+
+

शंकास्पद सिरिन्ज अट्याक : एचआईभी सर्ने डरले विक्षिप्त छु

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ असार ६ गते १८:५८

सन् २०१४ मा अमेरिकाको एउटा शहरमा रेस्टुरेण्टमा बसिरहेकी एक युवतीलाई एकजना युवा आएर सिरिन्ज घोच्छन् । अनि, ‘वेलकम टु दी एचआईभी क्लब’ भन्दै फरार हुन्छन्  ।

त्यसअघि  १९९८ मा अमेरिकाको एउटा थियटरको सिटमा  सिरिन्ज राखिएको हुन्छ  । युवती बस्नासाथ उनको हिपमा सिरिन्ज घोपिन्छ  । उनी अत्तालिँदै उठ्दा सिटमा एउटा चिर्कटो भेटिन्छ  । जसमा लेखिएको हुन्छ, ‘ अब तिमी पनि एचआईभी पीडित हुँदैछौं  ।’

त्यो समयमा अमेरिकामा त्यस्तै प्रकृतिका घटनाहरु धेरै भएका थिए  । यदाकदा सुनिएका सिरिन्ज अट्याकलाई बिर्साउने गरी गएको डेढ महिनामा काठमाडौं उपत्यकाका चार युवतीमाथि यस्तै आक्रमण भएको छ । युवतीहरूमाथि घोचिएको सिरिन्ज नै हो वा धारिलो हतियार भन्ने यकीन भइसकेको छैन । घटनाबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ भने टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा रगत जाँच भइरहेको छ । तर आक्रमणमा परेकी युवतीहरुमा ‘एचआईभी संक्रमण हुने हो कि’ भन्ने डर देखिएको छ ।

****

‘केहीबेर बाइक घुमायो अनि बाटो हिँडेका मान्छे अलि पर पुगेपछि मेरो कम्मरमा हिर्काएर भाग्यो’ उनले डराएको भावमा बोलिन्, ‘त्यतिबेला त मलाई डर मात्र लाग्यो । तर बिहान ४ बजे सहनै नसक्ने गरी कम्मर दुखेपछि ‘सिरिन्ज’ हानेर भागेको रहेछ भन्ने थाहा पाएँ ।’

आक्रमणमा परेकी  २३ वर्षीया जेनी (नाम परिवर्तन)  आफूलाई सिरिन्ज आक्रमण नै भएको दाबी गर्छिन् । ढल्कुस्थित आफ्नो घरमा बसेर उनी त्यो दिन सम्झिरहेकी छिन् ।

त्यो दिन अर्थात जेठ १८ गते ।

रातको १० बजेर २० मिनेट ।

जेनी खाना खाएर कुकुर डुलाउन रोडमा निस्किएकी थिइन् । उनका श्रीमान घरमै सुतिरहेका थिए । त्यति राति पनि मानिसहरु सडकमा ओहोर दोहोर गरिरहेका थिए । चोकमा एउटा मोटरसाइकल घुमिरहेको देखिन्थ्यो । जेनीले कुकुरलाई पिसाब गराइन् । अनि घर जान लाग्दा रोडमा फनफनी घुमिरहेको मोटरसाइकल उनको नजिक आयो । आखाँ झिमिक्क पार्न नपाई जेनीको कम्मरमा ठक्कर दिएर फरार भयो । उनी डराएर मोटरसाइकलवालालाई सराप्दै घरतिर लागिन् ।

कम्मरमा अलिअलि दुखिरहेको थियो । मोटरसाइकलको ह्याण्डिलले लाग्यो होला भनेर वास्ता गरिनन् । आधा घण्टापछि घटनाबारे श्रीमानलाई सुनाइन् । श्रीमान मुर्मरिए ! मुर्मुरिएर के गर्नु मोटरसाइकलबाला फरार भइसकेको थियो ।

जब बिहानको चार बज्यो, जेनीलाई सहनै नसक्ने गरी दुख्न थाल्यो । जेनीले श्रीमानलाई सुनाइन् । दुखेको ठाउँमा हेर्दा त केही धारिलो वस्तुले छेडेजस्तो प्वाल देखिन्थ्यो । त्यो ठाउँ अस्वाभाविक रुपमा सुन्निएको थियो । उनीहरु बिहानै क्षेत्रपाटीस्थित चिकित्सालय गए । त्यहाँको डाक्टरले टिटानासको सुई लगाइदिए । परीक्षणका लागि रगतको नमुना लिए र भने,  ‘के भएको हो तीन महिनापछि मात्रै  थाहा हुन्छ ।’

त्यतिन्जेल जेनीलाई सिरिन्ज हानेको शंका लागिसकेको थियो । अन्य देशमा पनि यस्ता घटना हुन्छन् भन्ने सुनेकी थिइन् तर, डाक्टरले ‘अत्तालिनु पर्दैन सामान्य हो’ भनेकाले ढुक्क थिइन् ।

उनले बुबालाई घटनाबारे सुनाइन् । बुवाको जवाफले छाँगाबाट खसेजस्तै भइन् ।  असिन पसिन भएर ओठ मुख सुक्न थाले । दिमागले केही सोच्च नसक्ने भयो, टोलाइरहिन् । जेनीको अवस्था देखेर उनका श्रीमान पनि स्तब्ध भए ।

जेनीका बुवाका आफन्त शुक्रराज ट्रपिकल सेन्टरमा काम गर्थे । केही दिनअघि त्यहाँ त्यस्तै केस आएको थाहा पाएका थिए । त्यो केसमा चिकित्सकहरुले एचआईभीको शंका गरेर औषधि (एआरटी)  चलाएका थिए । बुवाले त्यही घटना सुनाएपछि जेनीको होसहवास उड्यो । त्यसपछि जेनी पनि टेकुतिर लागिन् ।

त्यहाँ जानासाथ जेनीलाई २८ दिनको लागि एआरटी चलाए । हेपाटाइटिस विरुद्दको भ्याक्सिन लगाइदिए । र, रगत जाँच गरे । रगतको जाँचको नतिजा सामान्य निस्कियो ।

‘धन्न ७२ घण्टा पुग्नुअघि नै अस्पताल गइएछ’ जेनी अत्तालिँदै भन्छिन्,’ ७२ घण्टा कटेपछि एआरटी चलाउन नमिल्ने रहेछ । ढिलो भएको भए बर्बादै हुनेरहेछु ।’

जेनीका ५ र २ वर्षका गरी दुई छोरा छन् । श्रीमानले डल्लुमा व्यवसाय गर्छन् । उनी घर गृहणीको काम गर्छिन् । छर छिमेकमा केही दुश्मनी पनि छैन् । जिन्दगी सामान्य छ । सामान्य तरिकाले जीवन बिताइरहेका थिए ।

****

श्रीमतीलाई एचआईभी विरुद्दकै औषधि खुवाउनु परेपछि जेनीको श्रीमानले प्रहरीको सहयोगमा सीसीटीभी फुटेज हेरे । फुटेजमा आक्रमणकारी लैनचौरबाट ढल्कुतिर छिरेको देखिन्छ । ढल्कु चोकमा तीनचार फन्को घुमेको छ । जेनी रोडबाट घरतिर जाने गल्ली छिर्नै लाग्दा मोटरसाइकलबाला केही धारिलो वस्तुले घोपेर फरार भएको देखिन्छ । तर, फुटेजमा न मानिस स्पष्ट देखिन्छ न सिरिन्ज हानेको हो कि काँटी भन्ने खुल्छ ।

आफूलाई सिरिन्जले नै हानेको जेनीको दाबी छ । त्यसैले उनी त्रसित छिन् । आक्रमणमा परेको एक सातासम्म मानसिक रुपमा विक्षिप्त भएको सुनाउँछिन् । मन र मष्तिष्कमा जतिबेला पनि एचआईभी संक्रमितकै झल्को आउँछ । न राम्रोसँग खाएकी छिन् न रातमा निदाउन सकेकी छिन् ।

सकसमा बितिरहेको छ दिन । ‘डाक्टरले अबको तीन महिना नभई केही थाहा हुन्न्’ भनेका छन्’, निराश हुदैँ सुनाउँछिन्,  ‘एक दिन काट्न मलाई एक जुगजस्तो लागिसक्यो । तीन महिना कसरी काट्ने ?  त्यतिबेला एचआईभी देखियो भने !’

जेनी बोल्दा बोल्दै चुप भइन् । घोसेमुण्टो लगाएर हातका ‌औंलाहरु एकअर्कामा चलाइरहिन् । मुहारमा घनघोर निराशा छायो । छेउमा बसेर कुरा सुनिरहेका जेनीका श्रीमान सुस्तरी बोले, ‘एचआईभी/सेचाईभी केही हुन्न, डाक्टरले त्यस्तो नहोस् भनेर सावधानी अपनाउन पो औषधि दिएका त । चिन्ता नलिनु भनेर डाक्टरले भनेकै छन् त ।’

श्रीमानको सान्त्वनाले उनको मन के बुझ्थ्यो । उनी प्रतिक्रियाविहीन भइरहिन् । फेरि श्रीमानले सान्त्वना दिए, ‘किन चिन्ता लिन्छौ केही हुन्न के । ल एचआईभी नै भएछ भने पनि जीवनभर तिम्रो साथ छोड्दिनँ… ।’

श्रीमानको कुरा सुनेर जेनी लजाइन् मात्र । कोठामा केही क्षण सन्नाटा छायो ।

*****

जेनी र उनका श्रीमान दुबैजना त्रासमा छन् । कोठाबाट बाहिर निस्कन पनि डर लाग्छ । मनमा अनेकथरी तर्कना खेलेर जेनी अत्तालिइसकिन् । तीन महिना कहिले पुग्ला भनेर छटपटाइरहेकी रहेकी छिन् । मानिसहरुले नकारात्मक कुरा गरेको सुन्दा पनि दिक्क लाग्छ । सञ्चार माध्यममा आउने समाचारहरुले पनि डर थपेको छ ।

उनलाई डर थप्ने अर्को समाचार हो,  जेठ ३२ को ।

त्यो दिन ढल्कु नजिकै पकनाजोलमा दुई दिदी बहिनीमाथि पनि त्यस्तै घटना भयो, जुन उनले भोगेकी थिइन् । समयपनि राति १० बजे नै । अहिलेसम्मका सबै घटनाको प्रकृति मिल्दो छ ।

तीनवटै घटना राति भएको छ । पीडित २० देखि ३० वर्षका उमेरबीचका छन् । घटना एउटै क्षेत्र अर्थात डल्लु, ढल्कु र पकनाजोलमा भएका छन् । अनि तीनवटै घटनामा आक्रमणकारीले बाइक प्रयोग गरेको छ ।

घटनाको प्रकृति हेर्दा एउटै व्याक्तिले चार जनालाई आक्रमण गरेको अनुमान लगाउन सकिन्छ । तर अनुसन्धान गरिरहेको प्रहरीले यसबारे कुनै पनि तथ्य बाहिर ल्याएको छैन ।

‘म पछि २ जना दिदी बहिनीमाथि सिरिन्ज आक्रमण भएको सुन्दा डर दोब्बर बढेको छ नै । पश्चाताप पनि लागेको छ’ जेनी बोल्छिन्, ‘ममाथि सिरिन्ज आक्रमण हुनासाथ घटना सार्वजानिक गरेको भए अरु मानिसहरु सचेत हुन्थे । ती दिदीबहिनीहरुले मेरो जस्तो तनाव भोग्नुपर्दैनथ्यो ।’

*****

एचआईभी विरुद्दको एआरटी औषधि खाएपछि जेनीलाई शरीरभरि फोका आएको छ । २ वर्षे बच्चालाई स्तनपान गराउन डराएकी छिन् । डरकै कारण अस्पतालका डाक्टर र प्रहरीहरुलाई फोन डायल गर्दा ‘नअत्तालिनुस् हामी अनुसन्धान गर्दैछौँ’  भन्ने जवाफ आउँछ ।

त्यो जवाफले मनको ज्वारभाटा कहाँ शान्त हुन्छ र ? ‘म अहिले यस्तो मनस्थितिमा छु कि केही सोच्न सकिरहेको छैन । मन मष्तिष्क सबैतिर एचआईभीकै कुरा खेल्छ । डरले बेचैन भएर दिन कटारहेको छु’ जेनी भन्छिन्, ‘तीन पटक रगत जाँच गराउँदा नर्मल रिपोर्ट आएको छ । अरु रिपोर्ट कस्तो आउला भन्ने खुलदुलीले नै विक्षिप्त भइसकेँ ।’

यो घटना नजिकबाट नियालिरहेका शुक्रराज ट्रपिकल सेन्टरका डाक्टर अनुप बास्तोला आक्रमणकारीको नियत पत्ता नलागेको बताउँछन् । एउटै प्रकृतिका घटना चारजनामाथि भएकाले रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने उनको शंका छ । ययद्पि आक्रमणमा परेका युवतीहरुको तीन महिनाको रिपोर्ट नहेरी केही भन्न नसक्ने सुनाउँछन् ।

बास्तोलाको अनुसार चार युवतीहरुलाई ‘निडल स्टिक इन्जुरी’ को उपचार गरिएको छ । त्यस्तै हेपाटाइटिस बी विरुद्दको भ्याक्सिन पनि दिइएको छ । यस्तो प्रकृतिको उपचार एचआईभी/हेपाटाइटिस संक्रमित व्याक्तिहरुको रगत निकाल्ने, अपरेशन गर्ने चिकित्सकहलाई उपकरणहरु चलाउँदा घोच्यो या संक्रमित व्याक्तिको रगत लाग्यो भने गर्ने गरिन्छ । यस्तो उपचार पद्दति सिरिन्ज लागेको ७२ घण्टाभित्रै सुरु गरिसक्नुपर्छ ।

डाक्टर बास्तोलालाई सिरिन्जले नै घोपेको हो भन्ने विश्वास लाग्दैन । घोपिएको ठाउँको घाउँ सामान्य सिरिन्जको भन्दा ठूलो भएकाले काँटी वा अरु नै धारिलो हतियार हो कि भन्ने पनि लाग्छ । तर सिरिन्ज नै होइन भनेर ठोकुवा गर्न पनि सक्दैनन् । भन्छन्, ‘आक्रमण गराउने मान्छे को हो ?  त्यसको नियत पत्ता नलागेसम्म केही भन्न सकिन्न ‘

सिरिन्ज नै हो भने संक्रमणको सम्भावना कत्ति ?

बास्तोलाका अनुसार आक्रमणकारीले रोग सार्ने नियतले नै  सिरिन्ज आक्रमण गरेको भएमा सिरिन्जबाट एचआईभी संक्रमित हुने सम्भावना ०.०३ प्रतिशत रहन्छ । हेपाटाइटिस बी सर्ने सम्भावना भने एचआईभीको भन्दा बढी हुन्छ । सिरिन्ज हो या अरु नै धारिलो वस्तु एकिन नभएकाले सिरिन्ज नै भनेर डराउने पर्नु अवस्था नरहेको बास्तोला सुनाउँछन् । भन्छन्, ‘अहिले सचेत मात्रै हुने हो सिरिन्ज नै हो भनेर भयवित हुनुपर्ने अवस्था छैन ।’

को थिए आक्रमणकारी ?

राति आक्रमण गरेर भागेकाले जेनीलाई आक्रमणकारीको हुलिया याद छैन । अन्य पीडितले पनि आक्रमणकारीको हुलिया बताउन सकेका छैनन् । आक्रमणकारी एउटै हो कि  भन्ने शंका भए पनि यथार्थ थाहा छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी आक्रमणकारी एउटै हुनसक्ने सम्भावना रहेको बताउँछन् । उनका अनुसार आक्रमणकारीको पहिचान गर्न सीसीटीभी फुटेज र पीडितको बयानका आधारमा खोजी भइरहेको छ । बोगटी भन्छन्, ‘हामी आक्रमणकारी खोजिरहेका छौँ । चाँडै सार्वजानिक गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?