Comments Add Comment

डाइभर्सन बगाएपछि चर्किएकै पुलबाट भारयुक्त गाडी

२४ असार, पोखरा । पोखराको प्रवेशद्वार विजयपुर खोलामा गाडी गुडाउन मिल्ने गरी बनाइएको डाइभर्सन आइतबार साँझ भेलले बगाएको छ । खोलामाथिको पुल चर्किएका कारण बढी भार बोकेको गाडी गुडाउन खोलामै डाइभर्सन बनाइएको थियो ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएको स्टिल ब्रिज ११ वर्षमै ७ ठाउँमा चर्किएपछि ४ महिनाअघि मालबाहक गाडी आउजाउमा ४ महिनाअघि रोक लगाइएको थियो ।
डाइभर्सन बगाएपछि सोमबारदेखि पोखरामा राति ८ बजेपछि मात्र मालवाहक गाडी जान पाएका छन् । चर्किएकै पुलबाट एउटा एउटा मालबाहक गाडी चल्न मिल्ने गरी व्यवस्था मिलाइएको सडक कार्यालयको भनाइ छ ।

डाइभर्सनबाट सामान ओसारपोसार गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जुटेको चिनिया ठेकदार कम्पनीले नयाँ डाइभर्सन बनाइदिने भएको छ । मंगलबार साँझसम्म डाइभर्सन बनाइसक्ने गरी काम भइरहेको कम्पनीका नेपाली जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले जानकारी दिए ।

‘पहिले ७ वटा ह्युमपाइप थियो । ती सबै भेलले बगाइदिएको छ । ह्युमपाइप बगाएपछि एअरपोर्ट निर्माणका लागि आउने सामान ढुवानी पनि प्रभावित भएको छ,’ चापागाईंले भने, ‘अहिले हामी १५ वटा ह्युमपाइप राख्ने र पहिले भन्दा एक सतहमाथि उठाएर डाइभर्सन बनाउन लागेका छौं ।’ उनले सेती नहरको पानीलाई घटाएर डाइभर्सन बनाउने काम भइरहेको जानकारी दिए ।

पुलले बढी क्षमता भएका गाडी धान्न नसक्ने भएपछि विकल्पमा बेलिब्रिज बनाउन लागिएको छ । बेलिब्रिजको निर्माण कार्य असार मसान्तभित्रै सकिने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

बेलिब्रिज बनेपछि मालबाहक गाडी पनि त्यसबाटै आवतजावत गर्न सक्छन् । ५० मिटर लामो बेलिब्रिज २ लेनको हुने र सय टन भार क्षमताको हुने आचार्यले जानकारी दिए ।
‘सडक कार्यालयले गत बैशाख २२ मा सगरमाथा जेजे जोइन्ट भेन्चर कम्पनीलाई २ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो,’ उनले भने, ‘बेलिब्रिजको फाउन्डेसन तयार गर्ने काम अझै बाँकी छ । फिटिङ गर्नमात्रै १० दिन लाग्ने देखिन्छ ।’

२०६४ सालदेखि सञ्चालनमा आएको स्टिल ब्रिज प्रविधिमा बनाइएको पुलमा दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् ।

पुरानो ट्रस्टको पुल जीर्ण भएकाले त्यस्को विकल्पमा स्टिल ब्रिज बनाइएको थियो । पुरानो ट्रस्टपुलको आधा भाग अझैं त्यहीं प्रयोगविहीन छ । २०६४ सालमा पक्की पुल प्रयोगमा आएपछि उक्त ट्रस्ट पुलको आधा भाग साविक लेखनाथ नगरपालिका २ र साविक भरतपोखरी गाविस ३ जोड्ने सेती नदीको पशुपति घाटमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment