Comments Add Comment

फेसबुकको ‘स्क्रिन शट’ ल्याएको छु, पढ्न सक्नुहुन्छ ?

सूचना प्रविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा केही असहमति पनि आएको भन्ने मैले सुनेको छु । खासगरी अभिव्यक्ति स्वतन्त्रतालाई अप्ठ्यारो हुन्छ कि भन्ने रहेछ ।

म के स्पष्ट पार्न चाहन्छु भने, यो (विकास तथा प्रविधि) समितिमा दुई/तीन पटक आएर किन यसको आवश्यकता पर्‍यो, भनिसकेको छु । नेपाली समाजलाई कसरी बढी स्वतन्त्र र मर्यादित गराउन सकिन्छ भन्ने कोणबाट नै विषयवस्तु अगाडि सारिएको हो ।

यो पनि मैले बारम्बार भन्दै आएको छु, स्वतन्त्रतारहित समाज बनाउन खोज्ने वा त्योखालको परिकल्पना होइन । स्वतन्त्रतालाई अवरुद्ध गराउने हामी सोच्न सक्दैनौं । हाम्रो संवैधानिक व्यवस्थाले नै नागरिकका वाक, अभिव्यक्ति र प्रशारणको स्वतन्त्रताहरुलाई सुनिश्चित गरेको छ ।

खाली कति मात्रै हो भने अभिव्यक्तिको पनि खास सीमा हुन्छ । त्यो सीमालाई हामीले अलिकति छाडापन अथवा दुःख दिने अथवा सूचना प्रविधिको ज्यादा भन्दा ज्यादा दुरुपयोग हुने कुरातर्फ हामी सचेत हुनुपर्छ ।

कुनै राजनीतिक विचारधाराको हिसावले भन्दा पनि हाम्रो समाजको मूल्य पद्दतिका आधारमा समाजलाई अगाडि बढाउनुपर्छ ।

सामाजिक सञ्जालसँग सम्बन्धित कुरा हो यो विधेयक । यो मेन स्ट्रिम जर्नालिज्मसँग सम्बन्धित कुरा होइन । सामाजिक सञ्जाल भनेको व्यक्ति व्यक्तिको अभिव्यक्तिको स्वतन्त्रताको कुरा हो । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई पनि हामी बन्देज गर्नै सक्दैनौं ।

तर, कसैलाई होच्याउन पाउनुपर्छ, हैरानी गर्न पनि छुट दिनुपर्छ वा अपमानित गर्न पनि छुट दिनुपर्छ भन्नु सही होइन । अभिव्यक्ति स्वतन्त्रता र गाली बेइज्यतीका बीचमा भेद छ । भेद छैन र ? त्यो भेदलाई पनि हामीले फरक परिभाषाभित्र राख्न नसक्ने हो भने त्यसले ठूलो समस्या ल्याउँछ ।

कतिपय चिजहरु यस्ता हुन्छन् कि मैले त्यस्ता चिजहरु स्क्रिन सर्ट गरेर पनि लिएर आएको छु । माननीयज्युहरुले ती शब्दहरु समूहमा बसेर पढ्न मिल्छ ? सक्नुहुन्छ र ?

कतिपय चिजहरु यस्ता हुन्छन् कि मैले त्यस्ता चिजहरु स्क्रिन सर्ट गरेर पनि लिएर आएको छु । माननीयज्यूहरुले ती शब्दहरु समूहमा बसेर पढ्न मिल्छ ? सक्नुहुन्छ र ? अथवा कसैले त्यस हिसावले आलोचना गर्न पाउनुपर्छ र ?

आलोचना गर्ने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन । आलोचना गर्ने कुरालाई त लोकतन्त्रले छुट दिन्छ–दिन्छ । मैले यो किन भन्दैछु भने, हामीले रोजेको व्यवस्था नै बहुदलीय हो । हाम्रो समाज नै बहुलवादी छ । हाम्रो सोच नै बहुलवादी छन् । हाम्रो संस्कृति बहुलवादी छ । हाम्रो भूगोल नै बहुलवादी छ । जब यो सबै कुरा छ भने त्यसमा बन्देज लगाउन सरकारले चाहेर मात्रै सक्छ र !

