Comments Add Comment

वडाअध्यक्षसहित २१ कृषि कर्ममा, कमाइ मनग्य, युवालाई रोजगारी

७ असार, रामेछाप । स्थानीय तह चुनावका लागि गाउँ आएका खाँडादेवी गाउँपालिका–१ का युवा सकिएलगत्तै सहर फर्किए । कतिपय त विदेश नै हानिए । चुनावको बेलामा चहल–पहल भएको गाउँ एकाएक सुनसान, चकमन्न भयो ।

गाउँ युवाविहीनजस्तै बन्न पुगेपछि वडाध्यक्षमा विजयी विष्णुबहादुर श्रेष्ठको मन खिन्न भयो । मनमा युवालाई गाउँमै रोक्नेबारे अनेक तर्कना चले । यहीबीच गाउँमा सामूहिक उद्यम गर्ने जुक्ति उनमा पलायो । तर, यो योजना सेयर कसलाई ? उनी सकसमा परे ।

केही युवालाई मात्रै भए पनि गाउँमै रोकेर सम्भावनाको गोरेटो खन्ने कि ? यही सोचले आकार लियो र विष्णुबहादुरले निष्कर्ष निकाले–अब गाउँमै केही उद्यम गर्ने, सामूहिक लगानीमा ।

यही सोचका साथ उनले गतवर्ष २१ जना युवालाई जम्मा गरी छलफल चलाए । छलफलपछि जन्मियो– वागेश्वरी कृषि फार्म ।

फार्म दर्तापछि सुरुमा ब्रोइलर कुखुरा पाल्ने निष्कर्षमा पुगे उनीहरु । करिब ३० लाख खर्चेर ५ हजार कुखुरा अट्न सक्ने २ वटा खोर निर्माण गरे । ती खोरमा गएको मंसिर महिनाबाट कुखुरा हालियो । एकलटमा ५ हजार चल्ला जाने सो फर्मको प्रोपाइटरको जिम्मेवारी लगानीकर्तामध्ये २ जना राजकुमार श्रेष्ठ र सुदीप श्रेष्ठलाई दिइएको छ । फार्ममा ४ जना मानिसले रोजगारी पाएका छन् ।

‘मंसिरदेखि अहिलेसम्म ३ लट कुखुरा निकालियो । एकलट निकाल्दा सबै खर्च कटाएर दुई लाख जति बच्दो रहेछ । वर्षमा ५–६ लट निकाल्न सकिने रहेछ । त्यो हिसावले १२–१५ लाख रुपैयाँ वार्षिक कुखुराबाट कमाइ हुने रहेछ’, श्रेष्ठले भने ।

वडाध्यक्षको सक्रियतामा सञ्चालित फार्मले गाउँमा रोजगारीको सिर्जनासमेत गरेको छ । फार्ममा अहिले ४ जना दैनिक काम गर्छन ।

विदेश गएर पैशा कमाएर ल्याएकाहरुले समेत लगानी गरेका छन् । यसले गाउँमा बस्ने वातावरण बनेको युवाहरु बताउँछन् ।

कुखुराले जगायो आश

कुखुरापालनबाट उत्साहित कृषकहरुले यसलाई थप विस्तार गर्ने योजना बनाएका छन् । अब बंगुरसमेत पाल्ने सोच, उद्यमीहरुमा पलाएको छ । यसका लागि उनीहरुले बंगुरको खोर निर्माण गरिसकेका छन् । उन्नत जातका बंगुरका पाठापाठी पाल्नका लागि खोजीमा जुटेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बंगुरपछि बाख्रा पालन गर्ने सोच पनि युवाहरुको छ । ‘बाख्राको राम्रो उत्पादन क्षेत्र भएकाले अब बाख्रा पनि हाल्ने योजना बनाएका छौं’, फार्मका प्रोपाइटर राजकुमार श्रेष्ठले भने ।

कुखुरा, बंगुर र बाख्रासहित फार्म पूर्ण रुपमा सञ्चालनमा आएपछि ८–१० जनाले रोजगारी पाउने वडाध्यक्ष विष्णु श्रेष्ठको विश्वास छ । यसबाट वार्षिक ३०–४० लाख कमाइ हुने हिसाब पनि उनले सुनाउने भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment