Comments Add Comment

प्रहरी भन्छ– अब विप्लवका कार्यकर्ता जहाँ भेट्यो, त्यहीँ समातिन्छन्

२८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै नेपाल प्रहरीले समूहमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने भएको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई आपराधिक घोषित गर्दै प्रतिबन्ध लगाएसँगै प्रहरीले आक्रामक नीति अपनाउने भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मैले पनि प्रतिबन्ध लगाएको सुनेँ । तर, आधिकारिकरुपमा जानकारी आइसकेको छैन । यद्यपि, अब यो समूहका सदस्यलाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्छौं ।’

यसअघिझैँ समूहले सार्वजनिकरुपमा सभा, जुलुस पनि गर्न नपाउने सुवेदीले बताए । पर्चा, पम्प्लेट वितरण, संगठन विस्तारदेखि विप्लव समूहका सदस्यलाई आश्रय वा सहयोग दिने पनि कारबाहीको दायरामा आउने प्रहरीले जनाएको छ ।

‘यसअघि भृकुटीमण्डप, रत्नपार्क, शान्ति वाटिका लगायतमा समूहको कार्यक्रम भएको थियो । तर, अब कार्यक्रम गर्न पनि पाइँदैन’, उनले अनलाइनखबरसँग भने । उनका अनुसार समूहका सदस्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार वा कुनै निश्चित गतिविधिमा संलग्न भए सोही कसुर अनुसार कारबाही हुनेछ ।

यसअघि ०६२/०६३ को द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीलाई प्रतिबन्ध लगाएपछि आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन, २०५८ अन्तरगत कारबाही गथ्र्यों । तर, मुलुकमा गणतन्त्र आएसँगै सो ऐन खारेज भएको छ ।

यो पनि पढ्नुहोस विप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

त्यसैले विप्लव समूहलाई कारबाहीका लागि छुट्टै व्यवस्था नहुँदा प्रहरीले मुलुकी संहितामा भएको अभद्र व्यवहारको कसुरअन्तरगत कारवाही गर्नेछ ।

यसअघि विप्लव समूहले ११ फागुनमा एनसेल प्रा.लि.को नख्खुस्थित मुख्यालयमा एकजनाको मृत्यु र दुईजना गम्भीर घाइते हुने गरी रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट गराएको थियो भने त्यतिबेलै कमलपोखरीमा पनि प्रेसर कुकरमा फिट गरिएको टाइम बम भेटिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले समयमै बमबारे सूचना पाउँदा कमलपोखरीमा क्षति हुन पाएन । सेनाको पोस्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले गरेको अनुसन्धानका क्रममा कमलपोखरीमा राखिएको बममा अत्याधुनिक प्रकृतिको दुई किलो विष्फोटक पदार्थ फिट गरिएको भेटिएको थियो ।

त्यसपछि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा पनि शक्तिशाली विष्फोट भएको थियो । विष्फोटपछि उनको घरमा आगलागी भएको थियो भने ४ जना घाइते भएका थिए ।

नेपाल प्रहरीले बैशाखदेखि हालसम्मको अवधिमा मुलुकका विभिन्न क्षेत्रबाट विप्लव समूहका ४ सय जनालाई पक्राउ गरिसकेको छ ।

मंगलबार मात्रै महानगरीय प्रहरीले वृत्त, दरबारमार्गले ३ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment