एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दीपक धामीलाई अध्यक्ष बनाएको छ । जेनजी आन्दोलनको समयमा डा. सुजन कडरियाले राजीनामा दिएपछि उत्पन्न परिस्थितिमा धामी अध्यक्ष बनेका हुन् ।
कडरियाको राजीनामाले अनेरास्ववियु भित्र तरंग ल्याएको थियो । राजीनामा दिएका उनी पुनः कार्यालय फर्कन खोजेपछि तनावसमेत सिर्जना भएको थियो । उनको नेमप्लेटदेखि कार्यालय तोडफोड भएको थियो । त्यसपछि पनि कडरियाले अनेरास्ववियुमै सक्रिय रहेको सन्देश सामाजिक सञ्जालबाट दिइरहेका थिए । उनले पार्टी अध्यक्ष केपी ओलीमाथि सडकमा लेखिएका असभ्य गाली मेट्ने अभियान नै चलाइरहेका थिए ।
तर, अनेरास्ववियुको केन्द्रीय कमिटीले उनलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यो परिस्थितिमा उनको प्रतिक्रिया के छ ? यस विषयमा अनलाइनखबरले डा. कडरियासँग कुराकानी गरेको छ :
अनेरास्ववियुको केन्द्रीय कमिटीले पदमुक्त गरेछ । के भन्नुहुन्छ ?
यो एउटा वैधानिक प्रक्रिया हो । बहुमतले निर्णय गरेको कुरा, हाम्रो संगठनको विधि-विधानमै चल्ने प्रक्रिया हो । म यसलाई पूर्ण सम्मान गर्छु ।
निर्वाचित भएको यति छोटो समयमा यो अवस्था कसरी आयो ?
जेनजी आन्दोलनको दिन विद्यार्थी ढलेपछि राजीनामा दिएँ । त्यसपछि सामाजिक सञ्जालमा केही साथीहरूले ‘पार्टी र संगठन नै छोडेझैं भयो, नेकपा एमालेलाई माया गर्नेले यस्तो गर्नुहुँदैन’ भन्नुभयो । धेरै साथीहरूले नछोड्न अनुरोध गरेपछि स्पष्टीकरण दिएको थिएँ- मैले छोडेको छैन, सक्रिय आन्दोलनमै छु ।
यो कुरालाई द्वन्द्वात्मक दृष्टिकोणबाट हेर्नुपर्छ । यसमा दुईवटा कोण छन् ।
पहिलो- पार्टी र आन्दोलन संकटमा भएको बेला एउटा मोर्चाबाट जिम्मेवारी छोड्नु हुँदैनथ्यो ।
तर, अर्को पाटो- त्यसबेला सबैभन्दा ठूलो बाध्यता के थियो भने हाम्रै पार्टीको सरकार थियो । आफ्नै पार्टी सरकारमा हुँदा सरकारको नेतृत्वसँग राजीनामा माग्नु सामान्य थिएन । त्यसैले मैले नैतिकताको आधारमा मार्गप्रशस्त गरेको हुँ । त्यसपछि स्वाभाविक म विद्यार्थी राजनीतिबाट बाहिर हुने नै भएँ ।
अहिले समीक्षा गर्दा त्यो राजीनामा दिनु गल्ती थियो जस्तो लाग्दैन ?
लाग्दैन । तत्कालीन अवस्थाका लागि त्यो निर्णय सही थियो । तर पार्टीको कोणबाट हेर्दा गलत थियो भनेर पार्टीले भन्न सक्छ । पार्टीको शुभेच्छुक संगठन र विभागबीच केही भिन्नता हुन्छ । शुभेच्छुक संगठनले सम्बन्धित वर्गको प्रतिनिधित्व गर्नुपर्छ । जस्तो, मधेश आन्दोलनको बेला पनि मधेशसँग सम्बन्धित संगठनहरूले पार्टीको बलियो निर्णयविपरीत पनि केही निर्णय गरेका थिए । त्यो बाध्यात्मक परिस्थिति थियो । आमविद्यार्थी गोली खाएर ढल्दै गर्दा म पदमा रहिरहन सकिनँ ।
तर, पार्टीका आम पंक्तिमा पुगेको भावनात्मक क्षतिप्रति भने म आत्मालोचित छु । ममा पदको लोभ धेरै छैन ।
राजीनामा दिइसकेपछि फेरि कार्यालय फर्कने दुष्प्रयास गर्नुभयो भन्ने आरोप पनि छ नि !
राजीनामा दिएपछि फर्किने कुरै भएन । राजीनामाको प्रक्रिया हुन्छ । प्रक्रिया नसकिँदासम्म संगठनको गतिविधिमा क्रियाशील हुनुपर्छ । आन्दोलनको समयमा राजीनामा दिएर स्वीकृत नभएसम्म कसै न कसैले सम्हाल्नै पर्छ । मैले त्यही गरेको हुँ । राजीनामा दिएर फर्केको भन्ने हैन ।
तपाईं कार्यालय आउँदा नेमप्लेट फाल्नेदेखि तोडफोडको घटना चाहिँ किन भयो त ?
त्यो घुसपैठ थियो, डकैती थियो । त्यहाँ चोर-डाकाहरू छिरेका थिए । अनेरास्ववियुका कोही थिएनन् ।
पार्टी अप्ठ्यारोमा पर्दा तपाईं जिम्मेवारीबाटै भाग्नुभयो भन्दै पार्टी अध्यक्षले अनेरास्ववियुमा उमेर हद लगाउनु गलत भयो भन्नुभएको थियो नि ?
हो । ३२ वर्ष उमेर हद गलत भयो भन्नुभयो । तहगत संरचना पार गरेका परिपक्व नेताहरू भए आन्दोलन अझ मजबुत हुन्थ्यो भन्ने उहाँको विश्लेषण सान्दर्भिक छ । म संगठनमा उमेर हद हुने कि नहुने भन्ने बहस हुँदा उमेर हदको विपक्षमा वकालत गर्नेमा थिएँ । निरन्तर आवधिक निर्वाचन प्रक्रिया कायम गर्न सकेको भए आन्दोलन सही ठाउँमा पुग्थ्यो । अध्यक्षज्यूको विश्लेषणलाई म पूर्ण सम्मान गर्छु ।
नयाँ अध्यक्ष दीपक धामीलाई के भन्न चाहनुहुन्छ ?
उहाँलाई सफल कार्यकालको शुभकामना र शुभेच्छा व्यक्त गर्छु । अत्यन्त संवेदनशील समयमा जिम्मेवारी पाउनुभएको छ । कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ । मेरो पूर्ण साथ र सहयोग रहनेछ ।
विद्यार्थी राजनीतिबाट बाहिरिँदा विद्यार्थीका लागि के-के योगदान गरें भनेर सम्झनुहुन्छ ?
मैले विद्यार्थीलाई राजनीतिप्रति जागृत बनाउने, देशव्यापी सचेतना कार्यक्रम गर्ने, ‘विद्यार्थी देशभक्त भए मात्र राष्ट्र रहन्छ’ भन्ने सन्देश पुर्याउने काम गरेँ । स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने पहिलो डाक्टर भएकाले ‘सेवा नै उन्नत राजनीति हो’ भन्ने मान्यतालाई विकट बस्तीहरूमा महिनौंसम्म निःशुल्क स्वास्थ्य सेवा दिएर कार्यान्वयन गरें । संगठन विस्तारसँगै अनेरास्ववियुका कार्यक्रम नयाँ पुस्तासम्म पुर्याउने पहिलो बैठकबाटै निर्णय गरें ।
तर, विडम्बना, पद सम्हालेको दुई महिनामै जेनजी आन्दोलन भयो । जति गर्न सक्थें, त्यति गर्न पाइनँ । यसप्रति गहिरो दुःख छ ।
विद्यार्थी र युवाका मुद्दा उठाउन विद्यार्थी संगठन चुक्दा जेनजी आन्दोलन भयो । तपाईंहरूले नसकेपछि युवा स्वस्फुर्त सडकमा आए भन्ने टिप्पणी पनि छन् । त्यस्तो हो ?
यसको मूल कारण शिक्षामा भएको असमानता हो । बोर्डिङ र सरकारी स्कुलको पाठ्यक्रम र भाषा माध्यम फरक-फरक छ । यसले दुई वर्गका जनशक्ति उत्पादन गर्छ । त्यो टकरावको परिणाम पनि हो, यो आन्दोलन ।
अर्को, लामो समय हामीले नयाँ पुस्तालाई देशको इतिहास बुझाउन सकेनौं । आर्थिक रूपान्तरण भएन । उनीहरू परिणाममुखी छन्, छिटो समृद्धि र सुशासन चाहन्छन् । तर सोअनुसार काम गर्न नसकेको सत्य हो ।
अर्कोतर्फ, सामाजिक सञ्जाल र मिडियाबाट भएका म्यानिपुलेसनले पनि युवालाई निराशातर्फ धकेल्यो र त्यो नै सडकमा विस्फोट भयो ।
हामी विद्यार्थी संगठन पनि विद्यार्थीको भावना बोक्न केही हदसम्म चुकेका हौं । त्यसैले मैले आफ्नो असक्षमताको कारणले पनि विद्यार्थी आन्दोलन कमजोर हुन नदिन मार्गप्रशस्त गरेको हुँ । म आफ्नो कमजोरी स्वीकार्छु । नयाँ नेतृत्वले विद्यार्थीको भावनालाई साकार रूप दिन सक्छ भन्ने विश्वास छ ।
अब तपाईंको राजनीतिक यात्रा कस्तो हुन्छ ? कसरी अघि बढ्नुहुन्छ ?
पार्टी जीवनमा सक्रिय भएर लाग्छु । विद्यार्थी जीवनको राजनीतिक यात्रा आजदेखि समाप्त भयो । अब पार्टी यात्राको सुरुवात हुन्छ । सोहीअनुसार कार्ययोजना बनाउँछु ।
प्रतिक्रिया 4