News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र स्पेनका प्रशिक्षक लियोनल स्कालोनी र लुइस डे ला फुएन्तेबीच रणनीतिक प्रतिस्पर्धा हुने भएको छ ।
- सन् २०१७ को युईएफए प्रो लाइसेन्स पाठ्यक्रममा डे ला फुएन्ते गुरु र स्कालोनी विद्यार्थीका रूपमा सँगै रहेका थिए ।
- स्पेनका प्रशिक्षक डे ला फुएन्तेको रणनीति बल नियन्त्रणमा आधारित छ भने अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी परिस्थितिअनुसार शैली परिवर्तन गर्न खप्पिस मानिन्छन् ।
२ साउन, काठमाडौं । सोमबार बिहान न्यु जर्सीमा विश्वकपको ट्रफी उचाल्ने टोली केवल उत्कृष्ट खेलाडीले मात्रै तय गर्ने छैन । अर्जेन्टिना र स्पेनबीचको फाइनलमा दुई प्रशिक्षकबीचको रणनीतिक लडाइँ पनि उत्तिकै निर्णायक हुनेछ ।
अझ रोचक त के छ भने, दुई प्रशिक्षक लुइस डे ला फुएन्ते र लियोनल स्कालोनीबीचको सम्बन्ध प्रतिद्वन्द्वीको मात्रै होइन, गुरु र शिष्यको पनि हो ।
सन् २०१७ मा स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले आयोजना गरेको यूईएफए प्रो लाइसेन्स प्रशिक्षक पाठ्यक्रममा अर्जेन्टिनाका स्कालोनी विद्यार्थी थिए भने स्पेनका वर्तमान प्रशिक्षक लुइस डे ला फुएन्ते प्रशिक्षकमध्ये एक थिए । त्यतिबेला कक्षाको पहिलो बेञ्चमा बसेर सबैभन्दा धेरै प्रश्न गर्ने विद्यार्थीमध्ये स्कालोनी थिए ।
‘अरू विद्यार्थी पछाडि बस्थे, तर स्कालोनी सधैं अगाडि हुन्थे। उनी सधैं बहस गर्थे, प्रश्न गर्थे, आफ्नै दृष्टिकोण राख्थे,’ डे ला फुएन्तेले द गार्डियनसँगको अन्तर्वार्तामा सम्झिएका छन् । ‘त्यतिबेलै उनीभित्र केही फरक देखिन्थ्यो।’
त्यो कक्षामा स्पेनका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पाब्लो ओर्बाइज, कार्लोस गुर्पेगी, पियर लुइजी चेरुबिनो, एन्डोनी इराओलालगायत पनि थिए । उनीहरू सबैको सम्झना एउटै छ—डे ला फुएन्तेको कक्षा केवल पढाइ होइन, फुटबलमाथिको खुला बहसको थलो थियो । स्कालोनी त्यही बहसमा सबैभन्दा सक्रिय सहभागी थिए ।
युवा टोलीबाट विश्वकप फाइनलसम्म डे ला फुएन्तेको यात्रा

स्पेनका ६४ वर्षीय डे ला फुएन्ते सिनियर टोली सम्हाल्नुअघि झन्डै एक दशक स्पेनको उमेर समूह टोलीसँग बिताएका प्रशिक्षक हुन् ।
उनले सन् २०१५ मा स्पेनलाई यू–१९ युरोपियन च्याम्पियन बनाए । त्यस टोलीमा अहिलेका प्रमुख खेलाडी रोड्री, मिकेल मेरिनो र उनाइ सिमोन थिए ।
त्यसपछि उनले सन् २०१८ मा यू–२१ युरोपियन च्याम्पियनसिप जिताए । सन् २०२१ टोकियो ओलम्पिकमा स्पेनलाई रजत पदक दिलाए ।
सन् २०२२ मा लुइस एनरिकेको स्थानमा सिनियर टोली सम्हालेपछि डे ला फुएन्तेले स्पेनलाई फेरि युरोपको शिखरमा पुर्याए । उनको नेतृत्वमा स्पेनले सन् २०२३ मा यूईएफए नेसन्स लिग जित्यो भने २०२४ मा युरोपियन च्याम्पियन बन्यो ।
अब उनले स्पेनलाई १६ वर्षपछि फेरि विश्वकप उपाधि दिलाउने लक्ष्य बोकेका छन् ।
आलोचनाबाट विश्व विजेतासम्म स्कालोनी

अर्कोतर्फ स्कालोनीको यात्रा झन् असाधारण छ । सन् २०१८ विश्वकपपछि अर्जेन्टिनाले अन्तरिम प्रशिक्षकका रूपमा जिम्मेवारी दिएको बेला धेरैले उनलाई अनुभवहीन भन्दै आलोचना गरेका थिए ।
उनले यसअघि स्पेनिस क्लब सेभियामा सहायक प्रशिक्षक र जर्ज साम्पाओलीका सहायकका रूपमा मात्रै काम गरेका थिए ।
तर आठ वर्षमै उनले अर्जेन्टिनाको इतिहास बदलिदिए ।
उनको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१, युरोकप र कोपा अमेरिका विजेताबीचको खेल फाइनलिसिमा २०२२, फिफा विश्वकप २०२२ र कोपा अमेरिका २०२४ जितिसकेको छ ।
अब लगातार दोस्रो विश्वकप उपाधिको संघारमा उभिएको अर्जेन्टिनाले जित हात पारे स्कालोनी आधुनिक फुटबलका सबैभन्दा सफल राष्ट्रिय टोली प्रशिक्षकमध्ये एक बन्नेछन् ।
विशेषता एउटै, शैली फरक
दुवै प्रशिक्षकको सबैभन्दा ठूलो बल एउटै मानिन्छ—खेलाडी व्यवस्थापन । डे ला फुएन्तेसँग अध्ययन गरेका पूर्व खेलाडीहरूले उनलाई ‘सधैं एउटै स्वभावका व्यक्ति’ भनेर सम्झिन्छन् ।
‘पहिलो दिन जस्तो व्यवहार गर्थे, हजारौं दिनपछि पनि उस्तै व्यवहार गर्छन्,’ ओर्बाइज भन्छन् । स्कालोनीबारे पनि उनका सहपाठीको धारणा उस्तै छ।
‘हामीलाई त्यतिबेलै थाहा थियो, उनी केवल लाइसेन्स लिन आएका होइनन्। उनी प्रशिक्षक बन्नकै लागि पढिरहेका थिए,’ कार्लोस गुर्पेगी सम्झन्छन् ।
डे ला फुएन्तेको स्पेन बल नियन्त्रण, छोटो पास, उच्च प्रेसिङ र तीव्र आक्रमणमा विश्वास गर्छ । स्कालोनीको अर्जेन्टिना भने परिस्थितिअनुसार शैली परिवर्तन गर्न सक्ने टोली हो ।
आवश्यक पर्दा बल नियन्त्रण गर्ने, आवश्यक पर्दा प्रतिआक्रमणमा जाने र कठिन खेलमा मानसिक रूपमा बलियो रहने क्षमता अर्जेन्टिनाको पहिचान बनेको छ ।
***
सन् २०१७ मा एउटै कक्षामा फुटबलबारे बहस गर्ने गुरु र विद्यार्थीबीच अब विश्व फुटबलकै सबैभन्दा ठूलो उपाधिको निर्णय हुनेछ ।
त्यतिबेला उनीहरूको अगाडि नोटबुक थियो । यसपटक उनीहरूको अगाडि विश्वकप ट्रफी हुनेछ।
र ९० मिनेटपछि—वा आवश्यक परे अतिरिक्त समय र पेनाल्टीपछि—फुटबलले नयाँ विश्व विजेतासँगै कसको रणनीति पास भयो भन्ने पनि तय गर्नेछ ।
प्रतिक्रिया 4