व्यक्ति–व्यक्तिको सञ्चार हुँदा, व्यक्ति व्यक्तिका बीचमा हुने बहस, आलोचना वा हैरानी बनाउने वा जिस्क्याउने वा अपमान गर्नेखालका कुराहरु, तर्साउने, धम्क्याउने कुराहरु छन् भने त्यो व्यक्ति व्यक्तिको अधिकारको प्रयोगको अधिकारको प्रयोग/अधिकारको दुरुपयोग भयो भने, दुरुपयोग हुँदा प्रतिवाद गर्न पाउने, कानुनी प्रतिवाद गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्छ । यस हिसावले सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।

तर, गालीगलौज र आलोचनालाई पनि पृथक लिन नसक्ने गरी आउने कुरा स्वागतयोग्य हुन सक्दैन । हाम्रो समाजको, घरको कुरा गरौं । आफ्नै निजी जीवनको पनि कुरा गरौं । स्वतन्त्रता त छँदैछ नि । सार्वजनिकरुपमा आलोचना गर्ने, व्यक्तिगतरुपमा आलोचना गर्ने स्वतन्त्रता पनि छ । तर, जथाभावी नै गर्ने, भन्नै नमिल्ने, बोल्नै नमिल्ने कुरा गर्नेखालका कुरा त गर्न हुँदैन ।

कसैलाई कोही मन पर्न सक्छ, निजी जीवनमा । कसैलाई कोहीप्रति घृणा हुन सक्छ । तर, कसैलाई पनि मन परेन भनेर बारम्बार सामाजिक सञ्जालको प्रयोग गरेर अपमानित हुनेगरी वा उसको इच्छाविपरीत जबरजस्ती … पहिला पहिला जात्रामा सिन्दुर हालेर भागी गएको जस्तो ! यस्तो जात्रा गरेर त भएन नि । त्यसकारण यो कुरालाई अलकति मनन गर्नुपर्छ माननीयज्युहरुले ।

यो को मान्छेलाई रक्षा गर्ने भन्ने होइन । आम मान्छेलाई रक्षा गर्न पनि र संस्कृतिको पनि । हाम्रो संस्कृति अलिकति पूर्वीय दर्शनमा आधारित संस्कृति हो । यसको छुट्टै मूल्य पद्दतिहरु छन् । जसलाई हामीले प्रयोग गरेका छौं । उपयोग गरेका छौं । संयुक्त बनाएका छौं ।

कोही यहीँ भएको माननीयज्यूले केही बोल्नुभयो भने जथाभावी नै लेखिएको हुन्छ । त्यो राम्रो होइन । त्यसैले यस्तो कुरालाई अभिव्यक्ति स्वतन्त्रता भनेर भन्नुहुँदैन । अभिव्यक्ति, आलोचना र गालीगलौजमा भिन्नता छ भन्ने बुझ्नुपर्छ ।

सबै कुरामा सरकारवादी हुने कि नहुने ? प्रश्न पनि यहाँ उठेको छ । त्यसमा व्यक्तिसित जोडिएको कुरालाई व्यक्तिले नै उजुरी गर्न पाउने गरी जान सकिन्छ । त्यसपछि दण्ड/जरिवाना/सजायका कुराहरुलाई के गर्न सकिन्छ हेरौं ।

कहिलेकाहीँ अञ्जानले भुक्किएर एकपटक भयो भने के गर्ने ? तर, धम्क्याउने कुरालाई चाहीँ एकपटक पनि प्रिय हुन सक्दैन मान्छेलाई । अपहरणकै धम्की दियो भने के गर्ने ? मानसिकरुपमै चोट पर्छ ।

पोस्टलाई रिपोस्ट गर्ने कुरामा त्यसखालको पटक–पटक गरेमा के ? एकपटक गरेमा के ? यो कुरामा अलिकति लचिलो बनाउन सकिन्छ । तर, त्यसभित्र पनि केही गम्भीर प्रकृतिका हुन्छन् । त्यो गम्भीर प्रकृति र अर्को कसरी छुट्याउने ? सबै कुरा कानुनमा अटाउन सकिएन भने, नियमावलीमा वा केहीमा ठाउँ राखौं । एकपटक भुक्किएर हुन सक्छ । तर, बारम्बार गर्ने भन्ने विषय घटनासँग सम्बन्धित हुन्छ ।

अर्को अदालतको गठनको सन्दर्भमा, सामाजिक सञ्जालहरुबट पीडित मान्छेहरुको संख्या बढ्दै गएको छ । यो सत्य हो । बाजुराकी कुनै महिलालाई साइबर बुलिङ गरेर एकदमै अप्ठ्यारो बनाइयो, डिप्रेसनमा पुर्‍याइयो भने कहाँ जाने त ? अहिले काठमाडौं आउनुपर्ने हुन्छ । हामी संघीयतामा गइसकेका छौं । यसमा पनि सोच्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस ‘मिडिया काउन्सिलभन्दा खतरनाक छ सूचना प्रविधि विधेयक’

यसमा विवादको जुन विषय छ, त्यसमा न्यायाधीशले नै टुङ्ग्याउने हो । विज्ञहरुले टुङ्ग्याउने हो । विज्ञहरु तथ्य पहिल्याउन राखिन्छ । अदालती हिसावले न्यायाधीशले नै फैसला गर्ने हो । अदालतको गठनको प्रकृया, बिधि यस हिसावले हुन्छ । र, छिटो न्याय दिनुपर्छ पीडितलाई ।

हाम्रो प्रचलित अदालती प्रक्रिया असाध्यै लामो हुन्छ । यो त मान्नुहुन्छ नि, दिनहुँ रिर्पोटहरु आइरहेका हुन्छन् । ४० बर्षपछि न्याय पायो भनेर एकजना बुढी मान्छेको अस्ति भर्खरै एउटा स्टोरी आएको छ । धन्न ज्यँुदै मुद्दा टुङिगए छ । यसमा (विधेयकमा) तत्काल न्याय पाउन सक्छ । यो प्रविधसँग सम्बन्धित हो, तुरुन्तै छुट्याइदिन्छ के गलत हो, के सही हो भनेर ।

साइबर आतंकको कुरा दुनियाँभरको कुरा हो । यसलाई साधारण रुपमा बुझ्न हुँदैन । बैंकिङ क्षेत्रमा प्रभाव पर्न सक्छ ।

प्रशासनिक क्षेत्रमा प्रभाव पर्न सक्छ । सुरक्षाको हिसावले पनि पर्न सक्छ । हाम्रो सम्पूर्ण यससम्बन्धी ब्यवस्थामा आक्रमण हुन सक्छ । हालसालै मात्रै पनि करिब ५ घण्टा हाम्रो राष्ट्रिय सर्भर ह्याक भएको थियो । यसो हुँदा यो साधारण विषय बन्दैन । संसारभर अहिले यसमा सबैभन्दा ठूलो हमला हुन्छ ।

हिजोमात्रै एउटा समाचार पढेको थिएँ, रसियाको सम्पूर्ण विद्युतीय प्रणाली अमेरिकाले ध्वस्त गर्न सक्छ । रसियाले तत्काल त्यसको असरलाई खतम बनाइदिन सक्ने प्रविधिको विकास गर्ने निर्णयमा पुग्यो रे । यसमा राष्ट्रपति पुटिनले सही गरे रे ।

भनेको, एउटा कुरामा मात्रै हुँदैन नि । सबै कुरा डिजिटल भइरहेको छ । सबै कुरा भर्चुअल दुनियाँमा प्रवेश गरेको छ । आखाँले सबै कुरा देख्दैन । आएर हानेपछि थाहा हुन्छ । त्यसो भएको हुनाले यो समस्या छ ।

न्युजिल्याण्डको कुरा पनि यहाँहरुले हेर्नुभयो होला । कति बर्ष जेल सजाय र कति जरिवाना गर्‍यो । लाइभ प्रशारण गरेको थियो नि हत्याको । त्यस्तो कुराहरुमा, दृश्यहरुका बारेमा पनि कुरा हुन्छ । त्यसैले यसमा मेरो अनुरोध के छ भने, साइबर सुरक्षा व्यक्तिको जीवनमा हुन्छ । आफ्नो निजी साइटहरुको पनि हुन्छ । राष्ट्रिय कुरा पनि हुन्छ । सबै कुरालाई अर्को कोणबाट नहेरौं । जोसुकै सरकारमा भए पनि यो चुनौतीको विषय छ । हाम्रो राष्ट्रयलाई प्रविधयुक्त भएको, विकास भएको चिजको उपलब्धी र चुनौतीबाट जोगाउनु, बचाउनु र भरपुर सदुपयोग गर्नु हाम्रो दायित्व हुन्छ । यो सबैको कुरा हो ।

साइबर बुलिङ पनि एक प्रकारको बार्गेनिङ नै हो । यसको सबैभन्दा धेरै वालवालिकामा असर परेको छ । यौन हिंसा पनि यसको माध्यमबाट भएको छ, यो त मान्नुहुन्छ नि । भइरहेको कुरा । यौन हिंसा नै हुन्छ भने यो हुन दिने त ? यो हिसावले जान सकिँदैन । व्यक्तिगत माया पिरती र धम्कीको कुरा, अपमानको कुरा भिन्न हुन्छ । केही टेक्निकल्ली अस्पष्ट छ भने सुधार गरौं ।

अहिले हामीले मोबाइलको ब्याट्री पनि चेक गर्ने सिस्टम लिएर आएका छौं । ब्याट्री किन चेक गर्नुपर्‍यो ? व्यक्तिको कुरा भन्नुहोला । मोबाइल पड्किरहेको छ । यसो हेर्दा व्यक्तिको पनि ब्याट्री चेक गर्न पर्ने भनेको जस्तो । तर, कति आयातकर्ताहरुले झिकाउँछन्, त्यसको टेस्ट हुनुपर्छ कि पर्दैन ? खल्तीमा हालेको मोबाइल पड्कियो भने त बम पड्किए जत्तिकै हुन्छ नि त । त्यसको गुणस्तरको पनि कुरा हुन्छ । यस्ता चिजहरुलाई व्यक्तिको सुरक्षाका निम्ति पनि आवश्यक छ ।

खाली नियन्त्रण हो कि, नियन्त्रण हो कि … मनको बाघले खाइदिनु भएन है । माननीय ज्युहरुलाई अनुरोध मेरो यो । यो पनि बताउँ कि हाम्रो जहाज एकचोटि झण्डै–झण्डै खस्न खोजेको थियो । लेजरको प्रयोगले दिशा दिग्भ्रमित गरेको थियो, कहाँबाट आएको थियो …. एक/डेढ बर्ष भयो । कोटेश्वर भन्दा अलि परैबाट काठमाडौं भ्याली प्रवेश गरिसकेपछि दिग्भ्रमित भएको । किनभने लेजर प्रयोग गरियो । र, पाइलटहरुलाई दिग्भ्रमित बनाइयो । एकैछिन १०/१५ सेकेण्ड मात्रै त्यो चिज गरेको हुनाले सुरक्षित अवतरण भयो । हामीले त्यो पत्ता लगायौं र पक्राउ पनि गर्‍यौं ।

त्यसैले व्यक्तिगत उपकरण भनेर मात्रै हुँदैन । ड्रोनहरुबाट पनि हुन जान्छ । अनुमति लिएर प्रयोग गरे भइहाल्यो ड्रोनहरु । तर, ड्रोनबाट एट्याक्ट पनि त हुन सक्छ । यी चिजहरुबारे सोच्नु पर्दैन र ! निकै सोच्नुपर्छ । सरकारलाई जानकारीमा आएर के हुन्छ ? बन्दुक पनि त जानकारी दिएर राख्न सकिन्छ । बन्दुक राख्नै नदिने भन्ने त छैन । दर्ता गरेर त राख्न पाइन्छ नि । यस हिसावले हेरिदिनुपर्‍यो भन्ने मेरो अनुरोध छ ।

(शुक्रबार सिंहदरबारमा विकास तथा प्रविधि समितिको बैठकमा सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment