१४ जेठ, काठमाडौं ।
‘कत्तिको खुशी हुनुहुन्छ ?’
२४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका कामिरिता शेर्पालाई सोध्दा अप्रत्यासित जवाफ आउँछ, ‘खुशी छैन, म । रेकर्ड बनाउन चढेको भए पो खुशी हुनु । बाध्यताले चढेको मान्छे !’
कामिरिताको मनस्थिति यिनै शब्दहरुबाट झल्किन्छ, तर उनी यत्तिमै रोकिँदैनन् । भन्छन्, ‘सरकारले हिमाल र शेर्पाको नाम बेचेर खाएको छ । हामीलाई हेरेको छैन । अनि के को खुशी ?’
विश्व कीर्तिमानी आरोहीबाट पाएको यो जवाफ धेरैका लागि अनपेक्षित हो । तर, यथार्थ पनि । आफ्नै यथार्थ सम्झिँदा उनमा आक्रोशको भाव उत्पन्न भएको थियो । सत्य लुकाउन मन मानिरहेकै थिएन ।
‘दश-बाह्र पटक हिमाल नचढ्ने कोही छैन हाम्रो ठाउँमा,’ कामिरिता बोल्छन्, ‘हिमालमा जाँदा दुर्घटना परेर केही भयो भने हाम्रो जिन्दगी गयो । जिन्दगीको भरोसा छैन । तर सरकारले अहिले नि हेरेको छैन, पछि नि हेर्दैन ।’
कामिरिताले आफ्नै रेकर्ड तोडेर विश्व कीर्तिमान राखेको धेरै भएको छैन । बधाइको ओइरो लागिरहेको छ। आफ्नो समुदायमा सम्मानित भइरहेका छन् तर वास्तवमै खुशी छैनन् । मन खिन्न छ । आफ्नो तथा सन्ततीको असुरक्षित भविश्य सम्झेर दिक्क मान्छन् ।
‘अबको पुस्ताले हिमाल चढ्ने काम गर्दैनन् । हामी हाम्रो सन्तानलाई यो पेशामा आउनै दिन्नौं’, कामिरिताको अनुभव बोल्छ, ‘यो पेशा रोज्नका लागि बाध्यता सिवाय कुनै आकर्षण छैन ।’
उनले भर्खरैको एउटा प्रसंग सुनाए ।
नयाँ कीर्तिमान बनाएपछि उनलाई व्याक्तिगत रुपमा धेरेले धेरैले बधाई दिए । देश विदेशका मिडियामा खबर छापिए । तर, नेपाल सरकारबाट कुनै प्रतिक्रिया आएन । त्यहीबेला केही विदेशी साथीहरुले प्रस्ताव गरे, ‘तेरो देशमा केही भएन भनेर चिन्ता नगर । हाम्रो देशमा आउने भए आइज । हामी नागरिकता दिन पहल गछौं ।’
यस्ता प्रस्तावले उनलाई झन् घोच्छ । मन रुवाउँछ । ‘हामी यस्तो मनस्थितिमा पर्यटकहरुलाई हिमाल चढाइरहेका छौं,’ उनी गुनासो गर्छन्, ‘विदेशीलाई हाम्रो महत्व थाहा छ, तर यहाँ वास्ता छैन ।’
हिमाल चढ्नेको जिन्दगीको भरोसा छैन । असुरक्षित भविष्य देखेर नै धेरै शेर्पाहरु यो पेशाबाट पलायन भइसकेका छन् । अबको १० वर्षमा आधाभन्दा धेरै शेर्पाहरुले हिमाल चढ्न छोड्ने कामिरिताको अनुमान छ । कोही पनि शेर्पाले आफ्ना सन्तान यो काममा नल्याउने दाबी नै गर्छन् ।
****
फ्लास ब्याक : सन् १९९४ को समय
कामिरिताका बुवा लाक्पा शेर्पा ‘गाइड’ थिए । सिजनमा पर्यटकहरुलाई हिमाल चढाउन जान्थे । बुवाको कामबाट उनीहरुको परिवार चलिरहेको थियो । त्यही बेला बुवाको हात हिउले खायो ।
त्यसपछि हिमाल चढ्न छाडेका उनका बुवा भन्ने गर्थे, ‘हिमाल चढ्ने काम नगर्नू । भविष्य सुरक्षित छैन ।’
