+

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

२०८२ कात्तिक  ३ गते १४:४६ २०८२ कात्तिक ३ गते १४:४६

जन्मिदा तौल र बाल्यकालमा तौल बढ्ने दरले पनि यौवनलाई छिटो ल्याउन सक्छ । दोस्रो, निस्क्रिय जीवनशैलीले ठूलो प्रभाव पार्छ ।

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हार्वड स्कुलको २०२४ मेको अध्ययनले किशोरीहरूमा महिनावारी सुरु हुने औसत उमेर घट्दै गएको पुष्टि गरेको छ।
  • नेपालमा सामान्य महिनावारी सुरु हुने उमेर ९ देखि १३ वर्षको बीचमा मानिन्छ, ८ वर्षभन्दा कम उमेरमा सुरु भएमा चिकित्सकीय जाँच आवश्यक हुन्छ।
  • महिनावारी सुरु हुनु अघि अभिभावकहरूले ५–६ वर्षदेखि यौवन र महिनावारीबारे बालिकालाई सिकाउनुपर्ने डा. दीजा खनालको सुझाव छ ।

विश्वव्यापी रूपमा किशोरीहरूमा महिनावारी सुरु हुने औसत उमेर क्रमशः कम हुँदै गएको देखिन्छ । पहिले प्राय: ११–१२ वर्षको उमेरमा महिनावारी सुरु हुन्थ्यो । तर, अहिले ८–९ वर्षका बालिकामा पनि पहिलो महिनावारी सुरु हुने घटना बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

२०२४ मेमा अन्तर्राष्ट्रिय जनरल जामा नेटवर्क ओपेनमा प्रकाशित हार्वड स्कुलले गरेको अध्ययनले पनि पछिल्लो पुस्ताका किशोरीहरूमा महिनावारी समयभन्दा अगाडि सुरु हुने प्रवृत्ति तीव्र गतिमा बढिरहेको पुष्टि गरेको छ ।

यसो हो भने, यो केवल शारीरिक परिवर्तन मात्र नभई सामाजिक, मानसिक र पारिवारिक तयारीसँग पनि जोडिएको हुन जान्छ । किनकी, समयभन्दा अघि सुरु भएको महिनावारीले बालिकाको शरीर त परिपक्व देखिन थाल्छ तर मानसिक, भावनात्मक र सामाजिक तयारी भने प्रायः परिपक्व हुँदैन ।

यही संवेदनशील विषयलाई अझ नजिकबाट बुझ्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रसूति एव स्त्रीरोग विशेषज्ञ डा. दीजा खनालसँग गरिएको कुराकानीको
सम्पादित अंश :

पहिले ९–१० कक्षा पढ्दा मात्रै किशोरीहरूमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले ८–९ वर्षका बालिकामा पनि सुरु भएको सुन्न पाइन्छ । के आजभोलि महिनावारी सुरु हुने समय पहिलेको तुलनामा छिटो हुन थालेको हो ?

महिनावारी सुरु हुनुपर्ने सामान्य उमेर १० वर्षको हो । महिनावारीको सुरुको सामान्य उमेर ९ देखि १३ वर्षको बीचमा मानिन्छ, औसतमा १० वर्ष । सन् १९६० को दशकदेखि हरेक दशकमा महिनावारीको औसत उमेर करिब तीन महिनाले घट्दै गएको अध्ययनहरूले देखाएका छन् । तर, ह्वात्तै उमेर कमै हुँदै गएको चाहिँ होइन । तर, पहिलेको भन्दा केही उमेर अघि आएको चाहिँ हो ।

यसरी महिनावारी अघि सर्नु सामान्य कि असामान्य ?

पहिला १० वर्षको उमेरलाई सामान्य मानिन्थ्यो भने र ९ वर्षभन्दा अगाडिको उमेरलाई असामान्य मानिन्छ । यदि ८ वर्षभन्दा कम उमेरमा महिनावारी वा यौवनका लक्षणहरू, जस्तै स्तन विकास, शरीरमा रौँ उम्रने, वा आवाजमा परिवर्तन देखिन्छ भने, यो असामान्य मानिन्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा प्रिकोसियस प्युबर्टी भनिन्छ र यसका लागि डाक्टरको सल्लाह आवश्यक हुन्छ ।

नेपालको सन्दर्भमा, ९ वर्षमा महिनावारी हुनु सामान्य मानिन्छ । तर, ८ वर्षभन्दा कम उमेरमा यौवनका लक्षण जस्तै, स्तन विकास छिटो भइरहेको छ । यो भित्री अंगहरूमा आउने कपालहरू, काखीमा आउने कपालहरू छिटो आइरहेको छ । आवाजमा परिवर्तन छिटो भइरहेको छ । यस्तोमा हर्मोनल असन्तुलन, थाइरोइड समस्या वा अन्य स्वास्थ्य अवस्थाको जाँच गर्नुपर्छ ।

उदाहरणका लागि, अमेरिकाको गोरो समुदायमा ७ वर्षभन्दा अगाडिको यौवन र अफ्रिकी–अमेरिकी समुदायमा ६ वर्षभन्दा अगाडिको यौवन असामान्य मानिन्छ । साढे ९ वा १० वर्षमा महिनावारी हुनु सामान्य हो, तर ८ वर्षभन्दा कम उमेरमा भएमा चिकित्सकीय जाँच जरुरी हुन्छ ।

कम उमेरमा महिनावारी हुनुका कारणहरू के हुन सक्छन् ?

कम उमेरमा महिनावारी हुनुमा विभिन्न कारकहरूले भूमिका खेल्छन् । पहिलो, पोषण र शरीरको तौल महत्वपूर्ण हुन्छ । महिनावारी सुरु हुन शरीरमा कम्तीमा १७ प्रतिशत बोसो आवश्यक हुन्छ । अहिलेको पुस्तामा राम्रो खानपान र उच्च क्यालोरीयुक्त खानाले बालिकाहरूले यो सीमा छिटो पार गर्छन् ।

जन्मिदा तौल र बाल्यकालमा तौल बढ्ने दरले पनि यौवनलाई छिटो ल्याउन सक्छ । दोस्रो, निस्क्रिय जीवनशैलीले ठूलो प्रभाव पार्छ । पहिलाको तुलनामा अहिले बालबालिका शारीरिक रूपमा कम सक्रिय छन् । स्क्रिन टाइम बढी र बाहिरी खेलकुद कम हुँदा तौल बढ्छ, जसले हर्मोनमा परिवर्तन ल्याउँछ । तेस्रो, तनावले पनि हर्मोनल परिवर्तनलाई ट्रिगर गर्छ ।

पारिवारिक विवाद, बाल्यकालको मानसिक दबाब, वा सामाजिक तनावले यौवन छिटो ल्याउन सक्छ । चौथो, वातावरणीय रसायनहरू, जस्तै प्लास्टिक, सौन्दर्य प्रशाधन, र अन्य उत्पादनमा पाइने हर्मोनलाई प्रभाव पार्ने रसायनहरूले पनि यौवनलाई छिटो ल्याउन सक्छ ।

थाइरोइड समस्या वा हर्मोन उत्पादन गर्ने ट्युमर जस्ता स्वास्थ्य अवस्थाले पनि यस्तो अवस्था निम्त्याउन सक्छ, यद्यपि यस्ता केसहरू कम हुन्छन् ।

शरीर परिपक्व भइसकेको हुन्छ, तर, त्यो हिसाबले मानसिक रूपमा कच्चा हुँदा बालिकाको शारीरिक र मानसिक प्रभावबीचले कतिको असन्तुलन ल्याउला ?

महिनावारी सुरु हुनु भन्दा एक वर्षअघि नै शारीरिक परिवर्तनहरू देखिन थाल्छन् । जस्तै, स्तनको आकार परिवर्तन हुनु, शरीरका केही भागहरूमा रौँ आउनु । त्यतिबेला ती परिवर्तनहरू के हुन् भन्ने बुझ्न नसक्दा बालिकाले डर, लाज र असमञ्जसको अनुभव गर्छन् । यो अझ बढी तब हुन्छ, जब आफ्नै उमेरका साथीहरूमा महिनावारी सुरु भएको हुँदैन । आफ्नो जस्तो परिवर्तन अरूकोमा नभएको कुरा मनमा उठिरहँदा बालिकालाई असर पर्न सक्छ ।

साथीहरूमा ती परिवर्तन नदेखिँदा आफू ‘अलग’ वा ‘असामान्य’ भइएजस्तो महसुस हुनसक्छ, जसले आत्मविश्वास घटाउँछ र मानसिक तनाव बढाउँछ । एक त शारीरिक विकासको कारणले तनाव बढाइरहेको छ, अर्को भनेको हर्मोनल परिवर्तनले झनै उनीहरूलाई मानसिकरूपमा कमजोर बनाउँछ । यसले उनीहरूलाई बाल्यकालमा हुने एन्जाइटी पनि गराउन सक्छ । यसरी चिन्ता लिने मूल कारण हो-महिनावारी र यौन विकासबारे प्रारम्भिक जानकारीको अभाव ।

महिनावारीको समयमा परिवारबाट अलग बस्ने, घाम नहेर्ने वा दाजुभाइलाई नछुने जस्ता सांस्कृतिक चलनहरूले थप भावनात्मक तनाव निम्त्याउँछ । यस्ता गलत प्रथाहरू अहिले पढे लेखेको परिवारमा हट्दै गइरहेको देखिन्छ । जुन राम्रो पक्ष हो । तर, अझै पनि ग्रामीण भेगमा भने यो चलन देखिन्छ ।

अझ महिनावारी अनियमित भयो वा रक्तश्राव बढी भयो भने त महिनावारीमा राम्रो नबारेर यस्तो भएको भन्ने आरोप लगाउने चलन पनिछ । जबकि, यो सबै हर्मोनल परिवर्तन वा अन्य समस्याले गरेर हुन्छ ।

महिनावारी हुनुअघि नै मानसिक रूपमा पुर्वतयारी गर्नका लागि अभिभावकले कस्तो भूमिका खेल्नुपर्छ ?

सबभन्दा पहिला, महिनावारी भइहाल्यो भने डराउने कुरा होइन, शरीरको स्वाभाविक प्रक्रिया हो भन्ने बुझाउनु पर्छ । तनाव, डिप्रेसन, एन्जाइटी भनेको हर्मोनको खेल हो । त्यसैले, अभिभावकहरूले ५–६ वर्षको उमेरदेखि नै आफ्ना छोरीहरूलाई यौवन र महिनावारीबारे सिकाउनुपर्छ ।

यो शिक्षाले शारीरिक परिवर्तनहरू सामान्य हुन् भन्ने आत्मविश्वास दिलाउँछ र लज्जा कम गछ । आमाबुबा, दाजुभाइ र दिदीबहिनी सबैले खुला संवादमा भाग लिनुपर्छ, जसले परिवारमा सहयोगी वातावरण बनाउँछ । उदाहरणका लागि, बालिकाहरूलाई स्यानिटरी प्याड बोक्ने बानी सिकाउनुपर्छ, ताकि स्कूल वा बाहिर हुँदा अचानक महिनावारी भएमा उनीहरू तयार रहुन् ।

बाबु र दाजुहरूले पनि यी विषयमा बुझेर सहयोग गर्नुपर्छ, जसले बालिकाहरूलाई मानसिक रूपमा स्थिर राख्न मद्दत गर्छ । यदि बालिकाले यसबारे पहिले नै थाहा पाउँछिन् भने, शारीरिक परिवर्तन हुँदा उनी डराउँदिनन् ।

हाइजिनको कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । सफा भित्री वस्त्र लगाउने, हरेक ४–६ घण्टामा प्याड फेर्ने, शरीर सुक्खा राख्न सिकाउनुपर्छ । महिनावारीको समयमा स्वच्छताले ठूलो भूमिका खेल्छ । सुती कपडाको अन्डरगार्मेन्ट प्रयोग गर्दा संक्रमणको जोखिम कम गर्छ । दिसा वा पिसाबपछि अगाडिदेखि पछाडितर्फ पुछ्नुपर्छ, ताकि ब्याक्टेरिया योनीमा नपुगोस् ।

अहिले पहिले करिअर बनाउने भनेर विवाह र सन्तान जन्माउने निर्णय ढिलो हुन्छ । त्यसमाथि यदि महिनावारी समयभन्दा अगाडि सुरु भयो भने प्रत्येक चक्रमा अण्डा खर्च हुँदै जान्छ । यसले प्रजनन् क्षमतामा समस्या आउँदैन ?

यो विषयमा दुईवटा विचारधाराहरू छन् । पहिलो विचारले भन्छ- महिलामा अण्डाको संख्या जन्मँदै निश्चित हुन्छ । प्रत्येक महिनावारीमा केही अण्डा नष्ट हुन्छन् । यदि महिनावारी छिट्टै सुरु भयो भने अण्डा छिटो खर्चिन्छन्, त्यसैले महिनावारी छिटो सुक्छ ।

अर्को विचारधाराले भन्छ- अण्डाको संख्याभन्दा पनि गुणस्तर महत्वपूर्ण हुन्छ । छिट्टै महिनावारी सुरु हुँदा शरीरक‍ा राम्रो गुणस्तरका अण्डा पहिले नै खर्चिन्छन्, त्यसैले पछि गएर बाँकी अण्डाको गुणस्तर घट्दै जान्छ । यही कारणले, उमेर ढिलो भइसकेपछि बच्चा पाउन कठिनाइ वा जन्मिने बच्चामा क्रोमोसोम सम्बन्धी समस्या देखिन सक्छ ।

त्यसैले करियर र परिवारको योजना दुवै सँगै अघि बढाउनु बुद्धिमानी हुन्छ । ३० वर्षपछि अण्डाको गुणस्तर घट्दै जाने भएकाले २५ देखि ३० वर्षकै बीच सन्तान जन्माउने उमेरलाई अहिले पनि सर्वश्रेष्ठ प्रजनन उमेर मानिन्छ ।

अर्को कुरा, महिनावारी सुरु भएलगत्तै इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोन सक्रिय हुन्छन् । यी हर्मोन लामो समयसम्म उच्च रहँदा ब्रेस्ट क्यान्सर र एन्डोमेट्रियल (पाठेघरको भित्री भाग) क्यान्सर हुने सम्भावना पनि बढ्छ ।

त्यस्तै, महिनावारी छिटो सुरु भयो भने र छिटै सुक्यो भने शरीरमा इस्ट्रोजनको मात्रा घट्छ । इस्ट्रोजन नै मुटु र हड्डीलाई सुरक्षा दिने हर्मोन हो । यसको कमीले हृदयघात, स्ट्रोक र हड्डी कमजोर हुने जोखिम धेरै बढाउँछ ।

यस्तो परिवर्तनलाई नियन्त्रण गर्न सम्भव छ ? 

छिटो महिनावारी हुने प्रक्रियालाई रोक्न सकिँदैन, किनभने यो जीवनशैली र वातावरणसँगै परिवर्तन भइरहेको कुरा हो । तर यसको असर कम गर्न सकिन्छ । स्वस्थ आहार, नियमित व्यायाम, प्रशोधित खाना र मदिराबाट टाढा रहने र हर्मोनल सन्तुलन कायम राख्ने बानी बसाल्नुपर्छ ।

सन्तुलित खानपान, जस्तै-: फलफूल, फाइबरयुक्त खाना र नट्सले भरपूर खाना खान प्रोत्साहन गर्नुपर्छ । तर, बाहिरी खानेकुरा जंक फूडहरूमा नियन्त्रण गर्नुपर्छ । किनकी, यी खानेकुराले शरीरलाई पोषण कम दिन्छ । त्यो मात्र होइन, अनावश्यक तौल बढाउन सक्छ ।

साथै, बाहिरी खेलकुद र शारीरिक गतिविधिलाई बढावा दिनुपर्छ । ताकि, निस्क्रिय जीवनशैलीले हुने हर्मोनल असन्तुलन कम होस् । सौन्दर्य प्रशाधनमा पाइने हर्मोनलाई प्रभाव पार्ने रसायनको प्रयोग कम गर्न प्राकृतिक उत्पादनहरू प्रयोग गर्नुपर्छ ।

अहिले किशोरावस्थामा, बालिकामा अनियमित महिनावारी, कहिलेकाहीँ अत्यधिक रक्तस्राव भएर अस्पतालसम्म लैजानुपर्ने समस्या बढेको छ, किन हुन्छ ?

हो, यो अहिले आम समस्या बनेको छ । वास्तवमा हाम्रो शरीरमा महिनावारी नियमन गर्ने एउटा प्रणाली हुन्छ- ‘हाइपोथालोमस–पियुटरी–ओभरियन एक्सिस’ भनिन्छ।

यो प्रणाली दिमाग र पाठेघरबीचको सन्देश पठाउने बाटो हो । हाइपोथ्यालमसले आदेश दिन्छ, ‘अब काम सुरु गर’ पिट्युटरीले त्यो आदेश लिन्छ र ओभरीलाई हर्मोन उत्पादन गर्न भन्छ ।

तर किशोरी उमेरमा यो सर्किट अझै पूर्णरूपमा परिपक्व भएको हुँदैन ।

त्यसैले, सुरुका केही वर्षमा हर्मोनको सन्तुलन मिल्दैन, जसका कारण महिनावारी कहिले छिटो, कहिले ढिलो, कहिले धेरै रक्तस्राव हुन्छ । त्यो सामान्य अवस्था हो, डराउनुपर्ने कुरा होइन ।

तर, कहिलेकाहीँ रक्तस्राव धेरै बढी हुन्छ । हरेक दुई घण्टामा प्याड फेर्नु पर्ने, लुगा भिज्ने, छालाको रङ फिका हुने, मुटुको धड्कन बढ्ने गरेको छ भने तुरुन्त अस्पताल लैजानु जरुरी हुन्छ । त्यतिबेला शरीरमा रगत घटिसक्छ, त्यसैले, रगत चढाउने वा औषधि दिनुपर्ने अवस्था आउन सक्छ ।

किशोरीहरू महिनावारीको दुखाइका बेला ‘निम्स’जस्ता औषधि खान्छन् । त्यो सुरक्षित हो ?

दुखाइका दुई प्रकार हुन्छन्- सामान्य र असामान्य । सामान्य दुखाइ भनेको, महिनावारी सुरु हुनुअघि वा सुरु हुँदा हुने र बिस्तारै घट्ने दुखाइ हो । त्यो सामान्य दुखाइ हो र त्यसका लागि मेफेनामिक एसिड जस्ता साधारण औषधि लिन सकिन्छ ।

तर, महिनावारी सकिएपछि पनि दुखाइ रहिरह्यो भने त्यो अब सामान्य होइन । त्यसबेला पाठेघरमा मासु पलाएको, भित्तो बाक्लिएको हुन सक्छन्, जसको उपचार चाहिन्छ ।

बालिका महिनावारी
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय