Comments Add Comment

क्लिन फिड विवाद : विज्ञापनसम्बन्धी विधेयकमा भारतीय चासो

राजपा भन्छ– भारतीय च्यानलको विज्ञापन रोक्नुहुँदैन

५ जेठ, काठमाडौं । नेपाली विज्ञापन बजारमा बारम्बार सुनिने गरेको शब्द हो ‘क्लिनफिड’ । नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लीनफिड’ लागु नहुँदा देशलाई आर्थिक र सांस्कृतिक क्षति हुँदै आएको भनेर आवाज उठेको धेरै भयो ।

यही विषयलाई सम्वोधन गर्दै सरकारले एउटा विधयेक अघि बढाएको छ, जुन कार्यान्वयनमा आए विदेशी टेलिभिजनले नेपालमा निशुल्क विज्ञापन बजाउन पाउने छैनन् ।

तर, यसको कार्यान्वयनमा चुनौति भने सानो छैन । देशभित्र टेलिभिजन सेवाप्रदायकबाट हुने विरोध आफ्नो ठाउँमा छ, त्यो भन्दा गम्भीर चुनौतिको विषय चाहिँ विदेशी शक्तिकेन्द्रको चलखेल हो ।

क्लीनफिडको विषयलाई दक्षिणी छिमेकीले निकै चासो दिने गरेको छ किनकि यसमा उसको व्यवसायिक स्वार्थ गाँसिएको छ । त्यसैले नेपालमा विधयेक अघि बढ्दासाथ उसले आफू निकटको शक्ति र समुह प्रयोग गर्न थालिसकेको छ ।

सरकारद्वारा प्रस्तुत विज्ञापन नियमनसम्वन्धी विधेयकको दफा ६ मा भनिएको छ, ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’

यसमा ‘रहित (क्लिन फिड)’ भन्ने शब्द हटाउन राजपाका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

विधेयकको दफा ६ को उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमहरुले डबिङ गरी प्रसारण गर्न नपाउने ब्यवस्था छ । यो उपदफा पनि पूरै हटाउन राजपा सांसदद्वय कर्ण र मियाँले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

अनलानखबरले कर्णलाई क्लीन फिडको विरोध किन गर्नुभएको भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘अहिलेको समयमा विज्ञापनबिना केही पनि हेर्न पाइँदैन । यदि विज्ञापन बजाउन नपाए भारतीय च्यानलहरु नेपालमा किन आउँछन् ? घाटा खान थोडी आउँछन् ?’

कर्णले थपे, ‘अरु देशले क्लीन फिड लागु गर्छन् भनेर हामीले पनि गर्नुपर्छ भन्ने छैन । हाम्रो दुई देशबीच खुल्ला बोर्डर छ । नेपालमा भारतीय टेलिभिजनका लाखौं–करोडौं दर्शक छन् । नेपाली च्यानल त कतिले हेर्छन् ? बच्चादेखि बुढासम्मले हेर्ने भारतीय च्यानल नै हो । नेपालीहरुलाई भारतीय सिरियल, न्यूजहरु हेर्नबाट वञ्चित गर्ने षडयन्त्र सरकारले गरेको छ । हामी यसको खिलाफमा छौं ।’

तर, भारतीय कम्पनीका विज्ञापन निशुल्क बजाउँदा नेपालको विज्ञापन बजारलाई नोक्सानी भइरहेको छ नि ? भन्ने प्रश्नमा कर्णले जवाफ दिए, ‘त्यसलाई अरु तरिकाले व्यवस्थापन गर्न सकिन्छ । तर, भारतीय विज्ञापन कुनै हालतमा रोक्नु हुँदैन ।’

भारतीय स्वार्थ के ?

नेपाली टेलिभिजनमा प्रशारण हुने विदेशी च्यानलमा अधिकांश भारतीय नै छन् । केबुलहरुले डाइरेक्ट अपलिंक गर्ने भएकाले यी च्यानलहरु नेपालमा ‘रियल टाइम’ मै प्रसारण हुन्छन् ।

ती च्यानलमा बज्ने भारतीय कम्पनीका विज्ञापन निर्वाधरुपमा नेपाली दर्शकसम्म पुग्छ, जो उनीहरुका उपभोक्ता पनि हुन् । त्यसैले ती कम्पनीले नेपालका लागि छुट्टै विज्ञापन बनाउनुपर्दैन र ठूलो धनराशी जोगिन्छ । तर, यसबाट नेपालको विज्ञापन बजारलाई भने धक्का पुगिरहेको छ । नेपाली विज्ञापन एजेन्सी र सञ्चारमाध्यमले वार्षिक अर्बौं रुपैयाँको विज्ञापन गुमाइरहेका छन् ।

भारतीय टेलिभिजन वितरकहरुले पनि नेपालका लागि छुट्टै सामग्री उत्पादन गर्न नसकिने बताउँदै आएका छन् । यसअघि क्लिन फिडको विवादका बेला भारतीय टेलिभिजनहरुको छाता संगठन इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ) ले विज्ञप्ति नै जारी गरेको थियो । उसले क्लिन फिड नीति तत्काल लागू नगर्न नेपाललाई ‘सुझाव’ दिएको थियो ।

