
काठमाडौं । बिजनेस रियलिटी शो शार्क ट्यांक नेपालको पहिलो एपिसोड आज बेलुकी ९ बजे प्रसारण हुँदैछ । हिमालय टिभीबाट प्रसारण हुने यो प्रतीक्षित कार्यक्रमको पहिलो एपिसोडमा के हुँदैछ ? यसबारे अनलाइनखबरले केही विवरण प्राप्त गरेको छ ।
पहिलो एपिसोडमा चार वटा आइडिया पिच हेर्न पाइनेछ । त्यसमध्ये आफूलाई मन परेको बिजनेसमा सार्कहरूले लगानी गरेका छन् । बाँकी अर्थात् चित्त नबुझेका बिजनेसमा उनीहरूले सुझाव पठाएका छन् ।
यो शो हिमालय टिभीमा बुधबार र बिहीबार प्रसारण हुनेछ । शोले नेपाली उद्यमीहरूलाई आफ्ना नवीन विचारहरू प्रस्तुत गर्न र लगानी प्राप्त गर्ने अवसर प्रदान गर्छ ।
पहिलो सिजनमा शार्कका रूपमा आईएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, पद्म ज्योति समूहका अध्यक्ष सौरभ ज्योति, वैद्यज अर्गनाइजेसनकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगारिया शार्कका रूपमा अनुबन्धित छन् ।
शार्क ट्यांकको पहिलो सिजनमा झन्डै १ हजार ५०० बढी उद्यमीले आवेदन गरेकोमा दुई चरणको छनोट प्रक्रिया पार गर्दै ११० वटा कम्पनीले शार्कका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर पाएका छन् ।
हालै मात्र यो शोको प्रवर्द्धनका लागि ‘शार्क ट्यांक इण्डिया’का शार्क तथा बोट कम्पनीका सहसंस्थापक अमन गुप्ता नेपाल आएका थिए ।
शार्क ट्यांक नेपालमा नेपाली उद्यमीहरूले आफ्ना स्टार्टअप, उत्पादन वा सेवाहरू प्रस्तुत गर्छन् र लगानीकर्ताहरू (शार्क्स) ले तिनको व्यवसायिक सम्भावनाको आधारमा लगानी गर्छन् । यो शोले नेपालमा उद्यमशीलताको संस्कृतिलाई प्रोत्साहन गर्ने, नयाँ व्यवसायहरूलाई बजारमा ल्याउने र युवाहरूलाई प्रेरणा दिने लक्ष्य छ ।
प्रतिक्रिया 4