+
+
Shares

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते १५:४९

५ असार, काठमाडौं । नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेताबीच सर्लाहीमा दोहोरो भिडन्त भएको छ । लालबन्दी नगरपालिका–१ को जंगलमा भएको भिडन्तमा प्रहरीको गोल लागेर एक जना मारिएका छन् भने तीन जना भाग्न सफल भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार मृत्यु हुनेमा विप्लव समूहका सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल छन् ।

‘गस्तीमा हिँडिरहेको प्रहरीमाथि एक्कासि फायर भएपछि हाम्रो टोलीले गोली चलाएको थियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले अनलाइनखबरसँग भने, ‘गोलीको आवाज आउन छाडेपछि हेर्दा एक जना व्यक्ति मृत अवस्थामा भेटिएका थिए ।’

उनका अनुसार चेकजाँचका क्रममा मृतक विप्लव समूहको नेता भएको खुलेको थियो । अन्य व्यक्ति भने नखनदेही खोला हुँदै जंगलतिर भागेको पोखरेलले बताए । फरार रहेकाको खोजी भइरहेको उनको भनाइ छ ।

पेस्तोल बरामद

२ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी हरिबहादुर पालका अनुसार मुठभेड भएको क्षेत्रमा विप्लव समूहले गतिविधि बढाएको सूचना थियो । जसको आधारमा प्रदेशबाट विशेष टोली समेत खटाएर निगरानी राखिएको पालले बताए ।

त्यसक्रममा बिहीबार जिल्लामा पहिलो पटक विप्लव समूहका नेतासँग प्रहरीको जम्काभेट भएको थियो । दुई वटा मोटरसाइकलमा आएको समूहले प्रहरीलाई लक्षित गरेर गोली चलाएको प्रदेश प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘एउटा अन टेस्ट र अर्को ना २२ प ६४ नम्बरको मोटसाइकलमा ४ जना आएका थिए ।’ मुठभेडका क्रममा दर्जनौं राउण्ड फायरिङ भएको प्रहरीले दाबी गरेको छ ।

प्रदेश प्रहरीका अनुसार पौडेलको साथबाट बरामद कटुवाल पेस्तोलबाटै गोली चलेको देखिएको छ । उनको झोलामा थ्रीनटथ्री बन्दुकको तीन राउण्ड गोली र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

घटनालाई लिएर विप्लव समूहले औपचारिक रुपमा केही बताएको छैन । अनौपचारिक कुराकानीमा एक नेताले प्रहरीेले हिँडिरहेका नेतालाई कुरेर गोली हानेको दाबी गरे ।

यसअघि पहिलो पटक ८ जेठमा भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ को मैयुमडाँडामा रहेको धोद्रे जंगलमा प्रहरीको मुठभेडमा परेर विप्लव समूहका एक जना कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रहरीले गोली हानेर समात्ने क्रममा तीर्थराज घिमिरे गम्भिर घाइते भएका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै नेपाल प्रहरीले विप्लव कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ । पछिल्लो पटक कार्यकर्तालाई तर्साउन घुँडामुनि गोली हानेर पक्राउ गर्न थालिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?