नेपालमा ‘एभरेज रेभिन्यू पर युजर’ पनि कम भएकाले तत्काल यसलाई कार्यान्वयन गर्न आर्थिक हिसाबले उचित नहुने आईबीएफको दाबी थियो । नेपालमा एन्टी–पाइरेसी कानुन पूर्ण कार्यान्वयनमा ल्याएपछि मात्रै लागू गर्न उचित हुने उसले बताउँदै आएको छ ।

क्लिन फिड लागेपछि टेलिभिजन हेर्न ठूलो शुल्क बुझाउनुपर्ने हुनसक्ने भारतीय पक्षको तर्क छ । क्लिन फिड लागू भएको भए नेपालमा प्रसारण हुने ८० प्रतिशत टेलिभिजन सामग्री यथाअवस्थामा गैरकानूनी हुनेछन् । ती च्यानलले नेपालमा प्रसारण हुने आफ्नो सामग्रीबाट विज्ञापन हटाउनुपर्छ । त्यसैकारण भारतीय टेलिभिजनहरुले लगातार क्लिन फिड लागू नगर्न नेपालमाथि विभिन्न तवरबाट दबाव सिर्जना गराइरहेको नेपालका सरकारी अधिकारीहरु बताउँछन् ।

आन्दोलनको तयारीमा वितरक

यता, नेपाली टेलिभिजन वितरकहरु भने अहिलेको क्लिन फिड नीतिले अवैध भारतीय डीटीएचलाई प्रोत्साहित गर्ने तर्क गरिरहेका छन् । चोरीको डीटीएच मौलाए सरकारले ठूलो नोक्सानी बेहोर्नुपर्ने उनीहरुको भनाइ छ ।

क्लिन फिडको विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलनको तयारीमा छन् । सांकेतिक विरोध स्वरुप इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्दैछन् ।

नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली क्लिन फिड लागू हुँदा कस्तो अवस्था आउँछ भनेर अहिले नै सरकार र जनतालाई देखाइदिन लागेको बताउँछन् ।

‘यसमा पर्याप्त गृहकार्य भएको छैन, भारतीय टेलिभिजन सेवा प्रदायकहरुले सरकारलाई पत्र नै लेखेर नेपालमा क्लिन फिड दिन सम्भव नभएको भनिसक्दा पनि विधेयकमा यो विषय आएको छ,’ पराजुलीले भने, ‘जब टेलिभिजन सामाग्री दिनेले क्लिन फिड दिन सक्दैन भने यहाँ त अधिकांश विदेशी च्यानल स्वतः बन्द हुन्छन् ।’

उनले केही व्यक्तिको चाहनामा यो व्यवस्था गर्न लागिएको आरोप लगाए । यसका कारण भर्खरै डिजिटाइजेसनमा गएका टेलिभिजन व्यवसायीको अर्बौंको लगानी पनि जोखिममा पर्न लागेको अध्यक्ष पराजुलीको दावी छ ।

‘अहिले यो व्यवस्था लागू गर्न गृहकार्य नै पुगेको छैन, जबरजस्ति लागू गर्दा नेपाली देशी–विदेशी च्यानलहरु हेर्नबाट बञ्चित मात्रै हुँदैनन्, हाम्रो लगानी पनि डुब्छ,’ पराजुलीले भने, ‘यो नियमको असर के पर्छ भन्ने ९ र १० गते टेलिभिजन हेर्दा थाहा हुनेछ ।’

अधिकांस बाल मनोरन्जन, मनोरञ्जन, खेलकुद, समाचार, लगायत विषयका च्यानल क्लिन फिडको व्यवस्थाका कारण बन्द हुने टेलिभिजन सेवा प्रदायकको दावी छ । तर, क्लिन फिडको पक्षमा भएकाहरु भने विज्ञापन बजाउन नपाउँदैमा भारतीय च्यानलहरुले नेपालका दर्शक गुमाउन नचाहने बताउँछन् ।

‘यी च्यानलले भारतीय भाषा–संकृतिको पनि नेपालमा प्रबद्र्धन गरिरहेका हुनाले भारत सरकारले कदापी उनीहरुलाई यहाँबाट भाग्न दिँदैन,’ एक विज्ञापनकर्मी भन्छन् ।

सरकार के भन्छ ?

सरकार जसरी पनि अब क्लिन फिड लागू गर्ने पक्षमा छ । सञ्चार मन्त्रालयका सहससचिव तथा प्रवक्ता ऋषिराम तिवारी स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा यो व्यवस्था ऐनमा नै गरिएको बताउँछन् ।

‘पैसा तिरेर नेपालीहरुले टेलिभिजन हेरेका छन्, यसमा विदेशी विज्ञापन हेर्नै पर्ने अवस्था रहनुहुँदैन भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘यो नियम लागू हुँदा स्वदेशी विज्ञापन बजार पनि अझ बलियो बन्छ । त्यसैले देश र अर्थतन्त्र दुबैका लागि यो लाभदायी नै छ ।’

उनले ऐनमा सरकारले तोकेको मितिदेखि लागू गर्न प्रस्ताव गरिएकाले व्यवहारिकता हेरेरै यो व्यवस्था लागू गर्ने बताए ।

क्लिन फिड लागू गर्ने विषय पहिलोपटक आएको हैन । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ०७४ साल साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । तर, नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबावका कारण सरकार पछि हट्यो ।

‘विज्ञापनरहित नीति, २०७३’ फिर्ता नलिए सबै प्रसारण रोक्ने भारतीय प्रसारकहरुको चेतावनी थियो । क्लिन फिड अनिवार्य गर्ने निर्णयपछि सेवा बन्द गर्ने बताउँदै नेपाली टेलिभिजन वितरकले आन्दोलन घोषणा गरेका थिए । ०७४ असार ३१ गते थप तयारीका लागि भन्दै सरकारले ‘क्लिन फिड’ लागू गर्ने निर्णय स्थगित गरेको थियो ।

लागू भए के फाइदा ?

नेपाली विज्ञापन व्यवसायी जसरी पनि क्लिन फिड लागू हुनुपर्ने पक्षमा छन् । नेपाली बजारलाई लक्षित गरेर बहुर्राष्ट्रिय कम्पनीहरुले भारतका च्यानलमा पैसा खर्च गर्ने गरेका कारण नेपालले त्यसबाट लाभ लिन नसकिरहेको उनीहरुको तर्क छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल क्लिन फिड लागू गर्न सरकार प्रतिवद्ध हुनुपर्ने बताउँछन् ।

‘क्लिन फिड लागू भए उनीहरुले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्छन् । साथै, नेपाली टेलिभिजन दर्शकले पनि विदेशी च्यानलमा अनावश्यक विज्ञापन हेर्नु पर्दैन,’ उनले भने, ‘अहिले वार्षिक ६ अर्बको नेपाली विज्ञापन बजार तत्कालै ८ अर्बभन्दा माथि पुग्छ ।’

हाल नेपालको विज्ञापन बजार सानो छ । विज्ञापन व्यवसायीहरुका अनुसार विदेशी टीभी च्यानलहरुले यो अझै संकुचित बनाइदिएका छन् । विदेशी च्यानलमा निर्वाधरुपमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन बज्छन्, जुन सामग्रीका नेपालमा थुप्रै उपभोक्ता छन् । नेपालमा बजार प्रवद्र्धनका लागि उत्पादक कम्पनीले छुट्टै रकम खर्चिन पर्दैन । यही कारणले नेपालमै रहेका बहुराष्ट्रिय कम्पनीहरुले नेपालका लागि विज्ञापनमा कमभन्दा कम खर्च गरिरहेको विज्ञापन व्यवसायीको भनाइ छ ।

यसबाट नेपालको विज्ञापन व्यवसायलाई वार्षिक करोडौं नोक्सानी भइरहेको छ । विदेशी च्यानलहरु क्लिन फिड लगाउन सके नेपालको विज्ञापन बजार अहिलेको भन्दा कम्तिमा दोब्बर हुन धेरै समय नलाग्ने विज्ञापन संघको दावी छ । यसबाट राजश्व पनि बढ्ने तर्क गरिन्छ ।

क्लिन फिड लागू भए विज्ञापन बनाउनका लागि स्वदेशको साधन–स्रोत प्रयोग हुन्छ र देशको आम्दानी बढ्छ । यस्तै स्वदेशी कलाकार र सेलिब्रिटीहरुको माग बढ्छ र विदेशी कलाकारले लैजाने पैसा नेपाली कलाकारले पाउँछन् । विज्ञापनबाट मिडिया हाउसहरु स्वतः लाभान्वित हुन्छन् र मिडिया उद्योग पनि फस्टाउँछ ।

अहिले सरकारलाई वार्षिक ७ लाख तिरेर विदेशी च्यानलहरु विज्ञापनसहित नेपालमा प्रसारण हुन सक्छन् । यही शुल्कबाट विदेशी टेलिभिजन सञ्चालकहरुले नेपालमा अर्बौंको विज्ञापन पनि देखाइरहेका छन् । यसलाई रोक्न र नेपालको विज्ञापनको बजारलाई व्यवस्थित एवं थप विस्तार गर्नका क्लिन फिडको व्यवस्था प्रभावकारी हुने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्लिन फिड लागू भएको अवस्थामा नेपाललाई आर्थिक रुपमा र मुख्य गरी सांस्कृतिकरुपमा फाइदा हुने नेपाल विज्ञापन संघका अध्यक्ष रिजाल बताउँछन् ।

उनले भने, ‘क्लिन फिड लागू गर्ने वा नगर्ने भन्ने विषय नेपालको राष्ट्रियता र नेपाली संस्कृतिसँग समेत जोडिएको छ । हामी अहिले पैसा तिरेर विदेशी संस्कृति हेरिरहेका छौं ।’

क्लिन फिड लागू भएपछि विदेशी च्यानल हेर्नेको संख्या पनि घट्ने र नेपालका टेलिभिजन बलियो हुन सक्ने संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment