Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड र तालाबन्दी

२२ असार, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक भर्नाको विरोधमा पाँच विद्यार्थी संगठनले विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका छन् ।

छानविन समितिले दिएको सुझाव विपरीत प्राध्यापक, उपप्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको भन्दै आइतबार अनेरास्वियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

तर गत चैत ५ गते प्रधानमन्त्री कार्यालयले सेवा आयोगले खुलाएको विज्ञापन प्रक्रिया तत्काल रोक्न निर्देशन दिदै विश्वविद्यालयमा भएको अनियमितताको विषय छानबिन गर्न समिति गठन गरेको थियो ।
राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वमा गठन भएको उक्त छानबिन समितिले पाँच वर्षे गुरु योजना बनाएर मात्र जनशक्ति भर्नाको प्रक्रिया अघि बढाउन सुझाव दिएको थियो ।

सुझावअनुसार गत असार १३ गते डा. सन्देश कोइरालाको संयोजकत्वमा पाँच वर्षे गुरु योजना तयार समिति गठन भएको छ । सो समितिलाई पाँच वर्षे कार्ययोजना बनाउन एक महिनाको समय दिएको थियो ।

समिति गठन भएको एकसाता पछि विश्वविद्यालय सेवा आयोग पूरानो विज्ञापनका आधारमा जनशक्ति भर्नाको प्रक्रिया अघि बढाएपछि अनिश्चितकालीन तालाबन्दी गरेको अनेरास्वयु मोरङ संयोजक गोकर्ण घिमिरेले बताए ।

विद्यार्थी संगठनहरुले विराटनगर–१ पुष्पलाल चोकमा रहेको विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालय र विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरे ।

विद्यार्थीले तोडफोड गर्दा विश्व विद्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सीमा क्षति पुगेको छ ।

छानविन समितिको प्रतिवेदनका आधारमा पदाधिकारी पदमुक्त भएपछि पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले प्राध्यापक, उप्राध्यापक भर्नाका लागि प्रक्रिया अघि बढाएको थियो । लिखित परीक्षा निलिई सिधै अन्तर्वार्ताको तयारी गरेपछि आन्दोलन गर्नुपरेको अखिल क्रान्तिकारी मोरङ जिल्ला संयोजक ताजिम अन्सारीले बताए ।

छानबिन समितिले प्रतिवेदन बुझाएर विभिन्न सुझावहरु दिए पनि कार्यान्वयन गर्नुको साटो आयोगका पदाधिकारीले आफ्नो पदावधी सकिदै लाग्दा परीक्षाको तयारी गरेका कारण तालाबन्दी गरेको अन्सारीले बताए ।

विद्यार्र्थी संगठनले गत शुक्रबार ध्यानाकर्षण पनि गराएका थिए । आइतबार विश्व विद्यालयको बेथिती अन्त्य हुनुपर्ने माग गर्दै विद्यार्थी संगठनले प्रदेश १ का कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्री श्रेष्ठले कानुनसम्मत विज्ञापन प्रक्रिया अघि बढाए पनि विद्यार्थी संगठनले तोडफोड गरी तालाबन्दी गरेको बताए । छलफलका माध्यमबाट समस्या समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै विद्यार्थीहरु तोडफोडमा उत्रिएको उनको गुनासो छ ।

विवादमा रहेको र प्रक्रिया विपरीत गरिएको सहायक प्राध्यापक, उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक गरेर ७२ जनाका लागि खुल्ला गरिएको आवेदन र छनोट प्रक्रिया खारेज नभएसम्म आन्दोलन जारी रहने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जिसस न्यौपानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment