Comments Add Comment

सरिता लामिछाने भन्छिन्–‘अध्यक्ष पदमा उम्मेदवारीपछि म असुरक्षित महशुश गर्दैछु’

जेठ २५ गते आयोजना हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै आफू असुरक्षित भएको कलाकार सरिता लामिछानेले बताएकी छिन् । अनलाइनखबरसँग फोनमा कुरा गर्दै उनले सुरुमै भनिन्–‘म मेरो एजेन्डा मंगलबार आयोजना हुने पत्रकार सम्मेलनमा प्रस्तुत गर्नेछु । तर, अहिले म आफूलाई ह्यारेसमेन्ट हुन थालेको महुशश गर्दैछु ।’

भावूक हुँदै लामिछानेले भनिन्–‘शनिबारदेखि ममाथि केही मानिसहरुले निगरानी बढाएका छन् । मेरा गाडी नम्बर टिप्ने, घरमा आएर घर नम्बर टिप्ने, चियोचर्चा गर्ने क्रम बढेको छ । चिन्दै नचिनेका मानिसहरु आएर मलाई फलो गर्न थालेका छन् । म अहिले असुरक्षित महशुश गर्न थालेकी छु ।’

सरिताले प्रश्न गरिन्–‘आखिर, मैले अध्यक्ष पदमा उम्मेदवारी दिएर के अपराध गरेँ ? कोही मेरो सदस्यता खारेज हुनुपर्छ भन्दै सीडीओ कार्यलयमा पुगछन्, कोही म कलाकार नै होइन भन्छन् । आखिर, उनीहरु के कुरा हासिल गर्नका लागि मेरो पछि यसरी लागेका छन् ?’

सरिताले यस्ता खालका गतिविधीले आफू नडराएको समेत स्पष्ट पारिन् । तर, उनले प्रश्न गरिन्–‘मेरो २५ बर्ष भन्दा लामो कलाकारितामा मलाई गैह्र कलाकार भन्ने उहाँहरु चै को हो ? उहाँहरुको कलाकारिताको सक्रियताको बिषयमा छानविन गरिदिन म चलचित्र पत्रकारहरुसँग आग्रह गर्दछु ।’

यी सबै कुरा हुनुको पछाडि आफू महिला भएरै हो भन्ने उनलाई लाग्छ । उनले भनिन्–‘एउटा महिला कलाकार भएकै नाताले यति धेरै तनाव दिन थाल्नुभएको हो कि किन ? सीडीओ कार्यलयबाट सबै कुराको छानविन भएर आएको छ, मैले उम्मेदवारी दिइसकेको छु । अझै मानसिक तनाव दिएर ह्यारेसमेन्ट किन ?’

सरिताले आइतबार बेलुकी आफ्नो घर वरपर ४ जना मानिस आएको, २ जना पर बसेको र २ जनाले घर नम्बर टिपेको समेत बताइन् । अब, शान्ती सुरक्षाका लागि प्रशासनलाई गुहार्नै पर्ने अवस्था आएको उनको भनाई थियो । उनका अनुसार, अहिले संघमा पनि नचिनेका मान्छेहरु आउने गरेका छन् । यो बिषयमा अन्य चलचित्रकर्मीहरुलाई पनि बोलिदिन उनले आग्रह गरिन् ।

आफूले महासचिव पदमा लड्दा कसैले पनि सदस्यता नखोजेको भन्दै अध्यक्ष पदमा लड्दा यति धेरै विवाद भएको भन्दै उनले दुख व्यक्त गरिन् । सरिताले आफू कुनै पनि पार्टीको तर्फबाट अध्यक्ष पदमा उठ्न नलागेको भन्दै कलाकार संघलाई राजनीतिबाट टाढै राख्न चाहेको समेत स्पष्ट पारिन् । जेठ २५ गते हुने कलाकार संघको निर्वाचनको अध्यक्ष पदमा सरिता र कलाकार रविन्द्र खड्का अध्यक्ष पदमा निर्वाचन लड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment