Comments Add Comment

अब कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन

८ असार, काठमाडौं । अघिल्लो वर्ष फागुनमा ललितपुरमा एउटा साइकल र्‍याली भएको थियो, जसमा तत्कालीन वातावरणमन्त्री लालबाबु पण्डित प्रमुख अतिथि थिए । केहिबेर आफैं साइकल कुदाएर भाषण गरेका वातावरण मन्त्री पण्डितले आफ्नो कार्यकालमासाइकल लेन बनाउन पहल गर्ने बताए ।

पण्डित वातावरणबाटबाट संघीय मामिला तथा स्थानीय विकासमन्त्री भए तर, साइकल लेन बनेन ।

तर, अब ललितपुर महानगरपालिका आफैंले कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने भएको छ । यसको प्रक्रिया अघि बढिसकेको मेयर चिरिबावु महर्जनले जानकारी दिए । ‘टेण्डर आह्वान भइसक्यो, अब चाडै काम शुरु हुनेछ’ मेयर महर्जनले अनलाइनखबरसँग भने, ‘साइकले लेन बनेपछि साइकल यात्रीको सुरक्षा साथै वातावरणलाई समेत सकरात्मक प्रभाव पार्ने छ ।’

कसरी बनाइन्छ साइकल लेन ?

मेयर महर्जनकाअनुसार साइकल लेन बनाउन महानगरले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकमले कुपण्डोलदेखि लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाइनेछ । सडक विस्तार नगरी अहिले भएकै सडकको छेउमा १.२ मिटर क्षेत्रमा साइकल लेनका रुपमा रेखांकन गरिनेछ ।

बार भने नलगाइने छैन । त्यस क्षेत्रमा साइकललाई प्राथमिकता दिनु पर्नेछ’ मेयर महर्जनले भने ।

लामो समयदेखि साइकल लेनको माग हुँदै आएकाले महानगरले बनाउन लागेको उनले बताए । ‘धुवाधुलोका कारण हामी वाक्क भएका छौं, इन्धन प्रयोग हुने सवारी साधनले प्रदुषण फैलाइरहेको छ’ मेयर महर्जनले भने, ‘साइकल चलाउँदा प्रदुषणको चिन्ता भएन, स्वास्थ्यको लागि पनि यो फाइदाजनक छ ।’

कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनेपनि अन्यत्र छैन । मेयर महर्जन भन्छन्, ‘यो शुरुवात मात्रै हो, विस्तारै हामी विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने छौं ।’ लेन विस्तारका लागि गोदाबरी नगरपालिकासँग छलफल भइरहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment