Comments Add Comment

माइतीघरको पराकम्प बाँकी छ, नेकपा फुट्न सक्छ

दुर्घटना कहीँबाट आउँदैन, नेकपाबाटै हुन्छ

पछिल्लो समय सरकारको असफलता राजनीतिक रुपमा मात्रै अगाडि बढिरहेको थिएन, सांस्कृतिक रुपमा पनि सरकार असफल देखिन्थ्यो । सरकारविरुद्ध असन्तुष्टिहरु धेरै थिए । तर, तात्कालिक कारण गुठी बन्यो । काठमाडौंमा सुषुप्त अवस्थामा रहेको आवाज बुधबार माइतीघरमा मुखरित भएको हो ।

मलाई लाग्छ, अब धेरै कुरामा नेवारहरूले हस्तक्षेप गर्नेछन् । माइतीघरमा भएको प्रदर्शनले कोही डराएको छ भने सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओली डराएका छन् ।

माइतीघरको प्रदर्शनले पट्टी लगाएर बसेका प्रधानमन्त्रीको आँखा खोलिदियो । यो पक्का हो । अहिलेसम्म प्रतिपक्षीलाई गाली गरिरहेको थिएँ, मिडियालाई हप्काइरहेको थिएँ । अहिलेसम्म बन्द कोठामा बसेर शासन गरिरहेको थिएँ । आफूलाई महाशक्तिशाली ठानेको थिएँ, तर जनता उर्लिए भन्ने प्रधानमन्त्रीलाई लागेको हुन सक्छ ।

माइतीघरमा आएकाहरू मध्ये ८० प्रतिशत नेपाल कम्युनिष्ट पार्टीकै मतदाता हुन् जस्तो लाग्छ । प्रधानमन्त्रीले आफ्ना समर्थकहरूकै जुलुसको सामना गर्नुपरेको हो । ललितपुर, भक्तपुर र काठमाडौंका काँठबाट आक्रोशित भएर मानिस आएका थिए । कोर कम्युनिष्ट क्षेत्रबाट गुठियारहरू आएका थिए । अधिकांश कम्युनिष्ट नेताहरूको पारिवारिक नाता त्यही गुठियारसँग छ ।

काठमाडौंको ‘डाइमेन्सन’

काठमाडौं उपत्यकाको विशेषता के छ भने राजनीतिकरुपमा जतिसुकै अतिक्रमण गरे पनि चुप लागेर बसेको देखिन्छ । जस्तो, मल्ल (क्षेत्री) हरूले काठमाडौंमा अतिक्रमण गरेर बसे, यहाँका नेवारले उनीहरूलाई स्वीकारे । मल्लहरू आफैं नेवार भइदिए । दक्षिण एसियामै काठमाडौंमा मात्रै मल्लहरु  नेवार बनेका छन् । अरुतिर क्षेत्री छन् ।

गुठी भनेको नेवार समुदायको परिवारजस्तै हो । उनीहरूको परिवार शाह वंशले पनि भत्काएका थिएनन् । राजनीतिक रुपमा अतिक्रमण गरेर आए पनि शाहहरूले त्यो परिवार मजबुत बनाउन सघाए । संस्थागत गर्न मद्दत गरे । सामूहिक पहिचानलाई शाहहरुले सम्मान गरे ।

तर, काठमाडौंका नेवारहरूलाई केही दिनयता हामीमाथि सांस्कृतिक हस्तक्षेप र अतिक्रमण भइरहेको छ भन्ने लाग्यो । काठमाडौंको नेवार एउटा त्यस्तो समूह हो, जो कुनै पनि किसिमको निजी स्वार्थ भन्दामाथि थियो । गुठियारहरू एक ठाउँमा उभिएर राज्यसँग भिड्न सक्छन् भन्ने कुराको त सरकारलाई कल्पनै थिएन होला ।

यति भनिरहँदा के बिर्सनुहुँदैन भने माइतीघरमा सांस्कृतिक कारणले मात्रै त्यति ठूलो विरोध उठेको होइन । अन्य कारणले गर्दा पनि जनता असन्तुष्ट थिए । जस्तो–मिडिया काउन्सिल विधेयक, शिक्षासम्बन्धी विधेयक जस्ता कारणले पनि सम्वद्धहरू दुःखी थिए । कुलपति बनेर प्रधानमन्त्री आफैंले विश्वविद्यालयमा हायर एण्ड फायर गर्ने कुरा प्राध्यापकहरूलाई मन परेन । मानव अधिकारवादीहरू पनि सन्तुष्ट थिएनन् ।

तर, यी सबै असन्तुष्टहरूले ‘पन्च’ हान्न सकेका थिएनन् । उनीहरू कोही पनि संगठित थिएनन् । तथापि राजनीतिक असन्तुष्टि व्यापकै थियो । तर, त्यसलाई मुखरित गर्न प्रतिपक्षले सकिरहेको थिएन । त्यो नगर्दाखेरिको बिस्फोट पनि माइतीघरमा भएको हो ।

हिजो माइतीघरमा प्रतिपक्षले फाइदा लिएको होइन । बरु कांग्रेसले बिगार्छ कि भन्ने डर थियो । कहीँ कांग्रेसले झण्डा लिएर निस्कने त होइन भन्ने डर थियो ।

हुन त सरकारले पनि स्पोन्सर गरेर योभन्दा ठूलो जुलुस त ल्याउन सक्ला । पञ्चायतले पनि ०४६ सालमा ल्याएकै हो । तर, त्यस्तो जुलुस टिक्दैन । भत्ता पचाउन आउने जुलुसले काम  गर्दैन । स्वस्फूर्त रुपमा आउने जुलुसमात्रै परिवर्तन ल्याउँछ । क्रान्ति भनेकै यही हो । प्रधानमन्त्रीको टीमले यो कुरालाई गम्भीर रुपमा लिनुपर्छ । भूमि व्यवस्था मन्त्रीभन्दा पनि सञ्चार मन्त्री निशानामा पर्नुभयो । उहाँले गुठीलाई सामन्ती संस्कारको प्रतीक हो भनिदिँदा आगोको झिल्कोको काम ग¥यो ।

गुठी ‘साम्यवाद’ को प्रतीक हो

गुठीका नाममा अनियमितता पनि होलान् । तर, गुठीका नाममा काठमाडौं उपत्यकाभित्र धेरै ठूलो सांस्कृतिक सुरक्षा भएको पनि सत्य हो । यो समुदाय धेरै लामो समयदेखि एकीकृत भएर बसेको छ । राजनीतिक मुद्दालाई यो समुदायले ध्यान नदिएको पनि हो । यिनीहरूको पहिचान भनेकै गुठी हो । यो धेरै ठूलो संगठन हो । वास्तवमा यो नेपालको मौलिकता पनि हो ।

यत्रो ठूलो शहरीकरण वा विश्वव्यापीकरणको जमानामा पनि मान्छेहरूलाई जोडेर राख्ने काम गुठीले गरेको छ । एउटै घरमा बसेर पनि बोलचाल नहुने मान्छेहरूबीच संवादको काम पनि यसले गरेको छ । यो हाम्रो पुँजी हो । यसलाई जोगाउन जरुरी छ ।

गुठी कैयन ठाउँमा सामन्तवादको प्रतीक पनि होला । तर, जुन समुदायको जीवन दर्शन त्यही गुठीमा आधारित भएर चलिरहेको छ । उनीहरू सामन्तवादसँग कहिल्यै पनि जोडिएका छैनन् । गुठी त साम्यवादको प्रतीक हो । समानतामूलक समाजको  प्रतीक हो । काठमाडौंको डाइनामिक्स नबुझेको मान्छेले यहाँको मान्छेलाई चिढ्याउँछ ।

डा. बाबुराम भट्टलाई अर्थमन्त्री भएका बेलामा पतनको कारण यही बनिसकेको थियो । यसैबाट प्रचण्डजीको पतन भयो । जनयुद्धकालमा अछाम र बझाङका मन्दिरहरूमा गलत व्यवहार गरेजस्तो होइन नि काठमाडौं । सांस्कृतिक क्रान्तिका नाममा त्यहाँ सम्भव भयो होला, काठमाडौंमा त्यस्तो सम्भव छैन । काठमाडौंबासीहरूलाई यस्तै धार्मिक, सांस्कृतिक मुद्दाले इरिटेड गर्छ ।

फेरि, नेपालको संस्कृति भनेकै नेवारकै संस्कृति त हो । क्षेत्री–बाहुनको संस्कृतिमा त्यस्तो मौलिकता के छ ? तर, नेवारहरुकै संस्कृतिले नेपालको संस्कृतिलाई चिनाएको छ ।

नेपालमा केही समुदायको जुलुस हेर्दा बडो लोकतान्त्रिक संस्कार देखिन्छ । जस्तो–गुरुङकै जुलुसको कुरा गर्दा उनीहरूले अरुलाई डिस्टर्ब नगरी, सडक फोहोर नगरी जुलुस गर्छन् र आफ्नो कुरा मज्जासँग राख्छन् । उनीहरूको जुलुसमा उग्रता हुँदैन । केही नेपाली जनजाति समुदायमा यस्तो विशेषता देखिन्छ । बुधबार माइतीघरको जुलुसमा पनि त्यो संस्कार देखियो । लोकतान्त्रिक मूल्य मान्यताका लागि यस्तो संस्कार आवश्यक पर्छ ।

केपी ओली ज्ञानेन्द्रसँग डराएको ?

नेपालमा अझै केही वर्ष कन्स्पीरेन्सी थ्यौरी चल्नेवाला छ । विश्वमा लामो समयसम्म आफ्नो असफलता ढाकछोप गर्न सीआइए, केजीबीको घुसपैठ भयो भन्ने चलन थियो । यो चलनले  गर्दा संसारले झण्डै एक सय वर्ष दुःख पायो ।

नेपालमा राजतन्त्र गएको १० वर्ष भयो । अहिले यो सरकारको देखिने राजनीतिक शत्रु कोही पनि छैन । एउटा त्यही निकम्मा कांग्रेस छ । नदेखिनेलाई शत्रु भनेर त भएन नि । त्यसरी भन्ने हो भने त माइतीघरको जुलुसमा भुत पनि थियो भने भइहाल्यो नि । अदृश्य रुपमा भुत आएका थिए भन्दा भयो !

गणतन्त्र नेपालको प्रधानमन्त्रीले गुठीकाे विरोधमा राजावादी थिए भन्नु त भुत थिए भनेजस्तो त हो नि । दुई तिहाईको सरकार छ । आफ्नै पार्टीबाट राष्ट्रपति बनेका छन् । ७ मध्ये ६ प्रदेशमा आफ्नै पार्टीको सरकार छ । अनि माइतीघरमा राजावादी थिए, विप्लव थिए भन्न मिल्छ ? आफ्नै जनमतलाई यसरी अमानित गर्न मिल्दैन । त्यहाँ एक लाख थिए भने असी हजार नेकपाकै मतदाता थिए । त्यस्तो आरोप लगाउनु भनेको जनमतको घनघोर अपमान हो ।

हिजोको स्टालिकालीन कन्स्पीरेन्सी थ्यौरी लगाएर हुँदैन । लोकतान्त्रिक भन्नेहरूमा पनि त्यही सोच छ । जसअनुसार आफ्नो असफता ढाक्नका लागि भूतप्रेतहरू जन्माउनुपर्छ । म असफल भएँ, अलोकप्रिय भएँ भन्नका लागि त ठूलो छाती चाहिन्छ ।

जहाँसम्म प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा वीपी कोइरालाको नाम लिएको प्रशंग छ, वीपी कोइरालाका बेलामा सेना आफ्नो हातमा थिएन । दरबार वीपीको अनुकुल थिएन । संसार वीपीको अनुकुल थिएन । भारत नै पनि उनको साथमा थिएन । चीन त हुने कुरै भएन । समय पनि त्यतिखेर वीपीको अनुकुल थिएन । शीतयुद्धको बेला थियो । त्यस्तो बेलामा पनि दुबै छिमेकीलाई उनले खबरदारी गरे ।

आज केपी ओली राजावादी भनेर कोसँग डराएको ? ज्ञानेन्दसँग ? ज्ञानेन्द्र त धर्मकर्म गरेर हिँडिरहेका छन् । राजाजस्तो भएर त प्रधानमन्त्री बसेका छन् । सरकार, राष्ट्रपति, प्रदेश सरकारहरू, यत्रो जनमत आफ्नो पक्षमा हुँदाहुँदै यति लाचार र गलत कुरा गरेर बस्ने प्रधानमन्त्रीलाई म के भन्छु भने तपाईको सूचना लिने तरिकामा पक्कै खोट छ । प्रधानमन्त्रीले आफूलाई प्राप्त सूचनाकै आधारमा बोलेका हुन् भने कुनै पनि निकायले उनलाई सही सूचना दिइरहेका छैनन् । सूचना दिनेहरूले खाल्डो खनिरहेका छन् ।

‘वेभ’ बाँकी छ,अर्को आँधी आउन सक्छ

माइतीघरको ‘वेभ’ अझै सकिएको छैन । यो अगाडि बढ्छ । यसको राजनीतिक प्रभाव अझै पर्ने देखिन्छ । अब थुप्रै संगठित समूहले आवाज उठाउँछन् । कांग्रेसकै मुख खुल्यो नि । नेकपामै दबिएर बसेको आवाज मुखरित भएर सरकारमाथि अब एकपटक खनिन्छ ।

अब अधिकांश विधेयकमा सरकार रक्षात्मक बन्छ । हिजोको गतिमा सरकार अगाडि बढ्न सक्दैन । कम्तिमा सरोकारवालासँग छलफल गर्छ । यो विवेकी बाटो हो । प्रधानमन्त्रीले आफूलाई पूर्णरुपमा सूचित छु भन्दै आउनुभएको छ । आफूलाई भेट्न आउनेहरूलाई राति साढे एक बजेसम्म काम गर्छु भन्ने प्रभाव देखाउनुहुन्छ । प्रधानमन्त्रीले साँच्चै पठन पाठन गर्नुुहुन्छ भने अब सरकारले प्रत्येक विधेयकमा सरोकारवालासँग छलफल गर्ला ।

तर, यसलाई प्रतिक्रियात्मकरुपमा लियो भने अर्को यस्तै आँधीबेहरी आउन सक्छ । प्रधानमन्त्रीको व्यक्तिगत स्वभाव अनुसार प्रतिक्रियामा जानुभयो भने सरकार दुर्घटनामा पर्छ । त्यो दुर्घटना कँहीबाट आउँदैन, नेकपाबाटै हुन्छ ।

अब कि त प्रधानमन्त्री ओलीमा नरम व्यवहार देखिन्छ । वा, एकदमै फ्रस्टेसन आउन सक्छ । प्रधानमन्त्रीको विगत हेर्दा उहाँले पाठ नसिक्ने सम्भावना पनि उत्तिकै छ ।

माइतीघरमा जुलुस त गुठी विधेयक फिर्ता भइसकेपछि भएको हो । फिर्ता लिएर हुँदैन, खारेज नै हुुनुपर्छ भन्ने नारा लाग्यो । यसको मतलब यो सरकार ओरालो लाग्यो । त्यतिमात्रै होइन, तीनजना मन्त्रीको राजीनामा गराउनुपर्छ भन्ने नारा पनि लाग्यो । यसले प्रधानमन्त्री ओलीलाई यस्तो कुराले धर्मसंकटमा पार्न सक्छ । तीनजना मन्त्री अचानोमा पर्छन् । प्रधानमन्त्रीमा यो जनउभारलाई यहीँ रोक्न सक्छु भन्ने सोच आउन सक्छ । त्यसका लागि उनले भूमि व्यवस्था वा सञ्चारमन्त्रीलाई राजीनामा गराउन सक्छन् ।

मलाई के लाग्छ भने यस्तो अवस्थामा अब प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्छन्  । यो ग्यारेन्टी छ । कसै न कसैलाई बलीको बोका बनाउँछन् । यिनीहरूका कारणले मेरो विरुद्धमा यत्रो जनमत बनेको हो भनेर प्रधानमन्त्रीले कहीँ न कहीँ, केही न केही एक्सन लिनैपर्छ । प्रधानमन्त्रीले एक्सन लिएनन् भने प्रचण्ड एक्सन लिन बाध्य हुन्छन् । मैले जानेको संसदीय पद्दति त्यही नै हो ।

त्यसर्थ, मन्त्रिपपरिषद पुनर्गठन मात्रै होइन, नेकपा पार्टीको आन्तरिक जीवनमा पनि यसको प्रभाव पर्ने देखिन्छ । अब पार्टीभित्र मुखरितरुपमै प्रधानमन्त्रीको आलोचना हुन्छ । नेकपाभित्र प्रधानमन्त्रीको आलोचना गर्दा उनले अवसर नदेलान् र पार्र्टीेले अचानोमा पार्ला भन्नेहरू अब बोल्न थाल्नेछन् ।

जनता सडकमा निस्किसकेपछि सबैभन्दा बढी राहत पार्टीभित्र आवाज दबाएर बसेकाहरूले पाउँछन् । यस्तोबेलामा समकालीनहरूको नाम सुन्दा प्रधानमन्त्रीलाई झर्को लाग्न सक्छ । पार्टीको आन्तरिक जीवन र मन्त्रिमण्डलमा माइतीघरको पराकम्प असर अझै देखिने सम्भावना छ ।

अब कि त प्रधानमन्त्री ओलीमा नरम व्यवहार देखिन्छ । वा, एकदमै फ्रस्टेसन आउन पनि सक्छ । जस्तो, पञ्चायतको अन्तिम कालमा शासकहरुमा फ्रस्टेसन देखिएको थियो ।

प्रधानमन्त्रीको विगत हेर्दा उहाँले पाठ नसिक्ने सम्भावना पनि उत्तिकै छ । दुई तिहाईको प्रधानमन्त्री बनेपछिको अभिव्यक्ति र कार्यशैली हेर्दा जुलुस हेरेर आफूलाई सुधार्ने, जनतासँग आफूलाई जोड्ने र विवेकसम्मत निर्णय लिने सम्भावना कम देखेको छु । खतरा यहीँनेर छ ।

तर, यसरी दुई तिहाई सरकार चल्दैन । भारतमै राजीव गान्धीको दुई तिहाईवाला सरकार गएको होइन ? प्रधानमन्त्री ओली आफंै अध्ययनशील मान्छे हो भने संसदीय इतिहास हेर्दा हुन्छ । जनमत बिग्रनु र बन्नुमा एकपटक पाएको दुई तिहाईको खासै अर्थ हुँदैन । आज काठमाडौंमा चुनाव भयो भने के होला ? पक्कै हिजोजति मत आउँदैन ।

प्रधानमन्त्रीको भनाइ हेर्दा म खतरा देख्छु । ‘रियलाइजेसन’ छैन । त्यसैले ‘रियाक्सन’ बढी आउँछ कि जस्तो लाग्छ । रिलाइजेसनलाई विवेकसम्मत नबनाएर प्रतिक्रिया मात्रै आयो भने कम्युनिष्ट पार्टी फुट्न सक्छ । यसमा भूतप्रेत, राजावादी, विप्लववादी होइन, प्रचण्डले खेल्छन् । तँ अलोकप्रिय भइस्, सरकारले काम गर्न सकेन भन्छन् । त्यसमा माधव नेपाल, झलनाथ खनालहरूले पुट दिन सक्छन् ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment