+
+
Shares

मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १५:१०

१८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार सिंहदरबारमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताए ।

उनले भने, ‘हाल हामी नीतिगत र कानूनी काम गरिरहेका छौं । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायतका कानुनी सुधारका कुरामा केन्द्रित छौं । अहिले ९ वटा आवश्यक ऐनहरू हामी अघि बढाइरहेका छौं । संरचनामा काम गर्ने कुरामा हामी लागिरहेका छौं ।’

नेपालको पर्यटनमा लगानी बढाउन निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं ।’

मन्त्री पाण्डेले यसअघि नै पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै कार्ययोजना बनिरहेको बताए ।

उनले भने, ‘भ्रमण दशकको कार्ययोजना निर्माणको अन्तिम चरणमा छौं । यो कार्यान्वयनमा आएसँगै पर्यटनले फड्को मार्ने विश्‍वास लिएका छौं ।’

मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउन मन्त्रालयले निरन्तर पहल गरिरहेकोसमेत बताए ।

उनले भने, “हवाई टिकट महँगो भयो भन्‍ने व्यापक गुनासो आइरहेको छ । यसको सम्बोधनका लागि हामीले निरन्तर पहल गरिरहेका छौं । नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिएको खण्डमा हवाई भाडा समायोजन हुनसक्ने सम्भावना उच्च हुन्छ ।’

मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनअटर विमान सञ्‍चालन गर्न प्रदेशसँग समन्वय भइरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?