शेर्पाको छोराले हिमाल नचढे के गर्ने त ?’ उत्तर कोहीसँग थिएन । दाइ लाक्पारिताले हिमाल चढ्न सुरु गरिसकेका थिए । उनी २४ वर्षमा हिँड्दै थिए । याक चराउँथे । भरिया काम गर्थे । त्यहीबेला सगरमाथाको ‘गाइड’ बन्ने प्रस्ताव आयो । पुर्ख्यौली काम गर्न प्रस्तावमा ‘नाई’ भनेनन् । उनी पहिलोपटक सगरमाथामा पुगे ।
त्यतिबेला बाध्यताले हिमाल चढेका उनी अहिले पनि बाध्यताले नै सगरमाथा चढिरहेका सुनाउँछन् । रेकर्डको वास्ता छैन । परिवार पाल्न हिमाल चढिरहेको बताउने कामिरिता भन्छन्, ‘पहिलोपटक हिमाल चढ्दा रेकर्ड बनाउँछु भन्ने कल्पना थिएन । कामलाई निरन्तरता दिँदादिँदै रेकर्ड बन्यो ।’
कामिरिताले गएका २५ वर्षमा धेरै पर्यटकलाई हिमाल चढाए । सगरमाथा चढेपछि उनीहरु ‘सेलिब्रेटी’ भए । कामिरिता पनि हिमाल बुझ्ने मानिसको लागि ‘सेलिब्रेटी’ नै हुन् । उनको पनि विश्वभर चर्चा छ । तर, सरकारले आफूलाई भरिया सिवाय अरु केही नगनेको गुनासो गर्छन् ।
‘मलाई न सेलिब्रेटी भएँ भन्ने दम्भ छ, न रेकर्ड बन्दा खुशी नै’ भन्छन्, ‘सरकारले हाम्रो लागि के गरेको छ र खुशी हुनु ?’
पहिलो पटक हिमाल चढ्दा २ लाख कमाएका कामिरिताले अहिले एउटा समूहलाई सगरमाथा पुर्याएको १२/१३ लाख लिन्छन् । झट्ट हेर्दा राम्रै कमाई जस्तो लागेपनि यसको लागि गर्नु पर्ने दुःखको सूची लामो छ । काठमाडौंदेखि शपिङ गर्दै सामान पुर्याउनु पर्ने झन्झट एकातिर छ भने अर्कोतिर हरेक पाइलामा खतरा । ज्यान हत्केलामा राखेर अरुलाई शिखर चढाउनु पर्छ । त्यसैले पैसाले ‘भरिया’को जीवनस्तर नबदलिएको महसुस गर्छन् कामिरिता ।
कामिरिता सगरमाथाको २५ वर्षे उताव चढावको साक्षी हुन् । हिमालको प्रत्येक मोहडाबारे जानकार छन् । रामा र नराम्रा दुवै पक्ष नजिकबाट देखेका छन् । सगरमाथासँगै संगत गरिरहेका उनले त्यहाँ सरकार पुगेको अहिलेसम्म आभास गरेका छैनन् । सरकारको कारण सगरमाथा भद्रगोल हुँदै गएको उनको ठम्याइ छ ।
हिमालमा विभेद भोगेका छन्, विकृति देखेका छन् । भ्रष्टाचार देखेका छन् र राजनीति पनि । ‘हिमाल नै नचढ्नेहरुले सर्टिफिकेट पाएको देखेको छुँ,’ उनी ‘फेक आरोही’हरुको कर्तुत सुनाउँछन् ।
त्यति मात्र होइन, पछिल्लो समय सगरमाथा चढ्ने ‘ट्रेण्ड’ बढ्दो छ । सगरमाथा चढ्नेको ताँती देख्दा धेरैलाई लाग्न सक्छ, हिमाल अब जसले पनि चढ्न सक्छ । तर, कामिरिता यसलाई स्विकार्न तयार छैनन् । भन्छन्, ‘शेर्पा गाइडले सबै कुरा बोकेर पुर्याउँछन् त अनि चढिहाल्छ नि । काम गर्ने कालु मकै खाने भालु ।’
****
सगरमाथा चढ्नुअघि उनी बुवालाई खबर गर्छन् । आरोहण सफल होस् भनेर बुवाले पूजा गर्छन् । हिँड्ने बेला श्रीमतीलाई ‘राम्ररी बस’ भनेर बिदा हुन्छन् । उनी आफैँ पनि हरेक दिन देवीको पूजा गर्छन् । देवीकै कृपाको कारण अहिलेसम्म आफूलाई केही नभएको विश्वास छ उनीमा ।
उनलाई सगरमाथा नजा भनेर परिवारको सदस्यले भनिरहेकै हुन्छन् । शेर्पाको छोरो हिमाल नचढेर गर्ने के त ? भन्दै घरबाट निस्किन्छन् । सगरमाथाको ‘क्याम्प वान’मा मोबाइलको ‘नेटवर्क’ टिप्छ । त्यहीँबाट श्रीमतीलाई फोन गर्छन् । शिखरबाट ओर्लिएपछि पनि क्याम्प वानमै आएर खबर छोड्छन् । उनले फोन गरेपछि परिवार पनि ढुक्क हुन्छ ।
यो सिजन कामिरिता एक हप्तामै दुई पटक शिखरमा पुगे । एउटा समूहलाई शिखरमा पुर्याएर फर्किनासाथ अर्को समूह आरोहण गर्न तयार थियो । त्यो टोलीले उनलाई सगरमाथा चढाउन अनुरोध गर्यो । उनी बिना योजना फेरि शिखरमा पुगे । अनि आफ्नो रेकर्ड तोडेर अर्को कीर्तिमान बनाए ।
उनकाअनुसार पहिलेभन्दा सगरमाथा चढ्न अहिले सजिलो छ । २०७२ को भूकम्पको कारण सबैभन्दा खतरनाक ‘हिलारी स्टेप’ भत्किएको छ । हिमाल चढ्ने लत्ताकपडादेखि उपकरण आधुनिक छ । उपकरणहरु पनि पहिले भन्दा हलुका छन् । यसले पनि उनलाई एकै सिजनमा दुई पटक शिखर पुग्ने साहस दिलायो ।
आउँदो वर्ष २५ औं पटक सगरमाथा चढेपछि कामिरिता विश्राम लिने मुडमा छन्। आफूलाई हिमालको क्याप्टेन बताउने उनी थाकिसकेका छन् । भन्छन्, ‘आगामी सिजनमा २५ औं पटक पुर्याएर रिटायर्ड हुन्छु ।’
कामिरिताको बारेमा अहिले डकुमेन्ट्री बनिरहेको छ । अमेरिकामा बसेका ‘फिल्म मेकर’ विनोद अधिकारीले सगरमाथामै पुगेर खिचिसके। अब ‘पोस्टप्रोडक्सन’को काम बाँकी छ।
निर्देशक अधिकारी भन्छन्, ‘विश्वभर चिनिएका शेर्पाहरुबारे अहिलेसम्म फिल्म बनेको छैन । त्यसैले मैले फिल्म बनाउन लागेको हुँ ।’
उनका अनुसार डकुमेन्ट्रीमा कामिरिताको मात्रै नभएर हिमाली भेगका शेर्पाहरुको जीवन देखाइने छ । काम सुरु गर्दा डकुमेन्ट्रीको नाम ‘स्टेप २३’ राखिएको थियो। तर एक सातामै दुई पटक शिखरमा पुगेर २४ पटकको रेकर्ड बनाएपछि चलचित्रको नाम ‘एभरेस्ट म्यान’ रहृयो। अधिकारी भन्छन्, ‘अरुको जस्तै मेरो पनि ओस्कार जित्ने सपना छ। यो मुभीबाट आशावादी छु।’
उनले फिल्म न्युयोर्कको थियटरमा प्रिमियर गर्ने योजना बनाएका छन् । आफ्नो मेहनतले शेर्पा र सगरमाथाको फरक रुपलाई विश्वले देख्ने उनको दाबी छ । भन्छन्, ‘आफ्नो देशको एउटा क्षेत्र र समुदायको फरक रुप विश्वले देख्ने छ ।’
त्यसमा सही थाप्दै कामिरिता भन्छन्, ‘अहिले सरकारले न त सगरमाथा चिनेको छ, न शेर्पा नै । जुन दिन सगरमाथा चढाउने शेर्पाहरु उपलब्ध हुन्नन्, त्यही दिन हाम्रो महत्व बुझ्नेछ ।’
तस्वीरहरू ः विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4