपछि झन् कडा हावा बहन थाल्यो । त्यो भिरालो पाखाबाट खसिएलाजस्तो भैयो । म एउटा ढुंगाको च्यापमा तेर्सिएर बसें । अरू साथीहरू पनि त्यसै गरेर आड लागे ।

जर्मनी मित्रहरू पनि हाम्रै हुलमा थिए । तर केही मिटर तल थिए । हावाको तिव्र बेगले गर्दा उनीहरू झन् अलि तल झरे, हामीभन्दा तल, ढुङ्गाको कापमा ओत लाग्न ।

हावा केही कम भयो । पुनः वरिपरिका लोभलाग्दा हिमाल, पहाड र यो टाकुराबाट देखिने सबै हेर्‍यौं । हामी उभिएको पहाड फेदीका दुवैतर्फका नामविहीन शान्त तालहरू अति मनोहर देखिए ।

हामीले सगरमाथाको शीरमा घामको अन्तिम प्रकाशले चुमुञ्जेल क्यामराका लेन्सहरू तन्काइरहृयौं, तेर्साइरहृयौं । दिनमा देखिने सेता हिमाल विस्तारै-विस्तारै सुनका ढिक्काजस्ता देखिन थाले ।

घाम गयो । कालापत्थरबाट ओह्राली झर्दा वीचबाटोमा झ्याप्प बत्ती निभेजस्तो अँध्यारो भयो । हामीले हेडलाइट बाल्यौं ।

गोरखसिपमा झरेर मुख्य गन्तव्य भोलीको बेसक्याम्पमा पुग्ने अन्तिम सपना बुन्दै हामी आ-आफ्नो चिसो कोठातिर लाग्यौँ खाना खाएर ।

सदाझैँ बिहानको नरम घाममा हिमालहरूले स्नान गरे । हामी पनि मनतातो चिया मात्र पिएर बेस क्याप्पको यात्रातर्फ उन्मुक्त भयौं ।

अन्तिम दिनको यात्रामा सामानहरू जस्तैः खाजा, सानो थर्मसमा चिया, नक्सा, एकसरो तातो लुगा र ब्यानर पनि बोक्यौं ।

बेसक्याम्प अलिकति समथर भाग रहेछ । त्यहाँ पुगेर केही फोटो र भिडियो विभिन्न मुलुकका मित्रहरूसँग खिचियो । बेसक्याम कटेर अलि परसम्म जाने जमर्को गरियो । तर, सम्भव रहेन । किनकि बरफका चिल्ला चिल्ला, चुच्चे धारिला ढिस्कानाहरू जमीन फोरेर उम्रिएका थिए । त्यहाँ टेक्यो भने कि त चिप्लेर भीरमुनि पुगिन्थ्यो, कि त पछारिएर ज्यान जखम हुन्थ्योे ।

पारिपट्टी सगरमाथा र लोत्से हिमालको कापबाट खसेर झरेका हिउँ पहिरो आएर हिँउखोला हिँउको बगरजस्ता भएका थिए । सन् २०१४ मा १४ जना शेर्पाहरूले यहीँ नै आहुती दिएका थिए, हिँउ पहिरोमा पुरिएर ।

फोटो खिच्ने क्रममा स्पेनका तीन केटीहरूले नाङ्गै भएर फोटो खिचे । त्यसपछि दुईजना केटाहरूले पनि पेन्ट तल झारिवरि फोटो खिचे ।

रमाइलो गर्नु राम्रै हो । तर, यस्ता ऐतिहासिक स्थलहरूमा नांगो फोटो खिच्नु कति सान्दर्भिक हो ? भिडियो, फोटो युट्युबमा राख्नु कति सान्दर्भिक हो ? यो त नेपालको पर्यटन बोर्डले निर्क्योल गर्ने कुरा हो ।

बेसक्याम्प पुगेपछि अर्को संसार

सबैले बोकेका खानेकुराहरू आ-आफ्नो झोलाबाट झिकियो । होटेलमा बनाएर बोकेको निर्जराजले झोलाबाट चिया र कप निकाले । मैले बदाम र काजु बाँडें ।

एकजना जापानी केटी पनि मिसिइन् हाम्रो खाजा खाने खालमा । बदामाको केही दाना र चिया पिइन् उनले । भोक लागेको हुँदो हो, बेसक्याम्पको ५ हजार ३ सय ८० मिटरको उच्चाईमा तातो चिया फ्रीमा पाए कसले नपिउला र ?

मैले जमेको आइसमाथि बसेर चिया पिएँ । जमेको आइसमाथि स्विमिङ खेलेको एक्टिङ पनि गरेर देखाएँ ।सबैका आँखा मतिरै केन्द्रित भए । हामी एकछिन जमेको हिँउमाथि उफ्रियौं ।

मेरो मनमा भने पाँच मिनेट हिँडिसकेपश्चात एक्कासी सानो काम गर्न मन लाग्यो । त्यो थियो बेसक्याम्पबाट दौडेर गोरखसेपसम्म पुग्ने ।

नभन्दै म बिहानको ११ बजेर १५ मिनेट हुँदा कुदेर १२ बजेर १५ मिनेटमा गोरकसेपमा पुगेँ । बिहान हामीलाई साढे दुई घण्टा लागेको थियो भने फर्कंदा एक घण्टा मात्र लाग्यो । त्यो पनि मेरो बेसक्याम्प यात्राको अर्काे बिर्सन नसक्ने सम्झना रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment