Comments Add Comment

योजना हेरफेर गर्ने सहमतिपछि खुल्यो पोखरा महानगरको ताला

१३ असार, पोखरा । पोखरा महानगरपालिका मुलद्वारमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको तालाबन्दी शुक्रबार खुलेको छ । वडागत रुपमा अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि ताला खोलिएको हो ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको जनप्रतिनिधिको आरोप थियो । उनीहरुले आफूहरुको माग सम्बोधन हुनुपर्ने माग राख्दै बिहीबार महानगरको मुलद्वारमा ताला लगाएर दिनभर धर्ना बसेका थिए ।

शुक्रबार बिहान पोखरा महानगर प्रमुख मानबहादुर जिसीले पत्रकारसँग कुरा राख्दै बजेटमा भेदभाव नगरिएको र मूलद्वारको ताला खोलेरर वार्ताद्वारामा सहमति खोज्न आन्दोलनरत जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment