+
+
Shares

ड्रोनमार्फत सगरमाथा क्षेत्रको फोहर संकलनमा एयरलिफ्टलाई विवाइडीको साथ

रासस रासस
२०८२ भदौ १८ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथामा पर्यटक र आरोहीहरूको बढ्दो चापले फोहर समस्या सृजना गरेको छ जसले हिमाली पारिस्थितिकीय तन्त्रमा चुनौती खडा गरेको छ।
  • सगरमाथामा फोहर संकलनका लागि ड्रोन प्रविधि प्रयोग गर्दै साइमक्स इंक र एयरलिफ्ट टेक्नोलोजीले एक हजार केजी फोहर संकलन गर्ने लक्ष्य राखेका छन्।
  • ड्रोन प्रयोगले फोहर ढुवानीमा छ देखि सात घण्टा लाग्ने समय एकदेखि दुई मिनेटमा घटाएको छ र यसले जोखिम पनि कम गरेको छ।

१८ भदौ, काठमाडौं ।विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ। नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ।

तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ। जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ।

हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ। विद्युतीय सवारी बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर संकलन गरिरहेको जनाएको छ।

साइमक्स इंकका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर संकलनको लक्ष्यसहित काम गरिरहेको छ। बिवाइडीले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाइ वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर संकलन अभियान सुरु गरेको हो।

उक्त अभियान स्वच्छ ऊर्जाको प्रवद्र्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रूपमा सुरु गरिएको हो र साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक रूपमा यस अभियानमा जोडिएको बताए।

आफूहरूले सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आफूहरुले उक्त अभियान सुरु गरेको उनको भनाइ छ।

‘सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौं, हामी सधैं दिगो विकास र स्वच्छ वातावरणका पक्षमा छौँ र यो अभियान त्यसकै निरन्तरता हो,’ उनले भने।

एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार फोहर संकलनमा प्रयोग हुने ड्रोनहरूले झन्डै १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन्। यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिम घटाउने गरी काम गर्ने अपेक्षा गरिएको छ।

निर्देशक पाण्डेका अनुसार सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहर ढुवानीमा छ देखि सात घण्टा लाग्ने गरेकामा अब प्रविधिको प्रयोगले भने एकदेखि दुई मिनेटमा सम्भव भएको उनको भनाइ छ।

‘विगतका वर्षमा खुम्बु आइफसलमा फोहर थुप्रिँदा ‘रोप फिक्सिङ’ र सामान ढुवानी गर्दा धेरैले ज्यान गुमाएको अवस्था थियो, तर अहिले प्रविधिको प्रयोगले फोहरलगायतका सामान ढुवानी सहज मात्रै भएको छैन कैयौं मानिसहरुको ज्यान पनि जोगिएको छ,’ उनले भने।

उनका अनुसार सगरमाथाको छ हजार एक सय ३० मिटरको उचाइमा रहेको फोहर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन पनि भइरहेको उनको भनाइ छ।

‘हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर संकलन गरेका थियौं, यसपटक साइमेक्स इंकको सहकार्यमा सगरमाथा क्षेत्रबाट दुई सय ८६ केजी फोहर संकलन भइरहेको छ, अब अमादब्लममनास्लुबाट फोहर संकलनको योजना छ,’ उनले भने।

एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहर संकलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको छ।

साइमेक्स इंकका बजार प्रमुख समिर श्रेष्ठका अनुसार गत याममा सगरमाथाको क्याम्प१ बाट ड्रोनको प्रयोग गरी दुई सय ८६ केजी फोहर संकलन भइसकेको छ भने यस याममा थप फोहर संकलन जारी छ।

एयरलिफ्ट कम्पनीले यसअघि सगरमाथा क्षेत्रमा रहेको फोहर सङ्कलन गरेको थियो,’ उनले भने, ‘यसपटक साइमेक्स इंकएयरलिफ्ट टेक्नोलोजी मिलेर एक हजार केजी फोहर संकलन सुरू गरेका छौं।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?