Comments Add Comment

बंगलादेशसँग विद्युत उत्पादन र विक्रीका लागि पूर्वाधार निर्माणको सहमति

७ जेठ, काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरणका लागि पूर्वाधार बनाउने गरी सहकार्य गर्न सहमत भएका छन् ।  बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल-बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएको छ ।

नेपालको जलविद्युत आयोजनामा बंगलादेशले लगानी गर्ने, नेपालबाट बंगलादेशसम्म विद्युत निर्यात गर्ने र दुबै देशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे र बंगलादेशका ऊर्जा सचिवले उक्त सहमतिपत्रमा हस्तक्षर गरे । ऊर्जा मन्त्रालयका सहसचिव प्रविन अर्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोलीले बंगलादेशसँग सहमतिका लागि छलफल गरेको थियो ।

नेपालबाट भारत हुँदै बंगलादेशसम्म प्रशारणलाइन निर्माण गर्ने प्रक्रिया अघि बढाउन दुबै देश सहमत भएका छन् । यसका लागि परियोजना तयारीका लागि अघि बढ्ने निर्णय भएको छ । हाललाई भारतकै संरचना उपयोग गरेर नेपालबाट सम्भाब्य बिजुली बंगलादेशले खरिद गर्ने सैद्दान्तिक सहमति पनि भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

यस्तै बंगलादेशले नेपालको जलविद्युत आयोजनामा लगानी गर्न आयोजनाको छनोट थाल्न दुबै देश सहमत छन् । सरकारले जारी गरेको ऊर्जा श्वेतपत्रका २० आयोजनामध्येबाट प्राथमिकीकरण गरी आयोजना छान्न संयुक्त प्राविधिक समिति बनाउने निर्णय भएको छ ।

यो समितिले दिने प्रतिवेदनअनुसार दुई देशबीचको सहसचिव स्तरीय संयन्त्रमा छलफल गरेर दुई दशेबीच परियोजना टुंगो लगाउँदै अन्तिम सहमति कायम गरिने छ । बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्ऽ र बंगलादेशको सेडाबीच सहकार्य गर्न पनि सहमति जुटेको छ ।

गत भदौमा उर्जामन्त्री वर्षमान पुनकै पहलमा दुई मुलुकबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्य गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुरुप दुई मुलुकबीच बनाइएको ऊर्जा संयन्त्रको बैठकले तीन महत्वपूर्ण निर्णय लिएको हो ।

बंगलादेशले १ हजार १ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५३६ मेगावाटको सुनकोसी तेस्रो निर्माणमा चासो देखाउँदै आएको छ । भारतीय कम्पनी जीएमआरले लगानी गर्न लागेको ९ सय मेगावाटको माथिल्लो कर्णालीको विद्युत खरिद गर्न पनि बंगलादेश तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment